Sajhamanch Archive

रहस्य मै हराउँछन् अपराधका घटना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by .

भद्रपुर । झापा प्रहरी अपराध नियन्त्रणमा तल्लिन रहेको बताइरहँदा गम्भीर अपराधका घटना रहस्यमै हराउने गरेको पाइएको छ । सर्वाधिक जनसरोकार र चासोका विषय बनेका अधिकांश अपराधका घटना निस्कर्षमा नपुगी बीचमै हराउने गर्दा रहस्यमै हराउने प्रबृत्ति बढेको हो ।

०७५ माघ ११ गते राती झापाको भद्रपुर ९ स्थित मनषा सिमेन्ट उद्योगका व्यवस्थापक भारतीय नागरिक कमल दुगडलाई ओछ्यानमा सुतिरहेको अवस्थामा उद्योग भित्रै हत्या गरियो ।, यस्तै ०७५ मङिसर १० गते शिवसताक्षी ७ लालझोडा स्थित आफ्नै निवासमा राती जलेर खनाल परिवारका ४ जनाको मृत्यु भयो । त्यसैगरी इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा रहेका किरण कार्कीढोलीको गत वैशाख २ गते मृत्यु भएको थियो, झापा कारागारबाट ०७६ जेठ १ गते इटलियन पेस्तोलसहित १४ राउण्ड गोली भरिएको म्यागजिन हरायो र झापा गौरादह नगरपालिका–८ स्थित जुरोपानीका उमेश माझी ०७५ साउन २७ गते आइतबार दिउँसै कारागारको पर्खाल नाघेर भागे तर यी कुनै पनि अपराधका घटना बारे झापा प्रहरीले कुनै निस्कर्ष सहितको यथार्थ सार्वजनिक गर्न सकेको छैन । सर्वाधिक जनसरोकार र चासो बोकेका केही प्रतिनिधिमुलक यी घटनालाई मात्र हेर्ने हो भने पनि झापा प्रहरीको अपराध नियन्त्रणको सकृयता रहस्यमय देखिन्छ ।

झापा जिल्लामै चर्चित यी घटनाको बास्तविकता झापा प्रहरीले हालसम्म सार्वजानिक गर्न सकिरहेको छैन । प्रहरीले इच्छा राखेमा जस्तासुकै घटनाका दोषीलाई २४ घण्टा भित्र समाउन सक्ने क्षमता र प्रविधि भएपनि घटना सार्वजानिक गर्न नसक्नु रहस्यमय हो । अपराध रहित समाजको परिकल्पना गर्ने जिम्मेवारी लिएको प्रहरीले विभिन्न खाले नयाँ–नयाँ कार्यक्रमहरू शान्ति–सुरक्षाका लागि सञ्चालन गर्ने गरेको छ । तर, प्रहरीको अभियान अभियानमै सिमित बन्दै गए पनि शुरक्षा व्यवस्था समेत प्रश्न चिन्हको घेरामा पर्दै गएको छ । झापामा घटेका घटनालाई मात्रै आधार मान्ने हो भने अपराध अनुसन्धानमा प्रहरी चुकेको देखिएको छ । जिल्लामा जघन्य अपराधको मनोवल बढ्दै जाँदा घटना नयाँ नयाँ शैलिमा रूपान्तरित हुने क्रम बढेको छ ।

शिवसताक्षीमा एकै परिवारका चार सदस्यको जलेर मृत्यु भएको बाहिरी रूपमा देखिएता पनि त्यसको वास्तविकता झापा प्रहरीले अझै सार्वजानिक गर्न सकेको छैन् । नाबालक सहित चारै जनाको जलेर मृत्यु भएपछि प्रहरीले सत्यतथ्य पत्ता लगाउन केही समय चासो देखाएजस्तो गरे पनि अहिले सो घटना ओझेलमा परेको छ । त्यसैगरी कारागारको पर्खाल नाघेर दिउँसै भागेका कैदी गौरादह नगरपालिका–८ जुरोपानीका २४ वर्षीय उमेश माझीलाई अझै प्रहरीले समाउन सकेको छैन । कर्तव्य ज्यान मुद्दामा जन्म कैद भोग्दै आएका तात्कालिन जुरोपानी गाविसकी अन्दाजी १४ वर्षिया बालिका करणी गरेर मारेको अभियोगमा ०७१ असार ५ मा कारागार चलान भएका माझी गत साउन २७ गते आइतबार दिउँसै कारागारको पर्खाल नाघेर भागेका थिए । घटनापछि असइ सहित ६ जना प्रहरीलाई जिल्ला प्रहरी झापाले निलम्बन गरेको थियो । यसपछि अनुसन्धान र खोजी कता गयो थाहापत्तो छैन ।

०७५ माघ ११ गते राती झापाको भद्रपुर ९ स्थित मनषा सिमेन्ट उद्योगका व्यवस्थापक कमल दुगडलाई ओछ्यानमा सुतीरहेको अवस्थामा उद्योग परिसर भित्रै क्वाटरमा हत्या भयो । हत्यापछि उद्योगमा कार्यरत कर्मचारी लगायत सवैलाइ प्रहरीले सोधपुछसम्म गर्यो तर हत्यारा पत्ता लगाउन सकेन । धेरै मेहनत पछि एक भारतीय नागरिकमाथि शङ्का गरेको भनिएको थियो, बास्तविकता अहिलेसम्म आएन । त्यसैगरी झापा कारागारबाट ०७६ जेठ १ गते इटलियन पेस्तोलसहित १४ राउण्ड गोली भरिएको म्यागजिन हरायो । पेस्तोलसहित १४ राउण्ड गोली भरिएको म्यागजिन नभेटिएपछि कारागारको सुरक्षार्थ खटिएका प्रहरीबाटै हतियार हराएको घटना सार्वजनिक भएको थियो । घटनापछि जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा छानविन समिति निर्माण भइ अनुसन्धान थालेको पनि महिनौं बित्यो वास्तविकता के हो सार्वजनिक भएको छैन । यी केही प्रतिनिधि घटनाले पनि अहिले झापा प्रहरीको अपराध नियनत्रण सुस्ताउादै गएको देखाउँछ । गत वैशाख २ गते इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा थुनुवा रहेको अवस्थामा शङ्कास्पद मृत्यु भएका किरण कार्कीढोलीको मृत्यु प्रकारणको छानबिन र दोषीलाई कारबाहीको माग गर्दै पीडित लगायत नागरिक समाजले दबाव दिएपनि अहिले घटना सेलाएर जमेको अवस्था छ । १५ वर्षीय किरण कार्कीढोलीलाई मोबाइल चोरीको अभियोगमा चैत २९ गते बेलुका बिर्तामोडबाट पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गर्दै गरेको अवस्थामा वैशाख २ गते राति उनको हिरासतभित्रैको बाथरुममा झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।

यिनै प्रतिनिधि घटनाले मात्र पनि झापामा प्रहरीको सुरक्षा ब्यवस्था र अनुसन्धान फितलो देखिएको छ । प्रहरीले केही अपराधिक घटनाका सत्यतथ्य पत्ता लगाई अपराधिलाई कानुनी दायरामा ल्याए पनि अधिकांश घटनाका दोषिले उन्मुक्ति पाउँदा आपराधिक प्रबृत्ति बढ्दो अवस्थामा छ । हुन त प्रहरीले अनुन्धानका लागि अपराध अनुसन्धान महाशाखा (सिआईबी), तालिम प्राप्त कुकुरमा साथै विशेष टोली नै खटाउने गरेको छ । तर, अपराधमा संलग्नहरुलाई पक्राउ गर्न आशातित सफल हुन सकेको छैन । जसको परिणाम प्रहरीको काममाथि जनविश्वास घट्दै गएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *