Sajhamanch Archive

बुद्धशान्ति गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by .

बुधबारे । बुद्धशान्ति गाउँपालिकाले पाँचौ गाउँसभामा आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक गरेको छ । गाउँसभामा ‘संमृद्ध बुद्धशान्तिको आधार ः कृषि, पर्यटन र दिगो पूर्वाधार’ भन्ने नाराका साथ नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलको सभापतित्वमा भएको गाउँसभामा उपाध्यक्ष मिरा भुर्तेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् । प्रमुख प्रशासकीय अधिकृत धनञ्जयकुमार शाहले सञ्चालन गरेको कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष भीमकुमार नेवार, कार्यपालिका सदस्य भगवती शर्मा, वडा सदस्य नेत्र गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नीति तथा कार्यक्रममा कृषि, पर्यटन र सडक कालो पत्रे गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रमले केही महत्वपूर्ण योजना अघि सारेको छ । जसमा जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा विद्यालय व्यबस्थापन समितिका पदाधिकारीहरुले अनिवार्य रुपमा छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन नीतिगत व्यबस्था गरिने तथा आधारभूत तहसम्मको शिक्षा निःशुल्क गरिने योजना अघि सारिएको छ ।

त्यस्तै खेती योग्य जमिन बाँझो राख्ने कार्यलाई निरुत्साहित गरिने, कृषि, पर्यटन र कालोपत्रे सडक निर्माण प्राथमिकतामा, मल बीउ वितरणका लागि डिपोहरु सञ्चालन गरिने, मासु उत्पादनमा बुद्धशान्तिलाई आत्मनिर्भर बनाइने, पूर्वाधार विकासका योजनामा निजी क्षेत्रलाई सहभागी गराउने, निजी क्षेत्रसँगको सहकार्यमा केवुलकार तथा बञ्जिजम्पको विस्तृत परियोजना प्रस्ताव तयार गरिने होम स्टे कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेटको व्यबस्था गरिने, अति विपन्न वर्गसम्म ऋणको पहुँच पु¥याउन गाउँपालिका जमानीमा ऋण प्रवाह गर्ने वातावरण बनाउन नीतिगत व्यबस्था मिलाइने भनिएको छ ।

त्यस्तै नीति तथा कार्यक्रममा डिजिटल बुद्धशान्तिको अवधारणा कार्यान्वयन गरिने, निश्चित स्थानमा फ्रि वाइफाई जोनको घोषणा गरिने, सुकुम्वासी समस्या समाधान गरी जग्गा धनीहरुलाई धनीपूर्जा उपलब्ध गराउन माथिल्लो निकायसँग पहल गरिने योजना ल्याइएको छ । त्यस्तै २५ शैयाको सुविधा सम्पन्न स्तरीय अस्पताल वडा नं. १ मा निर्माण गर्न बजेट विनियोजन गर्ने बताइएको छ ।

पाँच पोखरी, ठूटेबर, जरेबर, कमेरेपाखा तथा आदर्श नमूना सामुदायिक वन जस्ता पर्यटकीय गन्तव्यहरुको विकासमा जोड दिइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
निजी क्षेत्रलाई जडीबुटी खेतीमा प्रोत्साहन गरिने, साबिक बुधबारे र शान्तिनगर क्षेत्रमा बृहत खानेपानी आयोजनाका लागि डिपीआर तयार गरिने, दलित, विपन्न, अपाङ्ग तथा एकल महिलाका लागि सीपमूलक कार्यक्रम सञ्चालन गर्ने लगायतका योजना ल्याइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *