Sajhamanch Archive

चट्याङले लग्यो चार जनाको ज्यान

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by .

विराटनगर । एक नम्बर प्रदेशका ४ छुट्टाछुट्टै स्थानमा चट्याङले लागेर बुधवार ४ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

बुधबार दिउँसो पौने ३ बजे मोरङको रङगेली नगरपालिका वडा नं.९ दोहमना बजार छेउमा चट्याङ लागेर सोही स्थानका १४ वर्षीय अभत ऋषिदेव र १५ वर्षीय अनील ऋषिदेव गम्भीर घाइते भएका थिए ।

घाइतेहरुलाई उपचारको लागि रङगेली अस्पताल पठाइएकोमा उपचारको क्रममा पौने ४ बजे दुवै जनाको मृत्यु भएको थियो ।

त्यस्तै झापाको बाह्रदशी गाउँपालिका वडा न.५ का स्थानीय ५२ वर्षीय दुर्गाप्रसाद ओली र ६० वर्षीय पर्शुराम पाठक ओलीकै घरमा बसिरहेको अवस्थामा चट्याङ लागि दुवै जना घाइते भएका थिए ।

घाइतेलाई तत्काल उपचारको लागि बिर्तामोडको बिएण्डसी अस्पताल लगिएकोमा उपचारको क्रममा पाठकको मृत्यु भएको थियो भने अर्का घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी झापाकै कचनकवल गाउँपालिका वडा नं.२ बस्ने ३१ वर्षीया भुमागाइने घर नजिकै बारीमा काम गरिरहेको अवस्थामा चट्याङ लागि घाइते भएकी छन् । घाइते उनको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।

यता सुनसरीको बराहा नगरपालिका वडा नं.९ श्रीलंका टापुमा चट्याङ लागेर विष्णु उराँवको ६ वर्षीय छोरा अभिषेक उराँवको घटनास्थलमा नै मृत्यु भएको छ । उनकै छोरी ४ वर्षीय पुष्पा उराँव घाइते भएकी छन् ।

घाइतेको स्थानीय क्लिनिकमा उपचारपश्चात डिस्चार्ज भइसकेको छ भने मृतकको शव परीक्षणको लागि बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *