धान दिवसको अवसरमा किसानलाई ट्रयाक्टर
Published:
by .भद्रपुर । झापाको भद्रपुर नगरपालिकाले २१ औं धान दिवसको अवसर पारेर भद्रपुरको एक सहकारी संस्थालाई ट्रयाक्टर प्रदान गरेको छ ।
नगरपालिकाले भद्रपुर–१० स्थित कलबलगुरी कृषि सहकारी संस्थालाई खेत जोत्ने प्रयोजनको लागि खेत जोत्ने औजारसहितको १२ लाख मूल्य बराबरको ट्रयाक्टर प्रदान गरेको हो ।
नगरपालिकाको कृषि शाखा र कलबलगुरी कृषि सहकारी संस्थाको संयुक्त आयोजनामा आइतबार सम्पन्न १६ औं धान दिवस तथा रोपाईं महोत्सव समारोहका प्रमुख अतिथि नगरप्रमुख जीवनकुमार श्रेष्ठले संस्थाका अध्यक्ष भीम दाहाललाई ट्रयाक्टरको चाबी हस्तान्तरण गरे ।
सो अवसरमा नगरप्रमुख श्रेष्ठले परम्परागत खेती प्रणालीलाई परिवर्तन गर्दै कम लगानी र कम जनश्रम उपयोग गरी अधिकतम उत्पादन गर्नुपर्ने आवश्यकता बढ्दै गएकोले नयाँखाले प्रविधि उपयोग गर्न किसानलाई आग्रह गरे ।
यस वर्षको राष्ट्रिय धान दिवसको नारा ‘धान खेतीमा प्रविधि र यान्त्रीकरण, चामल आयातमा न्यूनिकरण’ भन्ने नारालाई सार्थक तुल्याउन किसानलाई ट्रयाक्टर प्रदान गरिएको कृषि विकास शाखाकी अमृता लिम्बूले बताइन् । संस्थालाई ५० प्रतिशत अनुदानमा ट्रयाक्टर उपलब्ध गराइएको हो ।५० प्रतिशत लगानी संस्थाले व्यहोरेको अध्यक्ष दाहालले जानकारी दिए ।
हिले दौड प्रतियोगिता
सो अवसरमा भद्रपुर–१० स्थित कृष्णप्रसाद घिमिरेको खेतमा सामुहिक धान रोपाईं गरिएको थियो भने प्रतियोगितात्मक हिले दौड पनि आयोजना गरिएको थियो ।
दौड प्रतियोगितामा पुरुषतर्फ विकास दाहाल प्रथम, कमल नेपाल द्वितीय तथा महेन्द्र वस्नेत र प्रेम विष्ट तृतीय भएका थिए भने महिलातर्फ चन्द्रकला ढकाल प्रथम, समिरा सापकोटा द्वितीय र कल्पना दाहाल तृतीय भएका थिए । उनीहरुलाई समारोहका प्रमुख अतिथि नगरप्रमुख श्रेष्ठले नगद पुरस्कार प्रदान गरेका थिए ।
संस्थाका अध्यक्ष भीम दाहालको अध्यक्षतामा आयोजित समारोहको सञ्चालन सुमना दाहालले गरेकी थिइन् ।
Comments