Sajhamanch Archive

धिमेबाजा सिक्दै बिर्तामोडका नेवार युवा युवती

Published: (Updated: ) in समाज, by .

बिर्तामोड । बिर्तामोड ५ की सेविका श्रेष्ठले आफ्नो समुदायको पौराणिक धिमे बाजा बजाएको टेलिभिजनमा मात्र देखेकी थिइन् । तर अहिले स्वयम् उनलाई धिमे बाजा बजाउन आउँछ ।

बिर्तामोड ९ की योजना श्रेष्ठ पनि यतिखेर धिमे बाजा बजाउन पोख्त छिन् । नेवार भएर नेवार समुदायको बाजा बजाउन नआउँदा दुख मान्ने गरेकी योजनालाई अहिले निक्कै खुशी लागेको छ । उनी भन्छिन् ‘आफनो बाजा सिक्न अत्यन्त जरुरी थियो, सिक्न पाइयो औधी खुशी लागेको छ ।’

 

कार्यक्रमहरुमा निर्धक्क भएर धिमे बाजा बजाएर देखाइदिने दुवैले योजना सुनाए ।
लोप हुन लागेको नेवार समुदायको मौलिक संस्कार संस्कृतिको जर्गेनामा लागेको नेवास् देय दबु बिर्तामोडले धिमे बाजा सिक्ने अवसर जुराइदिएको हो ।

काठमाडौबाट प्रशिक्षक झिकाएर जातिय संस्था दबुले धिमे बाजा सम्बन्धी डेढ महिने प्रशिक्षण आयोजना गरेको थियो । ३९ जना प्रशिक्षार्थी सहभागी प्रशिक्षण शनिबार सम्पन्न भएको छ ।

पहिला धेरैलाई ढिमे बाजाका बारेमा थाहा थिएन प्रशिक्षक क्रिस महर्जनले भने अहिले रमाई रमाई ढिमे बाजा बजाउँछन् । काठमाडौ उपत्यकामा धिमे बाजा प्रचलित रहेपनि उपत्यका बाहिरका नेवार समुदायलाई ढिमे बाजाका बारेमा ज्ञान नभएको उनको बुझाई छ ।

सांस्कृतिक कार्यक्रम र पर्वहरुमा ढिमे बाजा बजाउने गरिन्छ । ढिमे बाजा सानो र ठूलो दुई आकारको हुने गरेको र यो बिशेष गरी भुस्पाहा ९झ्याम्टा० को साथमा दादरा तालमा बजाउने गरिएको काठमाडौ निवासी महर्जनले बताए ।

ढिमेलाई नेवार समुदायको मुख्य बाजाको रुपमा लिइन्छ । आफ्नो भाषा, संस्कृतिसँगै पौराणिक ढिमे बाजा पनि हराउन लागेकाले यसको जर्गेना गर्न आवश्यक भएको समापन कार्यक्रममा प्रमुख अतिथि बनेका नेवास् देय दबुका केन्द्रीय अध्यक्ष नरेश ताम्राकारले बताए ।

उनले नेवार जातिको भाषा, साहित्य, संस्कार संस्कृति जोगाउन देशव्यापी पुनजागरण कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । जातीय पहिचान जोगाउन नेवारहरु प्रयत्नरत रहेपनि राज्यले त्यसमा खासै सहयोग नगरेको उनको आरोप छ ।

देशभरि कूल १३ लाखको हाराहारीमा नेवारको जनसंख्या रहेको छ । त्यसमध्ये ६ लाख काठमाडौ उपत्यकामा र बाँकी उपत्यका बाहिर बसोबास गर्दछन् । भाषा, सस्कार संस्कृतिले उपत्यका भित्रका नेवारहरु सक्षम रहेपनि उपत्यका बाहिर उनीहरुको पहिचान हराउँदै गएको छ ।

युवा पुस्तामा आफनो संस्कार संस्कृतिको जर्गेनामा चासो जगाउने उद्देश्यले ढिमे बाजाको प्रशिक्षण आयोजना गरिएको आयोजक नेवास् देय दबु बिर्तामोडका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले बताए ।

डेढ महिने बाजा प्रशिक्षणका लागि कूल साढे तीन लाख रुपैया खर्च भएको र त्यस मध्ये एक लाख रुपैयाँ बिर्तामोड नगरपालिकाले सहयोग गरेको उनले जानकारी दिए ।

समापन कार्यक्रममा नेवास् देय दबु राष्ट्रिय परिषदका सदस्य भरत कुमार श्रेष्ठ, केन्द्रीय उपाध्यक्ष कृष्ण उदास, केन्द्रीय सदस्य अनिल मास्के, सुन्दरी श्रेष्ठ, आदिवासी जनजाति महासंघ बिर्तामोडका अध्यक्ष गोपाल राई, मेचे सिवियारी आफेतका बिरेन मेचे लगायतले मन्तव्य राखेका थिए ।

ओमप्रकाश श्रेष्ठले सञ्चालन तथा जीवनकुमार श्रेष्ठले स्वागत गरेको कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *