Sajhamanch Archive

रोटरी क्लबले ‘सिक्स फोकस एरिया’ मा काम गर्छ : अध्यक्ष निरौला

Published: (Updated: ) in अन्तर्वार्ता by .

के सत्य कुरा यही नै हो त ? के यो सबैका लागि राम्रो हुन्छ त ? के यसले सद्भावना र मैत्रीको वृद्घि गर्ला त ? के यसले सबैको भलो गर्ला त ? भन्ने मूलमन्त्रलाई आत्मसाथ गर्दै सन् १९०५ फेब्रुअरी २३ तारिखमा अमेरिकाको सिकागो शहरका पावल ह्यारिससहित चारजना मिलेर स्थापना भएको रोटरी अहिले विश्वभरका १६६ देशमा फैलिएको छ । ती चारजना फरक फरक विधामा आफ्नो व्यवसाय सञ्चालन गरेर बसेका थिए । उनीहरुले आफ्नो व्यापार व्यवसायलाई बजारीकरण गर्न र आमजनताको स्तरोन्नति कसरी गर्न सकिन्छ भन्ने सोचका साथ रोटरी क्लब खडा गरिएको थियो ।

विश्वभर ३५ हजारभन्दा बढी क्लबहरु छन् । जसका १ दशमलव २ मिलियन सदस्यहरु छन् । विश्वभरका रोटरी क्लबहरुले पावललाई रोटरीको जन्मदाताका रुपमासमेत लिने गरेका छन् । जुलाई १ तारिख, हरेक वर्ष विश्वभर एकसाथ नयाँ नेतृत्वले पदभार ग्रहण गर्ने गर्दछन् । यसै क्रममा रोटरी क्लब अफ काँकरभिट्टामा आगामी एकवर्षका लागि मोहन निरौलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । यसै विषयमा साझामञ्चकर्मी लक्ष्मी उप्रेतीले उनीसँग गरेको कुराकानीः

रोटरी क्लब के हो ?

छोटो शब्दमा भन्ने हो भने रोटरी भनेको आफ्ना स्वार्थभन्दा माथि उठेर मानवीय सेवामा समर्पित एउटा नाफारहित संस्था हो । समाजका लागि केही गर्नुपर्छ भन्ने सकारात्मक सोच भएका निःस्वार्थ भावनाले ओतप्रोत भएका सक्रिय मानिसहरु अटाउने सामुहिक संस्था हो । तर, रोटरीको परिभाषा यति मै सीमित राख्नु हुँदैन भन्ने मलाई लाग्छ । विभिन्न पेशा तथा उद्योगी व्यवसायीहरुलाई सांगठानिकरुपमा एक ठाउँमा गोलबद्घ बनाएर आफूमा रहेकोे सीपको सदुपयोग गर्दै समाजप्रतिको उत्तरदायित्व वहन गराउने संस्था पनि हो रोटरी ।

यसको स्थापनाका बारेमा केही भन्नु पर्दा ?

रोटरी क्लबको स्थापना सन् १९०५ फेब्रुअरी २३ तारिखमा अमेरिकाको सिकागोमा पावल ह्यारिससहित चारजना मिलेर गरेका थिए । ती चारजना फरक फरक विधामा आफ्नो व्यवसाय सञ्चालन गरेर बसेका थिए । उनीहरुले आफ्नो व्यापार व्यवसायलाई बजारीकरण गर्न र आमजनताको स्तरोन्नति कसरी गर्न सकिन्छ भन्ने सोचका साथ रोटरी क्लब खडा गरिएको थियो । विश्वभरका रोटरी क्लबहरुले पावललाई रोटरीको जन्मदाताका रुपमा लिने गरेका छन् ।

यो त एउटा अन्तर्राष्ट्रिय संस्था हो । नेपालका स्थानीय स्तरसम्म यसको संरचना कसरी निर्माण हुन्छ ?

यो अन्तर्राष्ट्रिय संस्था भए पनि यसको सदस्य बन्न कुनै दल, लिङ्ग, धर्म, संस्कृति कला, जातले छेक्दैन । मात्रै सहयोगी भावनाका साथ स्वार्थ त्यागेर यो समाजका लागि केही गरौं भन्ने पेशा वा व्यवसायमा आवद्घ व्यक्ति यसको सदस्य बन्न सक्दछन् । जसलाई हामी रोटेरियन भन्छौं । रोटेरियन भएपछि रोटरी क्लब निर्माण हुन्छ । त्यसपछि रोटरी डिष्ट्रिक अनि रोटरी जोन हुँदै रोटरी इन्टरनेशनल हुन्छ ।

तर यो संरचना निर्माण भइरहँदा स्थानीयस्तरको रोटरी क्लब र रोटरी इन्टरनेशनलमा मात्र अध्यक्ष हुने प्रावधान छ । रोटरी जोन र रोटरी डिष्ट्रिकले चाहिँ पूलको काम गर्छन् । स्थानीय स्तरहरुका क्लबको समूहलाई संयोजन चाहिँ रोटरी डिष्ट्रिकले गर्छ । र, रोटरी जोनले रोटरी डिष्ट्रिकहरुको संयोजनकारी भूमिका निर्वाह गर्दछ ।
रोटरी डिष्ट्रिक कुनै एउटा देशसँगमात्र सिमित हुँदैन । यसले संख्यात्मक रुपमा काम गर्छ । जस्तो रोटरी डिष्ट्रिक ३२९२ ले नेपाल र भुटानमा रहेका क्लबहरुको संयोजन गर्दछ । एउटा डिष्ट्रिकले दुईवटा देशको क्बलहरु हेर्न सक्दछ भने एउटा देशभित्र रोटरी क्लबहरुको संख्याको आधारमा एक वा सोभन्दा बढी डिष्ट्रिक पनि हुने गर्दछन् ।

अन्तराष्ट्रिय स्तरमा रोटरीले के कस्ता काम गरेको छ ?

इतिहास हेर्ने हो भने निक्कै राम्रा र उपलब्धिमुलक काम रोटरीले गरेको छ । अन्तर्राष्ट्रिय स्तरमा रोटरीले सपिङ कम्पलेक्स परिसरमा महिलाहरुलाई लक्षित गरेर सार्वजनिक शौचालय निर्माण गरेर कामको थालनी गरेको थियो । बिस्तारै बिस्तारै यसले स्वास्थ्यका क्षेत्रमा समेत हात हाल्यो । सन् १९८५ मा संसारबाट पोलियो उन्मुलन गर्ने दायित्व आफ्नो काँधमा लिँदै १९८८ मा विश्व स्वास्थ्य संगठन, युनिसेफ, मिलिण्डा गेट्स फाउण्डेशन लगायतका संस्थाहरुसँग सहकार्य गरेर संसारबाट हालसम्म ९९ दशमलव ९ प्रतिशत पोलियो उन्मुलन गर्न सफल रहको छ । रोटरीको सो कार्यलाई संसारले निक्कै उपलब्धिमुलक काम ठान्दै यसको खुलेरै प्रशंसा गरेको छ ।

योसँगै २०१४ मा नेपालसहित ११ देशलाई विश्व स्वास्थ्य संगठनले पोलियोमुक्त देश घोषणा गरेको छ । यसमा रोटरीको भूमिका निक्कै ठूलो छ । साथै रोटरीले ६ वटा विधामा काम गर्छ । जसलाई रोटरीले ‘सिक्स फोकस एरिया’भन्ने गरेको छ । ती विधाहरु अन्तर्गत विश्वशान्ति, खानेपानी र सरसफाई, आधारभूत शिक्षा, विभिन्न रोगको उपचार तथा रोकथाम, आमा र नवजात शिशुको स्वास्थ्य उपचार, समुदायमा आधारित आर्थिक विकासका क्षेत्रमा रोटरीले काम गर्ने गरेको ।

अनि यी काम गर्न आर्थिक स्रोतहरु चाहिँ कहाँबाट जुटाउनु हुन्छ ?

यसका लागि रोटरी क्लबले सन् १९१७ मा आर्च सि क्लम्प नाम गरेका रोटेरियनको अगुवाइमा मात्र २६ दशमलव ५ डलरबाट कोष खडा गरेका थिए । जुन कोषलाई ११ वर्षपछि ‘द रोटरी फाउण्डेशन’ भन्न थालियो । सो प्रतिष्ठान विश्व मै अहिलेसम्म कै दोस्रो सबैभन्दा ठूलो कोषको रुपमा खडा भएको छ । पोलियो लगायतका विभिन्न अन्तर्राष्ट्रियदेखि स्थानीयस्तरका ठूला योजनाहरु रोटरीले यसै कोषबाट सञ्चालन गर्ने गरेको छ । हालसम्म कोषमा ४ विलियम डलरभन्दा बढी छ । यो कोष संसार कै दश सर्वाेत्कृष्ट कोषको रुपमा विगत केही वर्षदेखि चिनिँदै आएको छ ।

नेपालमा कहिले, कसको अग्रसरतामा रोटरीले प्रवेश पायो ?

नेपालमा रोटरीको इतिहासलाई पछाडि फर्केर हेर्दा सन् १९५८ नोभेम्वर २० मा भित्रिएको हो । काठमाडौंको कान्तिपथमा तत्कालिन राजा श्री ५ महेन्द्र बीर विक्रम शाह त्यो क्लबको पेट्रोन इन चिफ थिए । तात्कालिन बडामहारानी रत्नले ५४औँ अन्तर्राष्ट्रिय रोटरी क्लबको स्थापना दिवसका अवसरमा ५४ वटा मैनवत्ती प्रज्वलन गरी शुरुवात भएको थियो । भारतमा रहेको रोटरी क्लब अफ दरभंगाको मातहतमा रहने गरी यो क्लब गठन भएको थियो ।

रोटरी क्लब अफ काँकरभिट्टा कहिले कसरी स्थापना भयो ?

रोटरी क्लब काँकरभिट्टा स्थापना भएको ९ वर्ष भयो । सन् २०१० मा अरुणकुमार श्रेष्ठको अगुवाईमा हामी यहाँका विभिन्न क्षेत्रमा व्यवसाय सञ्चालन गरेर बसेका ३१ जनाबाट क्लब स्थापना भएको हो । अब आफ्नो लागिमात्र होइन समाजका लागि पनि केही गर्नुपर्छ आफ्नो आम्दानीको केही हिस्सा समाजका लागि पनि लगानी गर्नुपर्छ भन्ने ठानेर हामी फरक फरक व्यवसाय गरेर बसेकाहरु एकत्रित भएर संगठितरुपमा लागेका हौं । रोटरी क्लब अफ काँकरभिट्टा स्थापना हुनु अघि झापामा कुनै पनि क्लबहरु थिएनन् । पूर्वीनाका काँकरभिट्टालाई हेर्ने दृष्टिकोण मानिसको अलग थियो । हरेक मानिसको नजरमा काँकरभिट्टालाई हेर्ने दृष्टिकोण खासै सकारात्मक थिएन ।

वास्तवमा हामीले अब काँकरभिट्टामा बसेर यहाँको लागि केही गर्नुपर्छ र संसारले काँकरभिट्टाप्रति हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्न सक्नुपर्छ भन्ने सोचले यो स्थापना गरेका थियौं । यसमा हामी विभिन्न पेशामा आवद्घ मानिसहरु उद्योगी व्यवसायीहरु संलग्न छौं ।

रोटरी क्लब अफ काँकरभिट्टाले गर्ने काम के हो ?

रोटरी क्लब काँकरभिट्टाले गर्ने काम छुट्टै केही पनि हुँदैन । तर अहिले समाजमा जे जति काम भइरहेका छन् तिनै कामलाई रोटरी अलिक पृथकरुपमा गर्ने गर्दछ । रोटरीको मूल्य मान्यता र यसको अनुशासन परिधिमा बसेर हामीले खासगरी यी नौ वर्षको दौरानमा शिक्षा, स्वास्थ्य, वातावरण, पर्यावरण लगायत अन्य सामाजिक क्षेत्रमा काम गर्ने नै हो । अहिलेसम्म यो क्लबले यस्तै क्षेत्रमा काम गरेको छ । हामीले शुरुमा पनि भनेअनुसार रोटरीले ६ वटा विधामा काम गर्छ । जसलाई रोटरीले ‘सिक्स फोकस एरिया’ भन्ने गरेको छ ।

यहाँको क्लबले विगतमा गरेका कामको फेहरिस्ता दिन मिल्छ ?

साँच्चै भन्नुपर्दा हामी प्रचारमा भन्दा काममा बढी विश्वास गर्छौं । यहाँले सोधिहाल्नु भयो । मैले शुरुमै पनि भनेको छु कि हामीले शिक्षा क्षेत्रमा धेरै काम गरेका छौं । काँकरभिट्टा बहुमुखी क्याम्पसमा अध्ययनरत ४ जना, मेचीनगर कै बाहुनडाँगीमा रहेको एक विद्यालयमा हामीले जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेका छौं । मेची आधारभूत विद्यालयलाई क्लबले ‘एडप’ गरी हरेक योजना दिने गरेका छौं । सोही अन्तर्गत क्लबले विद्यालयमा खानेपानीको व्यवस्था गरी कम्प्युटर पनि प्रदान गरेको छ । श्रव्य दृश्य मार्फत् पठनपाठनलाई सहज र सरल बनाउनका लागि ‘इ लर्निङ प्रोजेक्ट’ मार्फत् शिक्षकहरुलाई तालिमको अवसर प्रदान गरेका छौं । सोही विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर आवश्यकता अनुसार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेका छौं ।

नगरलाई सफा स्वच्छ र स्वस्थ्य हराफरा बनाउन विभिन्न ठाउँमा वृक्षारोपण गरेका छौं । उपचारको पहुँचबाट टाढा रहेका सर्वसाधारणलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेका छौं । क्यान्सरजस्तो प्राणघातक रोगका बारेमा चेतना प्रदान गर्ने उद्देश्यले वार्षिक रुपमा कार्यक्रम आयोजना गरेका छौं । मलामी विश्रामालयको स्थापना गरेका छौं । हामीले समाजमा यीलगायत थुप्रै रचनात्मक काम गरेका छौं । हामीलाई यसबाट नाफा लिनु छैन । रोटरी क्लब नाफामुखी नभई सेवामुखी संस्था हो । यसकारण यो संस्थाले सेवाका भावले हरेक क्षेत्रमा आफ्नो उपस्थिति जनाउँछ र काम गरेर सर्वसाधारणको मन जित्ने गरेको छ ।

यस्ता कामहरु गर्नका लागि कहाँबाट आर्थिक स्रोत जुटाउनु हुन्छ ? कि विदेशी दातृ निकायले आर्थिक सहयोग गर्छन् ?

हामीले कुनै पनि क्षेत्रबाट आर्थिक सहयोग लिएका छैनौं । जे जति काम गरेका छौं, सबै क्लबका सदस्यहरुबाट स्वतःस्फूर्तरुपमा संकलन भएको रकमबाट खर्च गरेका छौं । मैले शुरुमा पनि भनें, यो क्लबमा आवद्घता भएका सदस्यहरु कुनै न कुनै पेशा र व्यवसायमा संलग्न छौ । आफ्नो व्यवसायबाट प्राप्त केही रकम हामी समाज सेवाका लागि छुट्याएर क्लबमा जम्मा गर्ने गर्दछौ । विभिन्न विधाका मानिस क्लबमा छौं । चिकित्सक, इञ्जिनियर, औषधि व्यवसायी, आइटी, व्यपारी लगायत । कतिले निःशुल्करुपमा श्रमदान पनि गर्ने गरेका छौं । ठूलठूला औषधि कम्पनीहरुले स्वास्थ्य शिविर चलेका बेला निःशुल्क औषधी उपलब्ध् गराउने गरेका छन् । विभिन्न रोगका विशेषज्ञ डक्टरहरु समेत क्लबको सदस्य हुनुहुन्छ । उहाँहरुले शिविरमा आएका बिरामीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिदिनु हुन्छ ।

ती कामहरु रोटरीले एक्लै गर्यो कि रोटरीसँग आवद्घ अरु कुनै संस्था पनि जोडिएका हुन्छन् ?

रोटरी परिवारमा रोटरीमात्र नभएर १२ देखि १८ वर्ष उमेर समूहका इनट्र्याक, १८ देखि ३० वर्ष उमेर समूहका रोट्रयाक र स्थानीय स्तरमा रोटरी कम्युनिटी कर्प रहने गरेका छन् । जसमध्ये हामीसँग यी काम सम्पन्न गर्नका लागि उर्जाशिल युवाहरुको संगठन रोट्«याक क्लब अफ काँकरभिट्टा छ । जसले यस क्लबको सम्पूर्ण कार्य सम्पन्न गर्न सहयोग गर्दै आफैं पनि समाजमा रचनात्मक काम गरेर अघि बढिरहेको छ । यसले अधिकांश ठाउँमा रक्तदान कार्यक्रम आयोजना गरेको छ भने स्वास्थ्य र शिक्षाका क्षेत्रमा अनेक कार्यक्रम लिएर जाने गरेको छ ।

तपाईंले नेतृत्व गरेपछि रोटरी क्लब अफ काँकरभिट्टाको भावी कार्ययोजना के बनाउनु भएको छ ?

क्लबले एक वर्षभित्र गर्ने कामका विषयमा १२ महिनाको १२ वटा शीर्षकमा काम छनौट गरेर आन्तरिक क्यालेण्डर तयार गर्छ । सोही मुताविक काम गरिन्छ । यो वर्ष क्लबले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका परियोजनाहरु तथा स्थानीय तहलगायत अन्य संघ–संस्थाहरुसँग समन्वय र सहकार्य गर्दै काम गर्र्ने योजना बनाएको छ । यसअघि गरेका सबै कामले निरन्तरता पाउने नै छन् । यसमा हामीलाई सबैको साथ सहयोगको आवश्यक छ । यहाँको विकास र समृद्घिका लागि रोटरीले उपलब्धिमुलक काम गर्ने छ । सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई साकार पार्न रोटरी सक्रियरुपमा लाग्ने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *