Sajhamanch Archive

पथरी शनिश्चरेको बजेट ६० करोड 

Published: (Updated: ) in स्थानीय तह by .

पथरी शनिश्चरे (मोरङ) । पथरी शनिश्चरे नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि ६० करोड २९ लाख २७ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा आज भएको दोस्रो नगरसभामा नगर उपप्रमुख यमुना विष्ट बाँस्तोलाले नीति, कार्यक्रमसहितको सो बजेट प्रस्तुत गरेकी हुन् ।

बजेट अन्तरगत नगरले आफ्नो हिसाबले खर्च गर्न नपाउने ‘सशर्त’ शीर्षकमा १७ करोड ११ लाख र निशर्तमा वित्तीय समानिकरणतर्फ १५ करोड ८५ लाख गरी संघबाट ३२ करोड ९६ लाख रुपैयाँ अनुदान प्राप्त भएको छ ।

सशर्तका रुपमा १० करोड ७० लाख ४६ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता छुट्टिएर आएको छ । प्रदेशबाट समानिकरण अनुदान ४२ लाख २३ हजार प्राप्त हुने उल्लेख छ ।

       

सवारी साधन कर बाँडफाँडबाट १ करोड ३६ लाख ९२ हजार र आन्तरिक आय स्रोतबाट ४ करोड ६ लाख अनुमान गरिएको छ । सडक बोर्डबाट ४० लाख, एलजीसीडीपी कार्यक्रमको ७ लाख १७ हजार, गरीबसँग विश्वेश्वर कार्यक्रमको ४ लाख २९ हजार तथा जनसहभागिताबाट १ करोड ५ लाखको अनुमानित बजेट प्रस्तुत भएको छ ।

सशर्त बाहेकको सबैगरी ३० करोड ९१ लाख ३५ हजार रुपैयाँमध्ये ९ करोड २१ लाख २० हजार चालू खर्चमा छुट्याई बाँकी २१ करोड ७० लाख १५ हजार रुपैयाँ विकासमा बाँडफाँड गरिएको बजेट विवरणमा उल्लेख छ ।

त्यसमध्येबाट १० वटा वडाका लागि ८५ लाखका दरले ८ करोड ५० लाख तथा बाँकी १३ करोड २० लाख १५ हजार पूँजीगत रकमबाट २२ वटा शिर्षकमा बजेट विनियोजन गरिएको कुरा सभामा पेश भएको छ ।

वडागत बजेट सिलिङ तोकिए पनि रकम बाँडफाँडको सबै योजना बनिनसकेको र नगरस्तरका योजनाहरुको शीर्षक तय भए पनि त्यसभित्रको बजेट बाँडफाँड बाँकी रहेको छ ।

असार २३ गतेको सभाले दुबैतहको विस्तृत बिवरण तयार गरी पारित गर्ने निर्णय भएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *