Sajhamanch Archive

प्रदेश १ का १४ जिल्लामा १७ प्रतिशत रोपाइँ

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by .

विराटनगर । प्रदेश १ का तीन जिल्ला झापा मोरङ सुनसरी धान उत्पादनको उर्भर क्षेत्र हुन् । समयमा नै वर्षा नहुँदा उर्भर क्षेत्रमा धान रोपाइँ गर्न ढिलो भएको छ ।

मानो रोपेर मुरी उब्जाउने समयमा तीन जिल्लामा रोपाइँ प्रगति न्यून छ । झापामा २२ प्रतिशत, मोरङमा १७ प्रतिशत र सुनसरीमा १३ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ भएको हो ।

प्रदेश १ का १४ जिल्लामा पनि १७ प्रतिशत मात्र धान रोपाइँ भएको छ । प्रदेश १ मा तीन लाख ४० हजार ८ सय २९ हेक्टरमा धान खेती हुँदै आएको छ । असार १५ अर्थात धान दिवसको दिन सम्म ५९ हजार ३ सय ५२ हेक्टरमा मात्र धान रोपाइँ भएको क्षेत्रिय कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ ।

निर्देशनालयका अनुसार भोजपुरमा १ हजार ८ सय ९२ हेक्टरमा धान खेती हुन्छ । भोजपुरमा ५५ प्रतिशतमा धान रोपाइँ भएको छ । ताप्लेजुङमा ३ प्रतिशत मात्र धान रोपाइँ भएको छ । ताप्लेजुङमा ८ हजार ७ सय ३७ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ ।

झापामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफल मध्ये २२ प्रतिशत क्षेत्रमा रोपाइँ भएको छ । इलाम १४ हजार ८सय १५ हेक्टर मध्ये १ प्रतिशत, पाँचथरमा ९ हजार २ सय ३ हेक्टर मध्ये ८ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ भएको छ ।

८३ हजार ३ सय हेक्टर क्षेत्रमा रोपाइँ हुँदै आएको मोरङमा १७ प्रतिशत मात्र धान रोपाइँ भएको छ । सुनसरीमा ५५ हजार हेक्टर क्षेत्रफल मध्ये १३ प्रतिशत क्षेत्रमा रोपाइँ भएको छ । धनकुटामा मध्ये ३ प्रतिशत, तेह्रथुममा ७ प्रतिशत, संखुवासभामा १० प्रतिशत, उदयपुरमा ७ प्रतिशत खोटाङमा ७ प्रतिशत, ओखलढुंगामा ५ प्रतिशत रोपाइँ भएको छ ।

समयमा नै अकाशे पानीको नपर्दा रोपाइँ ढिलो भएको हो । जसका कारण उत्पादन घट्न सक्ने बताइएको छ । सुनसरी मोरङमा भने सुनसरी मोरङ सिचाई योजनाले नहरमा समयमा नै पानी नछोड्दा समस्या भएको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *