‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड ‘आज’
Published:
by .‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७५ इन एसोसिएसन विथ एक्सन स्पोर्टस पावर्ड बाइ गोल्डस्टार’को सम्पूर्ण तयारी पूरा भएको छ ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले १६ औ संस्करणको अवार्ड कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
नेपाली क्षेत्रकुद क्षेत्रमा योगदान गर्ने खेलाडी र खेल सम्बद्ध संस्थालाई प्रत्येक वर्ष सम्मान गर्ने स्पोर्ट्स अवार्ड आज काठमाण्डौको कमलादीमा रहेको प्रज्ञा भवनमा आयोजना हुँदैछ । अवार्डसँगै सांगीतिक र कलात्मक प्रस्तुतिहरू पनि रहने छ ।
अवार्ड कार्यक्रमको मुल आयोजक समारोह समितिका संयोजक तथा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) ले अवार्डको अधिकांश काम सकिएको जानकारी दिए ।
‘अवार्ड सञ्चालन गर्न गठन गरिएका सम्पूर्ण समितिका कामहरु लगभग सकिएका छन् । अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ,’ उनले भने । मुल आयोजक समारोह समितिले विभिन्न समिति गठन गरेर अवार्डको तयारी अघि बढाएको थियो ।
मञ्चले यसअघि नै पत्रकार सम्मेलनमार्फत विभिन्न पाँच विधाको मनोनयन सार्वजनिक गरिसकेको छ । मञ्चले सार्वजजिक गरेको विधामा पिपल्स च्वाइस अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी, वर्ष प्रशिक्षक र युवा वर्ष खेलाडीको मनोनयन रहेका छन् ।
पिपल्स च्वाइस विधामा क्रिकेटका सन्दीप लामिछाने, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन मनोनयनमा रहेका छन् । एसएमएस भोटिङ, फेसबुक लाइक, आयोजक संस्थाका सदस्यको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा पिपल्स च्वाइस अवार्डको विजेता चयन गरिनेछ ।
अवार्ड कार्यक्रमको खेलाडी छनोट समितिले घोषणा गरेको वर्षको पुरुष खेलाडी विधाको मनोनयनमा प्याराग्लाइडिङका युकेश गुरुङ, क्रिकेटका पारस खड्का र सोमपाल कामी, गल्फका शुक्रराज राई र जुडोका इन्द्रबहादुर श्रेष्ठ रहेका छन् ।
त्यस्तै, वर्ष खेलाडी महिलाको मनोनयनमा फुटबलकी सावित्रा भण्डारी, भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ प्रधान र तेक्वान्दोकी निमा गुरुङ रहेका छन् ।
यस्तै, युवामा ब्याडमिन्टनका प्रिन्स दाहाल, एथलेटिक्सका अजितकुमार यादव, क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मन्जलीकुमारी योञ्जन र करातेका विजय श्रेष्ठ मनोनयनमा परेका छन् ।
वर्ष प्रशिक्षकका लागि प्याराग्लाइडिङका योगेश भट्टराई, क्रिकेटका जगत टमाटा, एथलेटिक्सका धनीराम चौधरी, भलिबलका ज्ञानेन्द्र विष्ट र फुटबलका हरि खड्का मनोनयनमा परेका छन् ।
वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष प्रशिक्षक र पिपल्स च्वाइस अवार्डको विजेताले बजाजको पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् ।
अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । मनोनयनमा परेकालाई पनि गिफ्ट ह्याम्पर र ट्रफी प्रदान गरिनेछ ।
यस वर्ष विभिन्न १० विधामा अवार्ड प्रदान गर्न लागिएको छ । यस्तै पारा एथलिट, टिम अफ दी इयर, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डको विजेता सिधै अवार्ड कार्यक्रममा घोषणा गरिनेछ ।
यस वर्षबाट एक जना एसियाका उत्कृष्ट खेल पत्रकारलाई पनि समेत सम्मान गर्न लागिएको छ । एसियन स्पोर्टस जर्नालिस्ट अवार्डको नाममा उक्त अवार्ड प्रदान गरिनेछ ।
अवार्ड कार्यक्रमको एक घण्टाअघि खेलाडी छनोट समितिको बैठक बसेर मनोनयनमा परेको विधाबाट विजेता नाम घोषणा गर्ने मञ्चले जनाएको छ ।
Comments