क्यान्सर र मोबाइलबीच सम्बन्ध छ ?
Published:
by .एजेन्सी । मोबाइल फोनबाट उत्पन्न हुने विकिरणहरुले वास्तवमै क्यान्सर गराउन सक्नेबारे पहिलोपटक स्पष्ट प्रमाण प्राप्त भएको डेलीमेलले जनाएको छ ।
दशकौँदेखि वैज्ञानिकहरुमा यसै विषयमा मतभेद रहँदै आएको थियो । तर १० वर्ष देखि जारी एक अनुसन्धानले विशेषगरी मस्तिष्क ट्युमरमा यस्ता विकिरणहरुको ठूलो प्रभाव रहने गरेको पुष्टि गरेको हो । यस अध्ययनमा हालसम्म तीन करोड डलर खर्च गरिएको बताइएको छ ।
मानिसमा नभइ तीनहजार मुसाहरुमा गरिएको यस अध्ययनको अन्तिम रिपोर्ट सार्वजनिक भएसँगै यसले २०१६ मा गरिएको खोजलाई प्रमाणित गरेको हो ।
जसले मोबाइलका विकिरणहरु ‘कार्सिनोजेनिक’ अर्थात क्यान्सर र ट्युमर पैदा गर्न सक्ने किसिमका हुन्छन् भन्ने दाबी गरेको थियो ।
यसरी यो अनुसन्धान मुसाहरुमा गरिएपनि यसबाट प्राप्त निष्कर्षलाई नकार्न नसकिने बताइएको छ जसले वास्तवमै मोबाइलका विकिरणहरु हानिकारक रहेको पुष्टि गर्दछ ।
तर यसमा पनि केही किसिमका ट्युमर र क्यान्सरहरु महिला भन्दा पुरुष मुसाहरुमा बढी उत्पन्न भएको पाइएको छ जसलाई अत्यन्तै असामान्य मानिएको छ ।
यस्तोमा वैज्ञानिकहरुले विशेषगरी पुरुषहरुलाई मोबाइल फोनको प्रयोगबारे सतर्क रहन सुझाव दिएका हुन् ।
तरपनि यो अनुसन्धानमा प्रयोग गरिएका सबैभन्दा कडा विकिरणहरु हाम्रो फोनको भन्दा ४ गुना बढी शक्तिशाली थियो भने सबैभन्दा कमजोर रेडिएसन चाहिँ फोनलाई स्वीकृति दिइएको फ्रिक्वेन्सीमा रहेको ‘नेस्नल टोक्सिकोलोजी प्रोग्राम’ का वरिष्ठ वैज्ञानिक डाक्टर जोन बुचरले बताएका हुन् ।
यसरी जनावरहरुमा विकिरणको स्तर नियन्त्रण गर्न सकिने तर मानिसमा यो प्रक्रिया कठिन हुने भएकाले पनि मुसाको प्रयोग गरिएको हो । यसका साथै मुसाहरुको पूरै शरीर सो विकिरणहरुसँग सम्पर्कमा ल्याइएको थियो भने दैनिक जीवनमा हाम्रो शरीरका केही भाग मात्र मोबाइल विकिरणको सम्पर्कमा बढी आउने गर्दछन् । यसकारण अनुसन्धानका विकिरणलाई फोनसँग प्रत्यक्ष तुलना गर्न नमिल्ने उनी बताउँछन् ।
तरपनि यस्ता विकिरणले वास्तवमै धेरै गम्भीर असर पुर्याउन सक्ने र लगातार सम्पर्कमा आइरहे क्यान्सर समेत पैदा गर्न सक्नेबारे पक्का भएको उनको भनाइ छ ।
यसरी मान्छे दैनिक सयौँ वायरलेस डिभाइससँग सम्पर्कमा आउने हुँदा त्यसले हाम्रो स्वास्थ्यमा कतै न कतै असर गरिरहेकै हुने चिकित्सकहरुले चेतावनी दिएका हुन् ।
हाम्रा वरपर रहेका वाइफाइ, टेलिभिजन डिस्क जस्ता डिभाइस र एन्टिनाहरुको सङ्ख्या बढ्दै गएका कारण पनि मानिस धेरै संवेदनशील हुँदै गएको बताइएको हो ।
यसरी डाक्टर बुचरको टोलीले यो अनुसन्धान मार्फत साँच्चिकै मोबाइल फोन र क्यानसर बीचको सम्बन्धमा अहिलेसम्मकै ठूलो उपलब्धि हासिल गरेको बताइएको छ ।
यसलाई बाहिरी विज्ञहरुले पनि मान्यता दिइसकेका छन् । तरपनि यसले पछिल्लो समय युवाहरुमा बढी देखिएको ब्रेन ट्युमरतर्फ संकेत गराएको हुँदा चिकित्सकहरुले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
यस प्रकारले क्यानसरको थोरै जोखिम बारे पुष्टि हुनुले पनि धेरै ठूलो क्षति पुर्याउन सक्ने बताइएको हो किनकी आज अरबौँ मन्छे मोबाइल फोनकै भरमा बाँचिरहेका छन् ।
यसमा ‘डिएनए ड्यामेज’ बारे भने पुनः अध्ययन आवश्यक रहेको विश्लेषकहरुको भनाइ छ । त्यसैले पनि लामो समय फोनमा कुरा गर्दा एयरफोनको प्रयोग गर्न चिकित्सकहरुले सुझाव दिँदै आएका छन् ।
Comments