Sajhamanch Archive

भद्रपुरको बजेट ७२ करोड ३८ लाख – चालु ६३.५५ः३६.४५ विकास

Published: in स्थानीय तह by .

भद्रपुर । झापाको सबैभन्दा जेठो नगरपालिका भद्रपुर नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि ७२ करोड ३८ लाख १७ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।

आइतबार सुरु दोस्रो नगरसभामा उपप्रमुख चन्द्रमाया श्रेष्ठले बजेट प्रस्तुत गर्दै चालुतर्फ ६३ दशमलव ५५ प्रतिशत र पूँजीगत खर्चतर्फ ३६ दशमलव ४५ प्रतिशत विनियोजन गरिएको जानकारी दिइन् । चालु खर्चमा नेपाल सरकारबाट प्राप्त हुने सशर्त अनुदान र सामाजिक सुरक्षा कार्यक्रम पनि समावेश छ ।

जनप्रतिनिधिले स्थानीय तहमा जिम्मेवारी सम्हालेपछिको यो दोस्रो नगरसभा हो । आव २०७४÷०७५ को तुलनामा २०७५÷०७६ का लागि १२ करोड रुपैयाँ बढी बजेट प्रस्ताव गरिएको छ ।

प्रस्तावित बजेटको विषयगत शीर्षकअनुसार आर्थिक विकासतर्फ १ करोड ९६ लाख ७२ हजार, सामाजिक विकासतर्फ ३२ करोड ८० लाख ७६ हजार, पूर्वाधार विकासतर्फ २६ करोड ५१ लाख एक हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ एक करोड २८ लाख ७६ हजार र संस्थागत तथा सेवा प्रवाह तथा कार्यालय सञ्चालनतर्फ ९ करोड ८० लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

नगरसभाको उद्घाटन प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका हुन् । उद्घाटन मन्तब्यमा मन्त्री कार्कीले भद्रपुर नगरको स्वरूप परिवर्तन गर्न प्रदेश सरकार तत्पर रहेको बताए ।

नगरसभालाई सम्बोधन गर्दै मन्त्री कार्कीले विकास निर्माणमा पछाडि परेको ऐतिहासिक शहर भद्रपुरको स्वरूप बदलेर समृद्ध बनाउन प्रदेश सरकार तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले कलवलगुरी प्रशिक्षण केन्द्रलाई चलयमान बनाउने गरी काम भइरहेको प्रष्ट पार्दै मेची अञ्चल अस्पतालको स्तरोन्नति गरेर मेडिकल कलेज बनाउने धारणा राखे ।

मेची क्याम्पसलाई प्राविधिक विषयसहितको कलेजको रूपमा विकास गर्ने गरी योजना तय भइरहेको सुनाउँदै भद्रपुर नगरको स्वरुप बदल्न औद्योगिक क्षेत्रको सम्भाव्यताको अध्ययन भइरहेको पनि मन्त्री कार्कीले बताएका छन् ।

नगरसभाका अध्यक्ष नगरप्रमुख जीवनकुमार श्रेष्ठले आव २०७५/०७६ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘पूर्वी क्षेत्रको व्यापारिक द्वार, शान्ति र समृद्धिसहितको भद्रपुर शहर’–को उद्देश्य प्राप्तिका लागि हरसम्भव प्रयत्न गरिने दृढता व्यक्त गरे ।

नगरपालिकाको सामाजिक शाखाका राजन न्यौपानेले सञ्चालन गरेको नगरसभा उद्घाटन समारोहमा आमन्त्रित पाहुनाहरुलाई प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठले स्वागत गरेका थिए ।

सो समारोहमा नगरप्रमुख श्रेष्ठले २०७४/०७५ को बजेटमा हालसम्म झण्डै ८० प्रतिशत खर्च भएको भन्दै आगामी आवमा समयावधिभित्रै सबै रकम खर्च हुने गरी योजना तथा कार्यक्रम सञ्चालन गरिने बताए ।

नीति तथा कार्यक्रम बुँदागत रुपमा प्रस्तुत गरेका नगर प्रमुख श्रेष्ठले नगरपालिकामा कृषि, व्यापार, उद्योग र पर्यटन विकासलाई प्रमुखताका साथ अघि बढाइने बताए ।

उनले २०७५/०७६ मा कृषि विकास, पर्यटन विकास, औद्योगिक विकास, पूर्वाधार विकास, व्यवस्थित बसोबास र वातावरण सन्तुलन तथा दिगो विकासका क्षेत्रमा काम गरिने धारणा राखे ।

त्यसैगरी, संस्थागत क्षमता विकास, सामाजिक समावेशीकरण, स्थानीय सुशासन तथा जनउत्तरदायित्व, सामाजिक न्याय तथा मानव अधिकार, समुदाय, निजी क्षेत्र तथा गैरसरकारी संस्थाको परिचालन, नतिजामूलक अनुगमन प्रणाली, डापीआर तयार गर्ने योजना तथा अन्य योजनाहरुलाई बुँदागत रुपमा नीति तथा कार्यक्रममा उल्लेख गरेका छन् ।

उपप्रमुख श्रेष्ठले २०७५÷०७६ का लागि वडास्तरबाट आएका योजनाहरुलाई विभिन्न विषयगत समिति, निर्वाचित जनप्रतिनिधि, सम्बन्धित विषयगत शाखा तथा सरोकारवाला कर्मचारीहरुबीच छलफल गरी योजनाहरुको प्राथमिकीरणका आधारमा बजेट तर्जुमा गरिएको बताइन् ।

समारोहका अर्का वक्ता झापा क्षेत्र नं ३ का प्रदेशसभा सांसद बसन्त बानियाँले भद्रपुरको विकासमा आफ्नो तर्फबाट पूर्णरुपमा साथ–सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

यसरी नै प्रदेशसभाका अर्का सांसद ओमप्रकाश सरावगीले मेची पूलको निर्माण, हुलाकी राजमार्ग, सघन शहरी विकास योजनाजस्ता ठूलाखाले योजनाले भद्रपुर पहिलेकै जस्तो औद्योगिक–व्यापारिक व्यस्त शहरमा रुपान्तरण हुने अवस्थामा पुगेको भन्दै भद्रपुरको विकासमा सबैले हातेमालो गर्नुपर्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *