स्थानीय तहका अस्थायी कर्मचारीलाई स्थायी गर्न सरकारलाई माग
Published: (Updated: )
by .काठमाडौं । स्थानीय तह कर्मचारी युनियन, नेपालले लामो समयदेखि कार्यरत स्थानीय तहका अस्थायी कर्मचारीहरुलाई स्थायी गर्ने कानुनी व्यवस्था गर्न सरकारसमक्ष माग गरेको छ ।
युनियनको हालै सम्पन्न प्रथम राष्ट्रिय भेलाले जारी गरेको १४ बुँदे काठमाडौं घोषणा पत्रमा वर्षौदेखि स्थानीय तहमा कार्यरत अस्थायी कर्मचारीहरुलाई स्थायी गर्ने कानुनी व्यवस्था गर्न सरकारलाई दबाब दिने उल्लेख गरिएको हो ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी युनियनका अध्यक्ष नूरबहादुर साउदले आन्तरिक विशेष प्रतियोगिताको माध्यमबाट अस्थायी कर्मचारीहरुलाई स्थायी गराउन र त्यसमा नपर्ने कर्मचारीहरुलाई जीवन निर्वाहका लागि आवश्यक सुविधासहित बिदाई गर्न पनि सरकारलाई दबाब दिने निर्णय गरिएको बताए ।
घोषणापत्रमा स्थानीय तहका कर्मचारीहरुको नियुक्ति, सरुवा, बढुवाको उचित व्यवस्थापन गर्न तत्काल स्थानीय सेवा ऐन जारी गर्न पनि सरकारसँग माग गरिएको छ ।
त्यसैगरी कर्मचारीहरुको हक, हितका लागि सबै स्थानीय तहमा स्थानीय तह कर्मचारी युनियनको निर्वाचन गराउन पनि सरकारसँग माग गरिएको युनियनका अध्यक्ष साउदले बताए ।
Comments