Sajhamanch Archive

विषादीको अवशेष परीक्षण हुन थालेपछि पूर्वी नाकाबाट भित्रिने हरियो तरकारीमा कमि

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

काँकरभिट्टा । दुईसातादेखि पूर्वीनाका हुँदै भारतबाट आयात हुने हरियो तरकारीमा कमि आएको छ । २ असारमा उद्योग तथा बाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी ताजा तरकारी तथा फलफूल पैठारी गर्दा सम्बन्धित भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य रुपमा गरेर मात्र आयात गर्नुपर्ने व्यवस्था गरेपछि यो नाकाबाट तरकारीको आयात शुन्य झै भएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ ।

यसअघि दैनिक ठुला र सानागरी २५ वटा तरकारी बोकेका गाडीहरु आउथे अहिले त्यो संख्या शुन्यमा झरेको कार्यालयका बाली संरक्षण अधिकृत सुरेशकुमार शाहले बताए । विषादीरहित प्रमाण ल्याएपछि मात्रै भन्सार कार्यालयले सम्बन्धित ठाउँसम्म लैजाने अनुमती दिने नियम भएपनि काँकरभिट्टामा विषादीको परीक्षण गर्ने प्रयोगशाला विषादी अवशेष द्रुत परीक्षण इकाई नहुँदा व्यवासायीहरु १७ किलोमिटर टाढा विर्तामोड पुग्नुपर्ने बाँध्यता छ ।
यसले गर्दा पनि समयबढी लाग्ने भएकाले व्यवसायीहरुले तरकारी पहिलाको जति आयात गर्न नसकेको भन्सार एजेण्ट बालकृष्ण थापाको भनाई छ । थापाका अनुसार सिजनमा दैनिक १० देखि १५ बेमौसममा समेत ८ देखि १० ट्रक हरियो तरकारी आयात हुने गर्दथ्यो । केही दिनयतादेखि १÷२ ट्रकमात्र हरियो तरकारी आयात हुने गरेको छ ।

उनले पूर्वी नाकामै विषादी अवशेष द्रुत परीक्षण इकाई भए व्यवसायीलाई सहज हुने बताए । उद्योग तथा बाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी ताजा तरकारी तथा फलफूल पैठारी गर्दा सम्बन्धित भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य रुपमा गरेर मात्र आयात गर्नुपर्ने व्यवस्था गरेपटि झापामा तरकारीको मुल्य बृद्घि हुने तरकारी व्यपारीहरुको भनाई छ । अहिलेसम्म प्याज बाहेक अरु कुनै तरकारीमा मुल्य बृद्घि नभएको तर पूर्वी पहाडी जिल्लाबाट आउने तरकारी कम हुने वित्तिकै भारतीय बजारको भर पर्नु पर्ने हुँदा त्यसवखत मुल्य बढ्ने उनीहरुको भनाई छ ।

एकसाताअघिसम्म प्रतिकेजी ४० रुपैयाँमा खरदि गरेको प्याज एकसातापछि प्रतिकेजी ४५ रुपैयाँमा खरिद गर्न बाँध्य छन् । ‘अहिलेसम्म त प्याजमा मात्र मुल्य बढेको छ ’स्थानीय सब्जी व्यापारी रमेश कार्कीले भने —‘अब पूर्वी पहाडी जिल्लबाट आउने तरकारीमा समेत गिरावट आउने र भारतबाट आयात हुने तरकारीमा कमि आउने हो हो सवै तरकारीमा मुल्य बढ्छ ।’ भारतबाट तरकारी आउन छाडेपछि अहिले स्थानीय स्तरमा किसानले उत्पादन गरेका सागसब्जी बजारमा छन् । भारतीय तरकारीको आयात प्रभावित बनेपछि स्थानीय कृषकहरुले उत्पादन गरेको तरकारीले बजार पाएको कृषकहरुको भनाई छ ।

क्वारेन्टाइन कार्यालयले कुषिजन्य उपजको रोगकिराको मात्रै जाँच गर्ने गरेको छ । नयाँ व्यवस्थासँगै तरकारीको मुल्यमा वृद्घि हुने सम्भावना बढेको र त्यसो भए उपभोक्ताहरु मंहगो तरकारी खान बाँध्य हुनेछन् । विषादी परीक्षण पश्चातमात्र भारतबाट तरकारी आयात गर्नुपर्ने व्यवस्थाका कारण तरकारीको आयात घट्ने वित्तिकै नेपाली बजारमा तरकारीको मुल्य बृद्घि हुने व्यवसायीहरुको भनाई छ । भारतबाट आयात गरीएन भने नेपालमा उत्पादित तरकारीले यहाँको माग धान्न सक्दैंन् ।

प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले दिएको जानकारी अनुसार चालु आर्थिक २०७५÷२०७६ को ११ महिनामा ३२ करोड ७१ लाख ५२ हजार रुपैयाँ मुल्य बराबरको २० हजार ४ सय ४७ मेट्रिक टन ताजा तरकारी पूर्वी नाका भएर आयात भएको । यसैगरी १३ करोड १३ लाख ७० हजार रुपैयँँ मुल्य बराबरको ४ हजार ३ सय ७९ मेट्रिक टन प्याज र ३७ करोड २६ लाख रुपैयँँ मुल्य बराबरको १८ हजार ६ सय ३० मेट्रिक टन आलु नेपाल आयात भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *