Sajhamanch Archive

‘वेभमा आधारित ढुवानी प्रणाली’ श्रावणदेखि लागु हुँदै

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

काँकरभिट्टा । आगामी आर्थिक वर्ष २०७६।०७७ देखि सरकारले अनिवार्यरुपमा लागू गर्न लागेको ‘वेभमा आधारित ढुवानी प्रणाली’का विषयमा विहीबार झापाको मेचीनगरमा जानकारीमुलक कार्यक्रम सम्पन्न भएको छ ।

साउन १ गतेदेखि लागू हुने ‘वेभमा आधारित ढुवानी प्रणाली’का बारेमा सरोकारवालाहरुसँग छलफल भएको थियो । असार मसान्तसम्ममा निर्यातकर्ताहरुले यो प्रणाली प्रयोग गरेर साउनबाट लागु गर्नुपर्ने सरकारी अधिकारीहरुले बताएका छन् । यसले कर छलेर व्यापार गर्ने परिपाटीको अन्त्य गर्ने विश्वास सरकारको छ । कार्यक्रममा राजस्व अनुसन्धान विभाग काठमाण्डौंका उपनिर्देशक रामप्रसाद रेग्मीले यसको प्रयोग तथा पासवर्डलगायतका बारेमा प्रस्तुतीकरण दिएका थिए ।

मेची उद्योग बाणिज्य संघको सभाहलमा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले कार्यक्रमको उद्घाटन गरेका थिए । राजस्व अनुसन्धान विभाग काठमाण्डौं र मेची उद्योग बाणिज्य संघ मेचीनगरले संयुक्तरुपमा आयोजना गरेको जानकारीमुलक कार्यक्रममा वक्ताहरुले यसले हरेक व्यवसायीको कारोवारलाई चुस्त दुरुस्त अनि पारदर्शी राख्ने र ‘पेपर लेस विजनेश’ को शुरुवात गरेको भन्दैं स्वागत गरेका थिए ।

कर छलेर वा राज्यलाइ ढाटेर अवैधरुपमा आयात निर्यात गर्ने व्यवसायीहरुलाई यसले नोक्शान पुर्याउने भएपनि इमान्दारपूर्वक व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुलाई कुनै नोक्शान नहुने भन्दै हरेक उद्योगी व्यवसायीहरुले यसले पूर्ण पालना गर्ने बताए । राज्य व्यवसायी मैत्री हुनुपर्नेमा जोड दिदैं उनीहरुले यो मुलकका हरेक उद्योग व्यवासायीहरु राजयलाई तिर्नुपर्ने करमा कहि कतै नअल्मिइ इमान्दारितापूर्वक करको पालना गर्ने बताए । उनीहरुले राज्यले तय गरेको कर तिर्न व्यवसायीहरु कहि नचुक्ने र इमान्दारिपूर्वक तिर्ने बताए ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य केशवराज पाण्डे, १ नम्बर प्रदेश का अध्यक्ष नरेन्द्रकुमार खड्कालागायतले बोलेका थिए । मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाले सभापतित्वसहित स्वागत गरेको कार्यक्रममा राजस्व कार्यालय इटहरीका अधिकृत वेदराम फूयाँल, आन्तरिक राजस्व कार्यालय मेचीका अधिकृतहरु, झापा जिल्लाका १ सय २० भन्दाबढी उद्योगी, व्यवासयी, भन्सार एजेण्ट, डिलर व्यवसायीहरु, संघका भुतपुर्व र वर्तमान पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन संघका महासचिव ध्रुव कनालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *