ग्लोबल आईएमई बैङ्क र जनता बैङ्कबीच मर्जर घोषणा, देशकै ठूलो वाणिज्य बैङ्क बन्ने
Published:
by .काठमाडाैँ, २० असार । ग्लोबल आईएमई बैङ्क र जनता बैङ्क आपसमा मर्जर हुने भएका छन् ।
दुबै बैंकका अध्यक्षले आज मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन् । ग्लोबलका अध्यक्ष चन्द्र ढकाल र जनता बैंकका अध्यक्ष केशव रायमाझीले हाेटल सांग्रिलामा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
समझदारीत्रमा सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) ८५ प्रतिशत रहने भद्र समति गरिएको स्रोतको दाबी छ । मेगा बैङ्कसँग मर्जरको चर्चा चलिरहेको ग्लोबल आईएमईले अन्तिम समयमा आएर जनता बैङ्कसँग हात मिलाएको हो ।
ग्लोबल आइएमई बैङ्क र जनता बैङ्क अब एक भएर जाने समझदारी भएको जनता बैङ्कका कार्यकारी प्रमुख(सिईओ) पर्शुराम क्षेत्रीले जानकारी दिएका छन् ।
राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जिबी नेपालले मौद्रिक नीति आउनुअघि सबै बैङ्कहरुलाई आफू सुहाउदो जोडी खोजिसक्न निर्देशन गरेका थिए । मर्जरपछि बैङ्कको नाम ग्लोबल आईएमई नै रहने बहस चलेपनि संयुक्त बैङ्कको नाम के रहने भन्ने अहिलेनै यकिन नभएको स्राेतले जनाएको छ ।
सञ्चालकमा ग्लोबलको पाँच जना र दुई जना जनता बैंकबाट आउने छन् । बैंक अध्यक्षमा चन्द्रप्रसाद ढकालनै हुने सहमतिमा छ । प्रमुख कार्यकारी अधिकृतमा जनताका पर्शुराम कुँवर क्षेत्रीले निरन्तरता पाउने छन् । बरिष्ठ डेपुटी सिइओमा महेश ढकाल हुनेछन् ।
चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार ग्लोबल आइएमई बैंक र जनता बैंक मर्जरमा गएपछि देशकै ठूलो बैंक बन्ने छन् ।
अहिले ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ छ । यस्तै, जनता बैंकको चुक्ता पूँजी ८ अर्ब ८ अर्ब ७ करोड रुपैयाँ रहेको छ ।
यसरी दुबै बैंक एक भएपछि बैंकको चुक्ता पूँजी १७ अर्ब ११ करोड हुने छ । जुन नेपालका वाणिज्य बैंकमा नै सर्वाधिक बढी हो ।
यस्तै चैत मसान्तसम्ममा ग्लोबल आइएमई बैंकको निक्षेप १ खर्ब १६ अर्ब रुपैयाँ रहेको छ । जनता बैंकको ७० अर्ब रुपैयाँ निक्षेप छ । यस हिसाबले दुबै बैंकको निक्षेप १ खर्ब ८७ अर्ब रुपैयाँ हुने छ ।
यस्तै, कर्जातर्फ चैत मसान्तसम्ममा ग्लोबल आइएमई बैंकले १ खर्ब ३ अर्ब रुपैयाँ दिएको छ भने जनता बैंकले ६४ अर्ब ७० करोड रुपैयाँ कर्जा दिएको छ । यसरी दुबै बैंक गाभिएपछि कर्जा १ खर्ब ६७ अर्ब रुपैयाँ हुन्छ । यसरी मर्जरपछि कर्जामा पनि पहिलो नम्बरमा हुने छन् ।
नाफामा भने चैत मसान्तसम्ममा ग्लोबल आइएमई बैंकले १ अर्ब ८७ करोड गरेको छ भने जनता बैंकले १ अर्ब २ करोड गरेको छ । दुवैलाई गाभ्दा नाफा २ अर्ब ८९ करोड हुन्छ । नाफाको आधारमा तेस्रो स्थानमा बैंक हुने छ ।
शाखा संजालको हिसाबले ग्लोबल आइएमई बैंकको १३६ तथा जनता बैंकको १३७ रहेको छ । दुबैको शाखा २७३ हुने छ ।
दैनिक नेपालबाट ।
Comments