Sajhamanch Archive

नेपाली अभिनेत्रीः किन हराउँछन् विदेशमा

Published: (Updated: ) in टिप्स/जानकारी by .

काठमाडौं । अभिनेत्री केकी अधिकारी कोहलपुर एक्सप्रेस बोकेर अस्ट्रेलिया पुगेकी छन् । अभिनयका बर्षहरू पार गरेपछि उनी निर्मात्रीका रूपमा उक्त फिल्मबाट उदाइन् ।

नेपाली फिल्म समिक्षकले उनको फिल्म औसत रहेको र कतिपय कथा नै हुबहु भएको लेखेका थिए । यद्यपि, उनको फिल्मको माग अस्ट्रेलियामा त्यसअघि नै भएको थियो ।

नेपालमा आफु अनुकुलताको प्रशंशा नभए पनि नेपाली फिल्मको ओभरसिज अधिकार पहिला नै विक्रि भइसकेको हुन्छ । तर कलाकारका अन्य आम्दानीका लागि फिल्म लिएर जाने चलन बढेको बताइन्छ ।

अधिकारी सोही फिल्म बोकेर अस्ट्रेलिया प्रदर्शनमा पुगेकी छन् । केही वर्षअघि अमेरिका र अस्ट्रेलिया पनि बसेकी थिइन् उनी । अस्ट्रेलियाका विभिन्न कार्यक्रममा सहभागी भएर पारिश्रमिक लिँदै त्यहाँका नेपाली समुदायबीच आर्थिक सम्बन्ध कायम गरेपछि उनले फिल्म निर्माणमा हात हालेको बजार हल्ला चलेको थियो । अब फेरि केही समय उनी अस्ट्रेलियामा हराउने छिन् । ‘यहाँ फिल्मले भनेजस्तो रकम उठाउन सकेन भने केही कार्यक्रममा सहभागी हुन्छिन् र पैसा कमाउने चक्कर हुनेछ’, अस्ट्रेलियामा कार्यरत एक नेपालीले भने,‘यो कलाकारका लागि राम्रो अवसरको देश पनि बनेको छ ।’

नेपाली कलाकार, खासगरी अभिनेत्रीहरूको माग पनि हुने भएकाले केहीले अस्ट्रेलियामा डेरा जमाएका छन् । बेलायत जान नपाएपछि अस्ट्रेलियाको भिसा लगाएर अभिनेत्री बेनिशा हमाल केही महिना अघि सिड्नी पुगिन् । नेपाली समुदायले गरेका विभिन्न कार्यक्रममा उनको सहभागीता हुन थालेको छ । यता फिल्ममा काम कम भएपछि उनी अस्ट्रेलियाको भुलभुलैयामा रहेकी छन् ।

त्यसो त नेपाली समुदायले गर्ने कार्यक्रमका आकर्षण पनि नेपाली कलाकार हुने गरेका छन् । विभिन्न चाडपर्वदेखि नयाँ वर्षहरूका कार्यक्रममा नेपाली अभिनेत्री र गायिकाको माग बढिरहेको हुन्छ । केही महिना अघि अभिनेत्री बर्षा राउत अस्ट्रेलिया पुगेकी थिइन् । उनले नेपाली समुदायको कार्यक्रममा नृत्य गरेर पारिश्रमिक उठाएर आएकी थिइन् । अहिले उनी नेपालमा फिल्म अभिनयमा व्यस्त छिन् ।

‘नेपाली अभिनेत्रीको पारिश्रमिक फिल्ममा हुँदैन, अहिले नेपाली फिल्मको विश्वबजार विस्तार भएका कारणले पनि आम्दानीका लागि हुने कार्यक्रममा अभिनेत्रीहरू जानु स्वभाविक हो’, एक निर्माता भन्छन्,‘यसलाई फिल्मको बजार विस्तार र कलाको दायरा निक्कै ठूलो भएको बुझ्नुपर्छ ।’

पछिल्लो पटक नेपाली गायकगायिका र अभिनेत्रीको माग अस्ट्रेलियामा बढ्नुको कारण नेपाली समुदायको बाक्लो उपस्थिति हरनु पनि हो । अन्य देशभन्दा अस्ट्रेलिया जानका लागि कलाकार पनि आतुर हुने गरेका छन् । कतिपय फिल्म नै अस्ट्रेलियामा बन्न थालेका छन् । नेपाली फिल्मको बजारमात्र होइन, लोकेशन पनि विस्तार हुन थालेको फिल्मकर्मीहरू बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *