विज्ञापन नरोकिएपछि पाँच विद्यार्थी संगठनद्वारा पूर्वाञ्चल विश्वविद्यालय तोडफोड
Published: (Updated: )
by .विराटनगर। पाँच विद्यार्थी संगठनले पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालमा तोडफोड गरेका छन् । पूर्वाञ्चल विश्वविद्यालयले खुलाएको सेवा आयोगको विषयमा आइतबार पाँच विद्यार्थी संगठनहरुले केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा तोडफोड गरी तालाबन्दी गरेका हुन् ।
आइतबार अनेरास्ववियु, अखिल क्रान्तिकारी, संघीय विद्यार्थी फोरम नेपाल, राष्ट्रिय विद्यार्थी संघ र नयाँ शक्ति विद्यार्थी युनियनले तालाबन्दी गरी आन्दोलन सुरु गरेका हुन् । विद्यार्थी संगठनहरुले विराटनगर–१ पुष्पलाल चोकमा रहेको विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको कार्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका समयमा उपकुलपति घनश्याम लाल दास र रजिष्ट्रार प्रमिला थापा कार्यालयमा थिएनन् ।
विराटनगर–३ बरगाछीमा रहेको पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगको कार्यालयमा पनि तालाबन्दी भएको छ । तालाबन्दी गर्नुअघि तोडफोडमा उत्रिएका विद्यार्थीले विश्वविद्यालयको कम्प्युटर, ल्यापटप, प्रिन्टर, झ्यालका सिसा, टेबुल, गमला, दराज, कुर्सी फुटाइदिएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालयले ७२ जनाको कर्मचारीको माग गर्दै विज्ञापन खुलाएको थियो । तर,विश्व विद्यालयको सेवा आयोगले गरेको विज्ञापन तथा परीक्षा सम्बन्धी सम्पूर्ण कामहरु बद्नियतपूर्ण रहेको भन्दै छानबिनकालागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७५ चैत ५ गते राष्ट्रिय योजना आयोगका सदस्य डा.उषा झाको नेतृत्वमा समिति गठन गरेको थियो।
सो समितिले बुझाएको प्रतिवेदनमा विज्ञापनलाई स्थगन गर्न भनिएपनि भित्रभित्रै रूपमा कर्मचारी भर्ना गर्न खोजिएपछि तालाबन्दी गरिएको विद्यार्थी संगठनहरुले बताएका छन् ।
समितिले दिएको सुझावलाई बेवास्था गर्दै असार २० गते शुक्रबार परीक्षासम्बन्धी कार्यक्रम प्रकाशित गरिएपछि विद्यार्थीहरु आन्दोलित बनेको अनेरास्ववियुका अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष ताजिम अन्सारीले बताए । केही व्यक्तिलाई सेवामा प्रवेश गराउने उद्देश्य राखेर गरिएको विज्ञापन खारेज गरेर नयाँ प्रक्रियाबाट मात्र विज्ञापन गर्नु पर्ने माग राखे पनि वास्ता नगरेपछि तालाबन्दी गरेको उनले बताए । आर्थिक चलखेलका कारण भर्ती गर्ने केन्द्र बनाउन खोजेका कारण आन्दोलन गरेको उनको भनाइ छ ।
विवादमा रहेको र प्रक्रियाविपरीत गरिएको सहायक प्राध्यापक, उप–प्राध्यापक, सह–प्राध्यापक र प्राध्यापक गरेर ७२ जनाका लागि खुल्ला गरिएको आवेदन र छनोट प्रक्रिया खारेज नभएसम्म आन्दोलन जारी रहने र तालाबन्दी नखुल्ने बताए ।
यस विषयमा गत शुक्रबार ध्यानआकर्षण गरिए पनि बेवास्था गरिएपछि आन्दोलन गर्नु परेको उनको भनाइ छ ।
Comments