Sajhamanch Archive

प्रदेश प्रतियोगिता खेल्ने झापाली खेलाडीलाई विदाई

Published: in खेलकुद by .

काँकरभिट्टा । एक नम्बर प्रदेशस्तरीय ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिने झापाली खेलाडीलाई मंगलबार विदाई गरिएको छ ।

झापा जिल्ला खेलकूद विकास समितिले काँकरभिट्टामा कार्यक्रम आयोजना गरी ८३ सदस्यीय खेल टोलीलाई विदाई गरेको हो । हनुमान मन्दिर परिसरमा आयोजित सो कार्यक्रममा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष शंकर थापाले खेलाडीहरुलाई शुभकामना दिए ।

‘प्रतियोगिताका लागि आवश्यक योग्य खेलाडी छानेका छौं’ त्यसक्रममा उनले भने–‘झापाले प्राप्त गर्दै आएको सफलताले निरन्तरता पाउनेमा हामी विश्वस्त छौं ।’ अध्यक्ष थापाले खेलको नियम र अनुशासनलाई ध्यान दिँदै उच्च मनोबलका साथ खेल प्रदर्शन गर्न प्रतिष्पर्धी खेलाडीहरुलाई आवश्यक निर्देशन दिए ।

उक्त कार्यक्रममा कराते प्रशिक्षक कालु मेचे, समितिका लेखापाल देवीकुमारी न्यौपाने, सौरभ प्रधान, तेक्वान्दो संघ जिल्ला अध्यक्ष प्रदीप श्रेष्ठ, राखेप कुस्ती सहायक प्रशिक्षक वेदनिधी भण्डारी(उमेश), खेलप्रेमी केशव आचार्य, धुलाबारी माविका खेल शिक्षक चेतनाथ बाँस्तोला, चेतन निरौलालगायतको उपस्थिति थियो ।

यही बुधबार र बिहीबार सुनसरीको इटहरीमा हुने प्रदेशस्तरीय सो प्रतियोगितामा झापाका ७६ जना खेलाडीले प्रतिष्पर्धा गर्ने जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख टहलदाश मैनालीले जानकारी दिए ।

स्थानीय तह हुँदै र जिल्लास्तरीय छनौट प्रतियोगिताबाट छानिएका १४ जिल्लाका खेलाडीहरु प्रदेशस्तरीय प्रतियोगितामा भाग लिँदैछन् । सो प्रतियोगिताबाट छानिने खेलाडीहरुले राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन् ।

प्रदेशस्तरीय प्रतियोगितामा झापाबाट कबड्डीतर्फ ९ छात्र र ९ छात्रा, एथ्लेटिक्सतर्फ ११ छात्र र ११ छात्रा, भलिबलतर्फ ९ छात्र र ९ छात्रा, कराँतेतर्फ ३ छात्र र ३ छात्रा, तेक्वान्दोतर्फ ३ छात्र र ३ छात्रा तथा उसुतर्फ ३ छात्र र ३ छात्राले खेल्नेछन् ।

राखेप कराँते सहायक प्रशिक्षक कृष्ण बस्नेत नेतृत्वको झापाली खेल टोलीमा खेल प्रशिक्षकहरु उसुका अरुण सापकोटा, करातेका हरिमाया राई, तेक्वान्दोका जीतेन्द्र मेचे, भलिबलका हेमा थापा, कबड्डीका उत्तमकुमार पौडेल र एथ्लेटिक्सका मेनुका राउत छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *