Sajhamanch Archive

भट्टराई भन्छन्– बजेटले कोही पनि सन्तुष्ट छैनन्

Published: in राजनीति by .

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का सांसद योगेश भट्टराईले बजेटले कोही पनि सन्तुष्ट नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बजेटमा समन्यायिकताको सिद्धान्त नभएको टिप्पणी गरे ।

‘सांसद, स्थानीय तह, प्रदेशका जनता कोही पनि बजेबाट सन्तुष्ट छैनन्’, भट्टराईले भने, ‘यसले विकासका अवधारणा र मोडलका बारेमा गम्भीरतापूर्वक छलफल आवश्यक छ भन्ने देखाएको छ ।’ उनले समन्यायिकताको सिद्धान्तको आधारमा बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका विभिन्न शीर्षकमा विनियोजित बजेटमाथिको छलफलमा सहभागी हुँदै उनले विपक्षी दल असन्तुष्ट छ नै सत्तारुढ दलका सांसद र जनता पनि सन्तुष्ट नभएको बताए ।

सांसद भट्टराईले खासगरि हिमाल केन्द्रीत पहाडका जिल्लामा पठाइएका बजेटले कति काम हुनसक्छ भनेर समीक्षा गर्नुपर्ने बताए । दक्षिण सीमादेखि हुलाकी राजमार्ग, पूर्व–पश्चिम राजमार्ग, पुष्पलाल, मदन भण्डारी राजमार्गसम्म सडक सञ्जालले जोड्ने हो भने समन्यायिकताको सिद्धान्तमा बजेट विनियोजन गर्नुपर्ने सुझाव उनले दिए ।

उनले मुलुकभरका विभिन्न जेलमा रहेका २० हजार कैदी बन्दीलाई राज्यले श्रममा लगाउन सक्ने हो भने प्रभावकारी परिणाम ल्याउन सक्ने भन्दै त्यसतर्फ सोच्न सरकारको ध्यानाकर्षण गराए ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटका विषयमा नकारात्मक टिप्पणी नगर्न सांसदहरुको सचेत गराएपनि सत्तारुढ दलका सांसदहरुले सदनमा असन्तुष्टि पोख्ने काम रोकिएको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *