Sajhamanch Archive

हल्दिबारी गाउँपालिकाको बजेट साढे ४१ करोड

Published: in स्थानीय तह by .

स्लोगानसहितका दर्जनौं कार्यक्रम सार्वजनिक

हल्दिबारी । हल्दीबारी गाउँपालिकाले आर्थिक वर्ष २०७५र७६ को नीति तथा कार्यक्रमसहित ४१ करोड ६२ लाख ३६ हजार ५५ रुपैयाँको वार्षिक बजेट पारित गरेको छ ।

“हल्दिबारीको दृष्टि, कृषि र पर्यटनमार्फत् समृद्धि” भन्ने मूल मन्त्रलाई अंगिकार गर्दै अघि बढेको गाउँपालिकाले अधिकांश कार्यक्रमहरु कृषि र पर्यटनमा समावेश गरेको आज आयोजित पत्रकार सम्मेलनमा जनाइयो ।

कार्यपालिकाका सदस्य तथा प्रवक्ता सागर पोर्तेलले गाउँ गाउँपालिकाले तयार गरेको सयवटा मुख्य मुख्य नीति तथा कार्यक्रम बाचन गरी त्यसका बारेमा प्रस्ट पारेका थिए ।

“संसार बदल्नुछ भने परिवर्तन आफैंबाट शुरु गर्नुपर्छ” भन्दै सिक्ने प्रक्रियामा एक वर्षमा बटुलेका अनुभवलाई कार्यान्वयन गर्दै बाँकी चारवर्षमा सिकेका कुराहरु पूरा गरी हल्दिबारी गाउँपालिकालाई देशकै नमूना बनाउने कार्यपालिका बोर्डको लक्ष रहेको पोर्तेलले दाबी गरे ।

तयार गरेको नीति तथा कार्यक्रम जनतामा जाने र जनताबाट थप सुझावहरु सङ्कलन गरी कार्यक्रम कार्यान्वयनमा लैजाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेको भनाई छ ।

पशुपालन, माछा उत्पादन, बालबालिका समृद्धिका कार्यक्रम, महिला कार्यक्रम, पर्यटकीय क्षेत्र पहिचान र प्रवद्र्धन कार्यक्रम, सार्वजनिक सुनवाई कार्यक्रम, न्यायिक कार्यक्रम, प्राविधिक शिक्षा र लोपउन्मुख मेचे जातिको लागि विशेष खालका कार्यक्रमहरु सञ्चालन गर्ने गाउँपालिकाको तयारी छ ।

यी सबै कार्यका लागि विशेष खालका प्याकेजको व्यवस्था गरी यसका लागि भोलिबाटै काम सुरु गरिने कार्यपालिका सदस्य सागर पोर्तेलले जनाए ।

“हल्दिबारीका महिला, विकासमा पहिला” भन्ने अभियान थालनी गरी २७ स्थानमा महिलाको मात्र सहभागिता हुनेगरी टोल विकास समिति गठन गरी “किसानको खुशी, पशुपालन र कृषि” कार्यक्रम गर्ने पहिलो लक्ष गाउँपालिकाले तत्कालै सञ्चालन गर्ने जनाइएको छ ।

“समृद्धिका पालक, हल्दिबारीका बालक” नामक अभियान गरी बालमैत्री शासन प्रवद्र्धन गर्ने, प्रत्येक वडामा १०० जना युवा परिचालन गरी सरसफाई, स्वास्थ्य कार्यक्रमको थालनी गर्ने पनि जनाइएको छ ।

साथै आगामी दिनमा “फेरि पनि घुम्न जाउँ, हल्दिबारी गाउँ” अभियानको थालनी गरी सो क्षेत्रमा पर्ने जलथल जङ्गललाई प्राकृतिक चिडियाखानाको रुपमा लैजानका लागि दातृ निकायसमेतको सहकार्यमा जङ्गल माथिबाटै बन्यजन्तुको अवलोकन गर्न सक्ने गरी केवलकारको संचालन गर्ने लक्ष्य रहेको अधिकृत घिमिरको दाबी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *