Sajhamanch Archive

विवाह समारोहमा आत्मघाती विस्फोट, पाँचजनाको मृत्यु

Published: (Updated: ) in विश्व समाचार by .

अफगानिस्तानको पूर्वी क्षेत्र नान्गाहार प्रान्तको पाचिरागाम जिल्लामा भइरहेको एक विवाह समारोहमा भएको आत्मघाती आक्रमणमा परी पाँच सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य कैयौँ घाइते भएका छन्।

एक सरकारी अधिकारीले एएफपी समाचार समितिलाई घटनाबारे उक्त जानकारी दिएका हुन्। सर्वसाधारण नागरिकको हत्या नगर्ने दाबी गर्दै आएका तालिबान लडाकू समूहले उक्त आक्रमणको जिम्मा लिन अस्विकार गरेका छन्। पाकिस्तानको सीमा क्षेत्रसँग नजिकै रहेको यस इलाका इस्लामिक स्टेट्स (आइएस) लगायतका आतङ्ककारी संगठनको बासस्थानका रूपमा पनि चिनिन्छ। यस आतङ्ककारी संगठनले यसअघि पनि बारम्बार आक्रमण गर्दै आएका बताइन्छ। स्थानीय समयानुसार शुक्रबार बिहान ८ बजे आत्मघाती बम बोकेका एक आक्रमणकारीले बिवाह समारोहमा विस्फोट गराएको नान्गाहार प्रान्तका गभर्नरका प्रवक्ताले एएफपी समाचार समितिलाई बताए।

यस आक्रमणमा परी पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४० घाइते भएका प्रवक्ताले बताइएको छ। पाचिरागम जिल्ला गभर्नर हज्रात खान खाक्सारले शुरुमा यस आक्रमणमा परी १४ व्यक्तिको मृत्यु हुनुको साथै १४ घाइते भएको जानकारी दिए। उक्त जिल्लामा बस्ने अफगान सरकार समर्थित लडाकूहरूका एकजना कमाण्डर मालिक टुरको घरमा सो आत्मघाती आक्रमण भएको अफगानिस्तानका एक स्थानीय अधिकारीले जानकारी दिएका छन्। के कति कारणले सो आक्रमण भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको बताइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *