प्रदेश -१ मा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुग्यो
Published:
by .विराटनगर । पाँच दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी प्रदेश एकमा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
बाढीपहिरोमा परी अझै ४ जना बेपत्ता रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मृत्यु हुनेहरुमा भोजपुर रामप्रसाद राई गाउँपालिका वडा नं.७ का ६६ वर्षीया जगतबहादुर राई, ट्याम्केमयुम गाउँपालिका वडा नं. ९ का १४ वर्षीय जनक बि.क., ओखलढुंङगा चिसुङखुगडी गाउँँपालिका वडा नं ४ की ८५ वर्षीया पासाङपुटी शेर्पा, इलाम चुलाचुली वडा नं.१ की ५० वर्षीया अञ्चला लावतीको मृत्यु भएको हो ।
खोटाङको खोटेहाङ गाउँपालिका वडा नं.२ मा आमासँगै बेपत्ता उनका दुई छोरा पनि मृत अवस्थामा फेला परेका छन् । २८ वर्षिया रेखा राई र उनका ४ वर्षिय छोरा रमन राई र ६ महिना छोरा रोहन राईको पहिरोले पुरिएर मृत्यु भएको हो।
त्यस्तै झापाकोे दमक नगरपालिका वडा नं.१० का ६ वर्षीया एलिजा न्यौपानेको स्थानीय खोलाले बगाएर मृत्यु भएको छ । उदयपुर घर भई सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. ५ बस्ने ३५ वर्षीय सागर थापाको पनि खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं.४ का ९ वर्षीय दिवन राई, झापा भद्रपुर नगरपालिका वडा नं ९ का ४५ वर्षीय सफल हज्दा, सुनसरी २६ बराहाक्षेत्र वडा नं.१ का १० वर्षीय अर्पन राई र मोरङ कानेपोखरी गाउँपालिका वडा नं.२ मा अन्दाजी २५÷३० वर्षका नामथर नखुलेकालाई खोलाले बगाएर बेपत्ता बनाएको छ।
त्यस्तै सुनसरीमा एक, खोटाङमा एक जना घाइते भएको प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत प्रहरी बरिष्ठ उपरीक्षक किशोर कुमार दाहालले जानकारी दिए ।
Comments