Sajhamanch Archive

फेसबुकमाथि साढे पाँच खर्ब जरिवानाको सिफारिस

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by .

अमेरिकी नियामक संस्था संघीय व्यापार आयोग (एफटीसी) ले व्यक्तिगत सूचना चुहाएको विषयमा सामाजिक सञ्जाल फेसबुकमाथि साढे पाँच खर्ब नेपाली रुपैयाँ बराबरको जरिवाना सिफारिस गरेको छ ।

यो कुनै प्रविधि कम्पनीमाथि गरिएको अहिलेसम्मकै ठूलो जरिबाना रकम हो । यसअघि सन् २०१२ मा गुगलमाथि दुई अर्ब ४१ करोड ३३ लाख २२ हजार नेपाली रुपैयाँभन्दा बढी जरिबाना तोकिएको थियो । तर फेसबुकमाथि लगाइएको जरिबानामाथि भने अमेरिकी न्याय विभागले अन्तिम फैसला गर्नेछ ।

गएको मार्च २०१८ मा फेसबुकले व्यक्तिगत सूचना चुहाएको सबैभन्दा ठूलो मामला सार्वजनिक भएको थियो । एफटीसीले सामाजिक सञ्जाल फेसबुक आफ्ना प्रयोगकर्ताको व्यक्तिगत सूचनाको गोप्यता र सुरक्षामा दोषी भएको बताएको छ ।

बेलायती परामर्शदाता क्याम्ब्रिज एनालिटिकालाई व्यक्तिगत सूचना चुहाएको विषयमा फेसबुकका कार्यकारी अधिकृत मार्क जुकरबर्ग अमेरिकी संसदमा उपस्थित भएका थिए । त्यसपछि एफटीसीले जाँच सुरु गरेको थियो ।

फेसबुकले आफूविरुद्ध जाँच सुरु भएपछि कानुनी सम्झौताको लागि झण्डै आठ अर्ब रुपैयाँको प्रस्ताव राखेको थियो । एफटीसीले पनि व्यक्तिगत सूचना चुहावटको मामलासम्बन्धी जाँचपड्ताल सकाउन यही शर्त अनुसार कम्पनीको जरिबाना रकम तय गरेको थियो । फेसबुकमाथि तोकिएको जरिबाना रकम उसले सन् २०१८ मा गरेको कमाइको ९ प्रतिशत मात्र हो ।

बेलायती परामर्शदाता क्याम्ब्रिज एनालिटिकाले फेसबुकका आठ करोड ७० लाख प्रयोगकर्ताको व्यक्तिगत सूचना प्राप्त गरेको थियो ।

क्याम्ब्रिज एनालिटिकाले सन् २०१६ को अमेरिकी राष्ट्रपतिय चुनावलाई प्रभावित गर्नका लागि फेसबुक प्रयोगकर्ताको व्यक्तिगत सूचनाको प्रयोग गरेको थियो । फेसबुकलाई पनि यी सबै कुराको जानकारी थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *