मलेसियालाई ६ रनले हराउँदै नेपालले जित्यो सिरिज
Published:
by .दोस्रो टी – २० मा मलेसियालाई ६ रनले हराउँदै नेपालले सिरिज जितेको छ ।
किनरारा ओभलमा नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।
उसको सुरुवात भने राम्रो थियो । ओपनर भिरनदीप सिंह र शेयद अजिजले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए । अजिजले ५० रन बनाउँदा सिंह २३ रनमा आउट भएका हुन् । यो साझेदारी टुटेपछि भने मलेसिया दबावमा आयो ।
नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले २(२ विकेट लिए भने करण केसी, अभिनाश बोहोरा र पारस खड्काले १(१ विकेट हात पारे ।
यसअघि टस जितेर व्याटिङ थालेको नेपालले विनोद भण्डारीको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो ।नेपालको सुरुवात औसत रहृयो । ओपनरद्वय पारस खड्का र पवन सर्राफले ३४ रनको साझेदारी गरे । पवन मात्र १० रनमा आउट भए । त्यसपछि नेपालले ज्ञानेन्द्र मल्ल र पारसको विकेट गुमायो । मल्ल ७ र खड्का २३ रनमा आउट भए ।
रोहितकुमार पौडेल र शरद भेषावकरले चौथो विकेटका लागि ४६ रनको साझेदारी गरे । रोहित १९ र शरद ४० रनमा आउट भए ।
छैटौं नम्बरमा आएका विनोद भण्डारीले विस्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाए । उनले २५ बलमा तीन चौका र पाँच छक्काको मद्दतमा ५१ रन बनाए । करण केसीले १६ रन जोडे ।
टी-ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्ध शनिबार भएको पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो ।
Comments