Sajhamanch Archive

बैदेशिक रोजगारीको प्रलोभनमा किशोरीहरुलाई भारत छिराउँदै

Published: in समाज by .

कपिलवस्तु । बैदेशिक रोजगारीको प्रलोभनमा पारी बिचौलियाले सोझासाझा किशोरीहरुलाई भारत छिराउने गरेका छन् ।

काठमाडौंबाट सोझै विदेश पठाउने भन्दै उनीहरुले भैरहवा एयरपोर्टमा झार्ने र बसमा चढाई कपिलवस्तुको कृष्णनगरको बाटो हुँदै सीमा नाका कटाउने गरेको कैयौं तथ्य फेला परेका छन् ।

सीमामा पुगेपछि बसबाट उराल्ने र कसैलाई बजार गर्न जाने बहाना बनाई सीमा कटाउने त कसैलाई चोर बाटोको प्रयोग गरी सीमा पार गराउने गरेको रहस्य खुलेको मानव अधिकारका क्षेत्रमा कार्यरत केआई नेपालका संयोजक केशर विश्वकर्माले जानकारी दिए ।

कपिलवस्तुको कृष्णगनरमा सीमा निगरानीका क्रममा केआई नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले सोमबार कृष्णनगर नाकाबाट ३ किशोरीको उद्धार गरेका छन् ।

कृष्णनगरको यात्रु गेटभन्दा पश्चिमपट्टि झण्डेनगरको चोर बाटो हुँदै सीमा पार गर्ने क्रममा टोलीले किशोरीहरुलाई सम्पर्कमा ल्याएको हो ।

सम्पर्कमा ल्याएका किशोरीहरुलाई बेचबिखनबारे परामर्श दिई गहिरो अनुसन्धान गरेपछि रहस्य बाहिर आएको केआई संयोजक विश्वकर्माले बताए । उद्धार गरिएका किशोरीहरु दुई जना इलाम जिल्ला माईनगर नगरपालिकाका हुन् भने एक जना सिन्धुली कलबिचा गाउँपालिकाकी हुन् ।

किशोरीहरुको उद्धारसँगै उनीहरुलाई सीमा कटाउने बिचौलिया समेत पक्राउ परेकी छन् । पक्राउ परेकी विचौलिया काभ्रेपलान्चोक घर भई हाल काठमाडौं बस्दै आएकी गङ्गा परियार रहेकी छन् ।

प्रहरी फन्दामा परेकी बिचौलिया विरुद्ध मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीले जानकारी दिए ।

कसरी पुगे किशोरीहरु सीमा नाका ?

पछिल्लो समय गरीबी, अशिक्षा र बेरोजगारीका कारण हजारौं युवतीहरु बिचौलियाको मायाजालमा परी तेस्रो मुलुकको बहानामा भारतमा पुग्ने गरेका छन् । पक्राउ परेकी बिचौलिया र किशोरीहरुबीच चिनजान हुनुको मुख्य कारण पनि आर्थिक कमजोरी हो । किशोरीहरुको समस्या पहिचान गरी केही महिनाअघि बिचौलिया गंगा किशोरीहरुसँग नजिकिएकी थिइन् ।

रोजगारबाट धेरै पैसा कमाउने सपना बोकेका ती किशोरीहरुलाई विचौलिया गंगा परियारले बिदेशमा मोटो रकम पाइने प्रलोभन देखाइन् । विस्तारै गंगा र किशोरीहरुबीचको सम्बन्ध गाढा बन्दै गयो । एक दिन गंगाले ती किशोरीहरुलाई बिदेश पठाइदिने भनी आफूकहाँ बोलाइन् । गंगाले ती किशोरीहरुलाई नेपालबाटै सोझै विदेश पठाउने आश्वासन देखाएर बोलाइन् ।

दुई दिनसम्म कोठामै राखेर नेपालमा बन्द भएकोले दिल्लीबाट जाने भन्दै गंगाले किशोरीहरुलाई फकाइन् । पहिले इलामका दुई जनालाई बसमा चढाइन् र पछि सिन्धुलीकी किशोरीलाई फोन गरी गंगाले बोलाइन् ।

भिसा आ को छ, बसमा चढ, बिदेश जाने हो भन्दा एकछिन त ती किशोरी पनि अचम्ममा परिन् । पछि उनी पनि बसमा चढिन् । एकसरो कपडा लगाएका ती किशोरीहरुलाई दिल्लीमा गई कपडा किनिदिने गंगाले आश्वासन देखाइन् ।

बाटोमा लागेको सम्पूर्ण खर्च उनै गङ्गाले तिरिन् र बिहान कपिलवस्तुको कृष्णनगर आइपुगे । बसबाट ओर्लिएर सीमा पार गर्ने समयमा गंगाले सिकाएअनुसार किशोरीहरु झण्डेनगरको चोर बाटो हुँदै सीमा पार गर्न थाले । तर सीमा निगरानीमा रहेका केआई नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई शंका लागेर सोधपुछका लागि सम्पर्कमा लिएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *