बाढीपहिरो र डुबानमा परी ६७ जनाको मृत्यु, १ हजार ४ सय ४५ को उद्धार
Published:
by .काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी सोमबार दिउँसोसम्म ६७ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो र डुबानमा परी काठमाडौंमा ३ जना, मकवानपुरमा ६ जना, ललितपुर, रौतहट र भोजपुरमा ५/५ जना, ओखलढुंगा, सिराहा र सिन्धुलीमा ४/४ जना, खोटाङ, धनुषा र काभ्रेमा ३/३ जना, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धादिङ र डोल्पामा २/२ जना तथा ईलाम, पाँचथर, मोरङ, सुनसरी, रामेछाप, चितवन, पाल्पा र दाङमा १/१ जना गरी जम्मा ६७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये २६ जना महिला ४१ जना पुरुष रहेका छन् ।
पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका बाटो प्रहरीले सुचारु गराएको छ । साथै महोत्तरी वर्दिवास नगरपालिका-१ र ४ जोड्ने पूर्व पश्चिम राजमार्गमा रहेको भप्सी खोलामा डाईभर्सन गरेको बाटो पानीको बहाब बढ्न गई सोमबार बिहानबाट अवरोध भएको छ । साथै ललितपुर, मकवानपुर, रामेछाप, मुस्ताङ, मनाङ, ओखलढुङगा, भोजपुर, रौतहट, महोत्तरी, पाल्पा, कालिकोट लगायतका स्थानमा भएको बाटो अवरोध हटाउने कार्य जारी छ ।
अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरू उद्धारमा सक्रिय रूपमा संलग्न रहेका छन् ।
साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।
Comments