Sajhamanch Archive

मेचीनगरमा कालाजारको रोगी फेला, कालाजार प्रभावित क्षेत्रमा औषधि छर्किने अभियान सञ्चालन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, स्वास्थ्य, by .

झापा । झापाको मेचीनगर—१५ मा कालाजारको नयाँ रोगी फेला परेका छन् । वैभव टि स्टेट आसपास स्थानीय ४० वर्षीय कमलेश मर्डीमा कालाजार भेटिएको मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले पुष्टि गरेको छ । मर्डीको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भएको बताइएको छ । यस्ता रोगीको सरकारले निःशुल्क उपचार गर्ने गरेको छ । अस्पताल भर्ना गरी उपचार गर्नुपरेमा ५ हजार रुपैयाँ छुट तथा यातायात खर्च वापत १ हजार रुपैयाँ रोगीले पाउने छन् ।

विहीबार नयाँ रोगी खोज्दैं जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नगरपालिकाका कर्मचारीसहितको टोली त्यसक्षेत्रमा पुगेको छ । शाखा संयोजक शशीकला राईका अनुसार १५ नम्बर वडाका वडाध्यक्ष राजन भट्टराई, कार्यपालिका सदस्य कुसुमकुमारी चौधरीसहित स्वास्थ्यकर्मीको टोली त्यहाँ पुगेर किटनाशक बिषादी छिटकाउ गर्ने तथा अन्य रोगीको खोजपडताल तथा शीघ्र निदान गरी उचित उपचार चेतनामुलक स्वास्थ्य शिक्षाको प्रवन्ध मिलाईएको छ ।

संयोजक राईका अनुसार कालाजार रोग नियन्त्रणका लागि नगरपालिकाले कीटनाशक विषादी छिटकाउ कार्यक्रम सञ्चालन गरेको छ । नगरका कालाजार प्रभावित क्षेत्रमा स्प्रे मेन परिचालन गरि ‘अल्फासाईडफर पाराफोराईड’ नामक औषधि छर्किने अभियान सञ्चालन गरेको नगरपालिकाले जनाएको छ । यसका लागि ६ जना स्प्रे मेन परिचालन गरिएको थियो । शाखा संयोजक राईका अनुसार यो एउटा सरुवारोग जसलाई लिसमेनियासिस पनि भन्ने गरिएको छ । यो रोग संक्रमित पोथीजातको फिलिबोटोमस आरजेन्टिपस सेन्ड फ्लाई भुसुनाको टोकाईबाट सर्ने गर्दछ । भुसुनाहरु करिब ४० जात भन्दा बढि पाइएका छन जस मध्ये फिलिबोटोमस आरजेन्टिपस सेन्ड फ्लाई भुसुना यस रोगको किटाणु रहेको स्वास्थ्यकर्मीहरु बताउछन् ।

यी भुसुनाहरु अति नै गरीव समुदायका झुपडी घरहरुमा, माटो र गोवरले लिपेको भित्ता चर्केको, घुर्घुरेले माटो उठाएको, फोहोर थुपारेको ओसिलो, मुसाले दुलो पारेको, गोवरको गुईठा बनाएर चाङ पारेर राखेको, गाई भसीको गोठ आदिमा बस्ने र त्यही फुल पार्ने उनको भनाई छ । एक पटकमा भुसुनाले ५० देखि १०० वटा सम्म फुल पार्दछ । यो भुसुनो कालो खैरो रङ्गको हुन्छ र भित्तामा बसेर उफ्रेर एक ठाँउबाट अर्को ठाँउमा जाने गर्दछ र बढि भन्दा बढि उफ्रेर यो भुसुना ६ फिट भन्दा माथि जान सक्दैन ।

यो रोगको कारक तत्व लिसमेनिया डोनोभानि नामक प्रोटोजोवा परजीवि हो । यो प्रोटोजोवा आँखाले देख्न नसकिने सुक्ष्म रगतमा पाइने परजीवि हो । कुनै कालाजार रोगी व्यक्तिमा यी परजीविहरु रहेका हुन्छन र पोथि फिलिबोटोमस आरजेन्टिपस सेन्ड फ्लाई भुसुनाले कालाजार रोगी व्यक्ति लाई टोकेर निरोगी व्यक्तिलाई टोक्दा रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ । यो रोगको संक्रमण काल करीव १० दिन देखि २ वर्षको हुने स्वास्थ्यकर्मीहरु बताउँछन् । दुई वा दुई हप्ता भन्दा बढि समयसम्म मन्द ज्वरो आइरहने, अनियमित ज्वरो आउने, खान मन नलाग्ने, दुब्लाउदै जाने, कमजोरी हुने, तौल कम हुने,फियो बढने, कलेजो बढने, रक्तअल्पता हुने, शरिरको रङ्ग फुस्रो देखिने र हात खुट्टा अनुहार र शरीरको छाला कालो हुदै जानु कालाजार रोगका लक्षणहरु रहेको बताउँछन् स्वास्थ्य कार्यालय झापाका भेक्टर कन्ट्रोलर अधिकृत बेदप्रसाद घिमिरे ।

उनले कालाजारका यी लक्षणहरु देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा गएर स्वस्थयकर्मीसँग परामर्श गरी सहि उपचार गर्न समेत स्थानीयलाई आग्रह गरेका छन । वेलैमा उपचार गरे यस रोगबाट बच्न सकिने उनले बताए । यो रोग सबै उमेर समुहका मानिसमा हुन सक्ने भए पनि प्रायः१५ वर्ष माथिका व्यक्तिहरुमा बढि पाइएको छ भने महिलाहरुको अनुपातमा पुरुषहरु यो रोगबाट दोब्बरको संख्यामा पीडित छन् । महिलाहरुले शरीर ढाक्ने गरी कपडा लगाउने र पुरुषले शरीरका धेरै भाग खुला राखेका कारण महिलाको तुलनामा पुरुषको संख्या बढेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यस रोगबाट बच्नको लागि व्यक्ति तथा वातावरणीय सरसफाइ गर्ने, झुलको प्रयोग गर्ने, किटनाशक बिषादी छिटकाउ गर्ने, रोगीको खोजपडताल तथा शीघ्र निदान गरी उचित उपचार गर्ने, स्वास्थ्य शिक्षा दिने आदि जस्ता विभिन्न विधीहरु अवलम्बन गर्न सकिने स्वास्थ्यबिज्ञहरुको भनाई छ । यो रोग लागे पछि उपचार नगरेमा ९० प्रतिशत रोगीको मर्ने सम्भावना हुन्छ । यो रोगका लागि सुइबाट भन्दा पनि मुखबाट सेवन गर्ने औषधी बढी लाभदायक हुने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *