Sajhamanch Archive

ट्रम्पको अभिव्यक्तिले तात्यो भारतीय राजनीति, राहुलले मागे मोदीसँग जवाफ

Published: in विविधा, विश्व समाचार by .

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीको नामै लिएर कश्मिरका बारेमा अभिव्यक्ति दिएपछि भारतीय राजनीति तातेको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँगको भेटका दौरान उनले कश्मिरको विषयमा मोदीले आफूसँग मध्यस्थकर्ताको भूमिका निर्वाहका लागि सहयोग मागेको अभिव्यक्ति दिएपछि भारतको राजनीति एकाएक तातेको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले कश्मिरका विषयमा दिएको अभिव्यक्तिको विरोधमा मंगलबार संसदका दुबै सदनमा विपक्षले नाराबाजी गरेका छन् । उनीहरुले यस विषयमा स्पष्टीकरण दिन प्रधानमन्त्री नरेन्द्र मोदीसँग माग गरेका छन् ।

कांग्रेस नेता राहुल गान्धीले पनि कश्मिरको विषयमा ट्रम्पले दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री मोदीले सत्यतथ्य बताउनुपर्ने माग बताएका छन् ।

उनले ट्विट गर्दै भनेका छन्, “राष्ट्रपति ट्रम्पले पीएम मोदीले आफूसँग भारत र पाकिस्तानको बीचमा कश्मिर मुद्दामा मध्यस्थताका लागि आग्रह गरेको बताएका छन् ।

यदि यो कुरा सत्य हो भने प्रधानमन्त्री मोदीले भारतको हित र १९७२ को शिमला सम्झौतालाई धोका दिएका छन् । कमजोर विदेश मन्त्रालयको अस्वीकारले मात्रै हुँदैन । मोदीले देशलाई ट्रम्पसँगको बैठकमा के कुरा भएको हो भन्ने बारेमा जानकारी दिनुपर्दछ ।”

विपक्षीले संसदमा ट्रम्पको अभिव्यक्तिका बारेमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेपछि विदेशमन्त्री एस जयशंकरले राज्यसभामा प्रधानमन्त्री मोदीले कहिल्यै पनि अमेरिकी राष्ट्रपति ट्रम्पसँग मध्यस्थताका लागि आग्रह नगरेको स्पष्टीकरण दिएका थिए ।

त्यसअघि विदेश मन्त्रालयका प्रवक्ता भी रवीश कुमारले पनि अमेरिकी राष्ट्रपति ट्रम्पको बयानको खण्डन गरेका थिए । उनले कहिल्यै पनि मोदीले कश्मीर मुद्दामा ट्रम्पसँग कुनै पनि प्रकारको सहयोग नमागेको दाबी गरेका थिए ।

(एबीपी न्यूज)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *