बोनम्यारो पीडित दीपाको उपचारमा समस्या
Published:
by .भद्रपुर । भद्रपुर नगरपालिका २ स्थित पृथ्वीनगरकी बासिन्दा दीपा विश्वकर्मा बोनम्यारो (रगत क्यान्सर) बाट पीडित भएपछि आर्थिक अभावले उपचार गर्न समस्यामा परेकी छिन् ।
आर्थिक अवस्था कमजोर भएकी दलित परिवारकी दीपा उपचारमा लाग्ने खर्च परिवारले धान्न नसक्ने भएपछि समस्यामा परेकी हुन् ।
उनी पृथ्वीनगर स्थित ज्ञानसरोवर निकेतन माध्यमिक विद्यालयको कक्षा १२ मा निशुल्क छात्र वृद्धिमा अध्यनरत छिन । विगत ३ महिनादेखि बोनम्यरोबाट पीडित बनेकी उनको हाल धरानस्थित वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको ज्ञान सरोवर निकेतन माविका शिक्षक राजु बरालले जानकारी दिए ।
दीपाको शरीरमा रगतको उत्पादन न्युन हुँदै गएपछि प्रत्येक १५ । १५ दिनमा उनलाई रगतदिने गरिएको छ । उनको सम्पूर्ण उपचारका लागि भारतीय उपचार केन्द्र लानु पर्ने चिकित्सकहरुले सुझाव दिएपछि आर्थिक संकटले उपचार नहुने चिन्ता विश्वकर्मालाई थपिएको छ ।
थप उपचारको लागि २० देखि २५ लाख नेपाली रुपैयासम्म खर्च लाग्ने छ । र आर्थिक अवस्था कमजोर भएकाले सरकारी तथा गैरसरकारी सघंसस्था, राजनीतिकदल, नागरिक समाज, सञ्चारकर्मी लगायत सबैलाई सहयोग गर्न विश्वकर्मा परिवारले आग्रह गरेको छ ।
यसैगरी दीपाको उपचारको लागि पृथ्वीनगरका शिक्षा तथा समाजसेवी शिवकुमार राजभण्डारीको संयोजकत्वमा ९ सदस्यीय आर्थिक सहयोग संकलन समिति गठन गरिएको छ । उनलाई सहयोग गर्नका लागि दीपा बचाऊ आर्थिक संकलन समितिको साना किसान कृषि सहकारी संस्था पृथ्वीनगरको खाता नम्बर ००२००१०६८ (बैक खाता) समेत खोलिएको जनाइएको छ । सो समितिले दीपाको जीवन रक्षाका लागि सहयोग पुर्याउन सबैसँग अनुरोध गरेको छ ।
Comments