Sajhamanch Archive

शरणार्थी सवार पानीजहाज डुब्यो, १५० को मृत्यु भएको आशंका

Published: in राष्ट्रिय समाचार, by .

काठमाडौं । करिब ३ सय शरणार्थी सवार पानीजहाज लिबियाको तटीय क्षेत्रमा डुबेको छ । खचाखच भरिएको पानीजहाज डुब्दा भएको मानवीय क्षतिबारे यकिन तथ्यांक नआइसके पनि कम्तीमा १ सय ५० जनाको ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ ।

संयुक्त राष्ट्र संघीय शरणार्थी नियोगले शरणार्थी सवार पानीजहाज डुबेको उल्लेख गर्दै कम्तीमा १५० जनाको ज्यान गएको हुनसक्ने जनाएको छ ।  यद्यपि, तटरक्षकहरूले अहिलेसम्म १ जनाको मात्रै शव निकालेका छन् ।

जहाजमा डुबेका १५० जनाको उद्धार भएको छ । माछा मारिरहेका तटीय क्षेत्रका स्थानीयले उनीहरूको ज्यान जोगाइदिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

जहाज लिबियाको राजधानी त्रिपोलीबाट १२० किलोमिटरको दूरीमा रहेको एक शहरबाट हिँडेको थियो । बीबीसी हिन्दीका अनुसार, शरणार्थीहरू एक जहाजमा सवार थिए या दुई भन्ने यकिन हुन सकेको छैन ।

गत मेमा ट्युनिसयामा पनि पानीजहाज दुर्घटना भएको थियो । दुर्घटनामा कम्तीमा ६५ मानिसले ज्यान गुमाएका थिए ।

लिबियामा आज भएको पानीजहाज दुर्घटनामा १५० जनाकै मृत्यु भएको पुष्टि भएमा यो यस वर्षको अहिलेसम्मकै सबैभन्दा ठूलो दुर्घटना हुनेछ ।

हजारौं शरणार्थीले हरेक वर्ष भूमध्यसागर पार गर्ने गरेका छन् । यसमा अधिक संख्या लिबियाको शरणार्थीको छ । यस्ता शरणार्थीहरू पुराना जहाजमा खचाखच भरिएर यात्रा गर्ने गरेका छन् । जसका कारण पानीजहाजहरू बारम्बार दुर्घटनामा पर्ने गरेका छन् ।

सन् २०१९ को पहिलो तीन महिनामा करिब १५ हजार ९ सय प्रवासी र शरणार्थी तीन भूमध्यसागरको रुट हुँदै युरोप गएको बताइएको छ । सन् २०१८ को तुलनामा यो १७ प्रतिशतले कम हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *