Sajhamanch Archive

सिरियामा हवाई आक्रमणमा २६ बालबालिकासहित एक सयभन्दा बढीको मृत्यु

Published: in राष्ट्रिय समाचार, विश्व समाचार, समाज by .

काठमाडौं । सिरिया सरकारले पछिल्ला १० दिनमा गरेको आक्रमणमा एक सयभन्दा बढी गैरसैनिकको मृत्यु भएको छ । सरकारी सेनाले अस्पताल, विद्यालय, बजार र बेकरीमा गरेको आक्रमणमा ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको हो ।

संयुक्त राष्ट्र संघकी मानवअधिकार प्रमुख मिचेल बचेलेटले सरकार र रुससहितका उसका साझेदारले गरेको कठोर हमलामा २६ बालबालिकासहित एक सयभन्दा बढीको मृत्यु भएको बताए ।

उनले गैरसैनिक स्थलमा भएका आक्रमणलाई दुर्घटना भन्न नमिल्ने बताए । रुसले भने नागरिक बस्ने ठाउँमा आफूहरुले हवाई आक्रमण नगरेको जनाएको छ । राष्ट्रसंघकी मानव अधिकार प्रमुख मिचेल बचेलेटले स्पष्ट अन्तर्राष्ट्रिय मतभिन्नतालाई त्यस्तो अवस्था सिर्जना हुनुको कारण भएको बताइन् ।

उनले हवाई हमलामा सर्वसाधारण नागरिक पर्नु विश्वका शक्तिशाली राष्ट्रको नेतृत्वको असफलता भएको बताइन् । विद्रोही पकड रहेको इडलिब क्षेत्रमा मृतकको संख्या बढ्नुलाई उनले राष्ट्रसंघीय सुरक्षा परिषद्को निकम्मापन भएको आरोप लगाइन् ।

त्यस्तो हमला गराउनेहरु युद्ध अपराधमा मुछिन सक्ने उनको चेतावनी थियो । सिरिया सरकारले भने अल कायदासँग जोडिएका जिहादीले युद्धविराम उल्लंघन गरेकाले कारबाही गर्नुपरेको जनाएको छ । (एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *