Sajhamanch Archive

परीक्षाका मुखमा परीक्षा केन्द्र परिवर्तनः विद्यार्थी चिन्तित

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

बिर्तामोड । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले विगत १० वर्षदेखि कनकाई आदर्श क्याम्पस बिर्तामोडमा सञ्चालन गर्दै आएको स्नातक तहको परीक्षा केन्द्र यसवर्ष परिवर्तन गरेको छ ।

तीन वर्षे स्नातक तहअन्तरगत असार १५ गतेदेखि हुने दोस्रो वर्षको लागि परीक्षा केन्द्र घटाउने क्रममा कनकाई आदर्श क्याम्पस बिर्तामोडको केन्द्र पनि हटेको हो ।

सो केन्द्रबाट विगत वर्षहरुमा परीक्षा दिँदै आएका ११ वटा क्याम्पसका विद्यार्थीहरु अब कनकाई क्याम्पस सुरुङ्गा जानु पर्ने भएको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले झापा, मोरङ, सुनसरी र उदयपुरका २२ वटा परीक्षा केन्द्रलाई घटाएर १३ वटामा सिमित गर्दा बिर्तामोडको परीक्षा केन्द्र सुरुङ्गा पुगेको बताइएको छ ।

पर्सीदेखि सुरु हुने स्नातक तह दोस्रो वर्षको परीक्षा कनकाई क्याम्पसमा हुने भरखरैमात्र जानकारी पाउँदा विद्यार्थीहरु भने चिन्तित भएका छन् ।

कतिपय विद्यार्थीहरु पहाडीभेगबाट परीक्षा दिन आउनुपर्ने भएकाले डेरा लिएर बस्नुपर्ने समस्या आएको पनि बताइएको छ ।

इलामको गरुवा क्याम्पससहित झापाको घैलाडुब्बा क्याम्पस, शनिश्चरे क्याम्पस, बिर्तामोडका कोहेड कलेज, मनकामना कलेज, एमिटी कलेज, कनकाई आदर्श क्याम्पस, अनारमनी पब्लिक क्याम्पस, निधि क्याम्पसलगायतका विद्यार्थी अब सुरुङ्गा धाउनु पर्ने भएको हो ।

यद्यपी आगामी साउन महिनामा सञ्चालन हुने चार वर्षे बीबीएस कार्यक्रम अन्तरगत दोस्रो वर्ष र चार वर्षे बीएड अन्तरगत दोस्रो वर्षको परीक्षा केन्द्र भने साविक अनुसार कनकाई आदर्श क्याम्पस बिर्तामोडमा नै हुने क्याम्पस प्रमुख सुरेशकुमार चापागाईंले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *