Sajhamanch Archive

नेकपाकै कोही सुन तस्करमा संलग्न देखिए पनि नछोड्नुहोस्ः प्रधानमन्त्री ओली

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौँ । नेपाल कम्युष्टि पार्टी (ने क पा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सुन तस्करविरुद्ध कडा देखिएका छन् । राजनीतिक संरक्षणका आधारमा सुन तस्करहरु उम्किन्छन् कि भन्ने शंका उब्जिरहेका बेला ओलीको कठोर अभिव्यक्ति आएको हो । तस्करीमा संलग्न भएको अभियोगमा केही राजनीति व्यक्ति र राजनीतिक दल निकट व्यापारीहरु पछिल्लो समय पक्राउ परिरहेका छन् ।

सुन तस्करी र सनम शाक्य हत्याको अनुसन्धान गरिरहेको समितिलाई निर्देशन दिदै ओलीले तस्करीमा नेकपाका जो कसैको पनि संलग्नता देखिए कारवाही गर्न भनेका छन् । ‘यो नेकपाको मान्छे, सत्ता पक्षको मान्छे वा फलानो नेताको नजिकको मान्छे भनेर कसैलाई नछोड्नुहोस’, समितिका पदाधिकारीलाई ओलीले भने, ‘तस्करीमा ज–जसको संलग्नता देखिन्छ कारवाही गरेरै छाड्नुस् । सरकारले पूर्ण रुपले साथ दिन्छ ।’ उनले समितिलाई आवश्यक सहयोग गर्न राज्यका सबै संयन्त्र तयार रहेकाले अनुसन्धानलाई प्रमाणमुखी बनाउन समेत निर्देशन दिएका छन् ।

गृह सहसचिव ईश्वरराज पौडेल संयोजकत्वको सुन तस्करी तथा सनम शाक्य हत्या छानवीन टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही र रणनीतिबारे एक घन्टा लामो ब्रिफिङ गरेको थियो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृहसचिव प्रेमकुमार राईको उपस्थतिमा टोलीले सोमबार बालुवाटारमा प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरेको थियो । ब्रिफिङ सुनेपछि ओलीले त्यस्तो निर्देशन दिएका हुन् ।

स्रोतकाअनुसार पछिल्लो समय पक्राउ परेको बिमल पोद्दार र उनका व्यवसायिक साझेदार अर्का एक जना व्यापारी र पवन सरियाका विषयमा टोलीले प्रधानमन्त्रीलाई जानकारी गराएको छ । पोद्दारले बयानमा सुन तस्करी गरेको स्वीकारेको समेत टोलीले प्रधानमन्त्रीलाई जानकारी दिएको छ । ‘मान्छे पक्राउ गरेर अदालतले छोड्ने वातावरण नहोस्, प्रमाणमा ध्यान दिनुहोस् । प्रमाण पुग्छ भने कसैलाई सहुलियतमा राख्नुपर्ने आवश्यकता छैन’, ओलीले समितिलाई भने ।

सरकारले २० चैत २०७४ को मन्त्रिपरिषद् बैठकबाट सहसचिव पौडेलको नेतृत्वमा अनुसन्धान तथा कारवाहीका लागि टोली बनाएको थियो । टोलीले हालसम्म ४३ जना आरोपीलाई पक्राउ गरी कारवाही अघि बढाएको छ । पछिल्लो समय अनुसन्धान समितिलाई असार मसान्तसम्मको समयसीमा तोकिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *