Sajhamanch Archive

हाम्रो नेपाल प्रदेशकै उत्कृष्ट १० मा !

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by .

झापा । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था मंगलबारदेखि ८औं वर्षमा प्रवेश गरेको छ । सात वर्षे सञ्चालन अवधिमा सो संस्था प्रदेश १ का सहकारीमाझ उत्कृष्ट सूचीको १०औं मध्येमा पर्न सफल भएको सो अवसरमा जनाइएको छ । झापामा सञ्चालित सहकारीमध्ये छोटो समयमा प्रगति गरेको हाम्रो नेपाल प्रदेश कै गणनामा पर्ने सहकारी बन्न सकेको झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले खुशी व्यक्त गरे ।

सातौं स्थापना दिवस कार्यक्रमका प्रमुख अतिथि रहेका जिल्ला संघका अध्यक्ष ढकालले कार्ययोजना र नीति अनुरुप चले प्रगति गर्न समय नलाग्ने उदाहरण हाम्रो नेपालले पेस गरेको बताए । स्थापना दिवसमा सहकारीले आयोजना गरेको अन्तरसंवाद तथा शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष ढकालले हाम्रो नेपालको गति अरुका लागि पनि पाठ हुने बताए । उनले बचत वृद्धि र सदस्यको हितमा केन्द्रित हुन सञ्चालकलाई सुझावसमेत दिए ।

संस्थाका अध्यक्ष भवानीप्रसाद दङ्गालले संस्थाको वर्तमान अवस्था र भावी योजनाका बारेमा प्रष्ट्याएको कार्यक्रममा सल्लाहकार संयोजक भगिरथ आले ‘मामा’, लेखा संयोजक कृष्णराज कट्वाल, उपाध्यक्ष पृथ्वी ओली, सचिव बीपी लामिछाने लगायतले बोलेका थिए ।

सात वर्ष अघि ३७ जना मिलेर १७ लाख रुपैयाँबाट सुरु गरेको संस्थामा गत असार मसान्तमा ५ करोड २२ लाख रुपैयाँ शेयर पूँजी रहेको संस्थाका संचालक सदस्य राजेन्द्र गौतमले बताएका छन् । २५ करोड रुपैयाँ बचत रहेको सो सहकारीको ऋण लगानी ३३ करोड रुपैयाँभन्दा बढी रहेको छ । ५ हजार ९४६ जना सेयर सदस्य रहेको उक्त सहकारीको कार्यक्षेत्र झापाभर रहेको छ भने ८० जना कर्मचारी कार्यरत छन् ।

बिर्तामोडमा मुख्य र शाखा कार्यालयसमेत रहेको हाम्रो नेपालको राजगढ, सुरुङ्गा, चन्द्रगढी, मंगलबारे, झिलझिले, बुधबारे र चारआलीमा सेवाकेन्द्र सञ्चालनमा रहेका सदस्य गौतमले जानकारी दिए । हाम्रो नेपालले धुलाबारी, ईंटाभट्टा, लक्ष्मीपुर, शनिश्चरे र दमकमा सेवा केन्द्र सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको छ । संस्थाले चालू आर्थिक वर्षभित्र १० हजार शेयर सदस्य बनाउने लक्ष्य राखेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *