Sajhamanch Archive

विरामी नआएका कारण निःशुल्क शल्यक्रिया अन्तर्गतको दुईलाख बढी रकम फ्रिज

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by .

मेचीनगर । सरकारले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत पाठेघर (आङ खस्ने) रोगीहरूका लागि ल्याएको निःशुल्क शल्यक्रिया अन्तर्गतको दुईलाख बढी रकम फ्रिज भएको छ ।

सरकारले स्वास्थ्यकेन्द्रमा यसको निःशुल्क शल्यक्रिया तथा औषधीको व्यवस्था गरेको छ । शल्यक्रिया गरेका र बिरामीका कुरुवालाई समेत सरकारले निःशुल्क खानपिनको व्यवस्था गरेको छ । सरकारले पाठेघर खस्ने महिलाहरूलाई लक्षित गरी ल्याएको कार्यक्रम भए पनि रोगी नआउँदा रकम फ्रिजभएको अस्पतालको भनाई छ ।

गत आर्थिक वर्ष २०७५÷ २०७६ का लागि नेपाल सरकारले मेची अञ्चल अस्पताल भद्रपुरलाई ५० वटा केसकालागि ६ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरेको भएपनि २ लाख ७५ हजार रुपैयाँ फ्रिज भएको अस्पतालका मेडिकल रेकर्ड अधिकृत मनोजकुमार पोखरेलले जानकारी दिए ।

उनका अनुसार नेपाल सरकारले पाठेघर (आङ खस्ने) ५० जना रोगीहरूकालागि प्रतिव्यक्ति १२ हजार ५ सय रुपैयाँका दरले ६ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, सेवाग्राही नआएका कारण लाखौँ रुपैयाँ फ्रिज भएको हो । एकवर्षे अवधिमा अस्पतालमा २८ जनाले मात्र यो सुविधा लिएका छन् । सो वापत ३ लाख ५० हजार रुपैयाँमात्र खर्च भएको पोखरेलको भनाई छ ।

सरकारले अस्पताललाई प्रति केश १२ हजार तथा रोगीलाई यातायात खर्च भनेर ५ सय रुपैयाँ दिने गरेको छ । अघिल्ला केही आर्थिक वर्षमा अस्पतालमा बेहोस गर्ने (एनेस्थेसिया) चिकित्सक नहुँदा यो सेवा निष्प्रभावी बनेको थियो । तर, पछिल्लो समय उपचारकालागि अस्पतालमा आउने यसका रोगीहरुले नियमित सेवा पाएको पोखरेलको भनाई छ । बेहोस गर्ने डाक्टर नभएपछि मेची अञ्चल अस्पतालले रिङ पेसरी लगाएर पठाउने गरेको थियो । यो प्रयोग गरेपछि तल्लो पेटको दुखाइ कम हुने र हिँडडुल गर्न केही सहज हुने चिकित्सकको भनाइ छ । तर पेसरी तिन तिन महिनामा फेरिरहनु पर्ने चिकित्सकहरू बताउँछन् ।

शुरु शुरुमा अस्पतालमा बेहोस गर्ने (एनेस्थेसिया) चिकित्सक नहुँदा यो रकम फ्रिज हुने भएपनि वितेको आर्थिक वर्षमा विरामी नै उपचारका लागि नआएपछि रकम फ्रिज भएको उनले बताए । पाठेघरको समस्या भएका धरै महिला समाजमा हल्ला हुने र तिरस्कृत भइने डरले पनि खुलेरै उपचारका लागि नआउने गरेको मेची अञ्चल अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पिताम्बर ठाकुर बताउँछन् ।

झापा जिल्लाका दुर्गम ग्रामीण क्षेत्रमा पाठेघर खस्ने समस्या देखिएका अधिकांश महिलाहरूको अवस्था कहाली लाग्दोे रहेको स्वास्थ्य कर्मीहरूको भनाइ छ । उनीहरूले स्वयम् रोग लुकाउने गरेकाले यस्तो अवस्था सिर्जना भएको चिकित्सकहरु बताउँछन् । विभिन्न स्वास्थ्य केन्द्रका अनुसार जिल्लाका सय महिलामध्ये ६ देखि १० जनामा पाठेघर खस्ने समस्या देखिएको छ । तराईका जिल्लाभन्दा पूर्वी पहाडी जिल्लाका अधिकांश महिलाहरू यसबाट पीडित बन्ने गरेको डाक्टर ठाकुरको भनाइ छ ।

४० वर्षभन्दा माथिका अधिकांश महिलामा पाठेघर खस्ने समस्या देखिएको छ । अघिल्ला वर्षको अभिलेख अनुसार जिल्लाका प्रत्येक पालिकामा१५ देखि २० जना यस्ता महिला रहेका छन् । पाठेघर खसेको पहिचान भए समाजबाटै अपहेलित हुने डरले उनीहरु खुलेरै आफ्नो समस्याका बारेमा बोल्न सक्ने गरेका छैनन् । कम उमेरमै बच्चा जन्माउने समस्या, बाल विवाह, आहार विहार, सुत्केरी अवस्थामा गह्रुँगो भारी भोक्नु जस्ता कारण पाठेघर खस्ने कारण हुने चिकित्सकहरूको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *