निखिलको ‘आयो भैरव’
Published: (Updated: )
by .नेपाली फिल्मका ‘ट्रेन्ड सेटर’ निखिल उप्रेती करीब ४ वर्षपछि पुनः फिल्म निर्देशनमा हात हाल्दैछन् । अभिनेत्री सञ्चिता लुईंटेलसँग दोस्रो विवाह गरेपछि उनले ५ वर्षपछि फिल्म ‘भैरव’ मार्फत् नेपाली फिल्ममा कमब्याक गरेका थिए, जसमा उनको अभिनय, निर्देशन र निर्माण थियो । यो फिल्मले बक्सअफिसमा जबरजस्त व्यापार गर्दै उनको कमब्याक सफल तुल्याएको थियो । तर, ‘भैरव’ पछि उनका कुनै फिल्म सफल भएका छैनन् ।
पैसामुखी भएको आरोप खेप्दै आएका उनी अहिले आफ्नो कमब्याक फिल्मको सिक्वेल निर्माणको तयारीमा छन् । फिल्मको नाम ‘आयो भैरव’ जुराइएको छ । लामो समयदेखि उनी आफैं फिल्मको कथा लेखिरहेका छन् । फिल्ममा उनी स्वयं प्रमुख भूमिकामा देखिनेछन् । भने, केही अन्य चलेका कलाकारहरुलाई पनि राख्ने तयारीमा निखिल छन् । सम्भवतः फिल्ममा उनको अपोजिटमा अभिनेत्री सञ्चिता लुईंटेल देखिनेछन् ।
यसअघि दुईले मर्यादा र माया त माया हो फिल्ममा स्क्रिन साझेदारी गरेका थिए । माया त माया हो को सेटबाट दुईबीच प्रेम अंकुराएको थियो । विवाहपछि निखिल र सञ्चिताले सँगै फिल्ममा काम गरेका छैनन् । छुट्टा छुट्टै गरिरहेका छन् । दर्शक भने दुईलाई फेरि स्क्रिनमा हेर्न निकै आतुर छन् । हालै एक कार्यक्रममा अभिनेत्री लुईंटेलले ‘आयो भैरव’ मा आफू हुने वा नहुने भन्ने कुरा केही दिनमा थाहा हुने बताएकी थिइन् ।
प्राप्त जानकारी अनुसार, यस फिल्ममा अभिनेता सौगात मल्लको पनि प्रवेश हुनसक्ने सम्भावना बलियो छ । निखिलसँग उनको केही दिनयता फिल्मको विषयमा लगातार छलफल चलिरहेको छ । उनले फिल्मको फाइनल स्क्रिप्ट मागेको स्रोत बताउँछ । फिल्ममा सौगात भित्रिएको खण्डमा ‘आयो भैरव’ मा कलाकारको लाइनअप बलियो हुनेछ ।
Comments