Sajhamanch Archive

मकवानपुरका पत्रकारलाई युएईबासीको सम्मान, अशोक दर्जीको घर निर्माण गर्न आर्थिक सहयोग हस्तान्तरण

Published: in परदेश (प्रवास), by .

युएई । मकवानपुरलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्ने पेशाकर्मी र पेशागत गरिमालाई उच्च पार्ने उद्देश्यले न्यू मिडिया एकेडेमी प्रालिले शुक्रबार दुबईमा ‘हेटौंडा जर्नालिजम अवार्ड’ कार्यक्रम सम्पन्न भएको छ ।

युएईका लागि नेपाली दूतावासका कार्यबाहक राजदूत सागर फुँयालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमा विभिन्न ८ विधामा मकवानपुरे पत्रकारहरुलाई अवार्ड प्रदान गरिएको हो ।

२०७४ सालभर गरिएको पत्रकारितालाई आधार मानेर राममणि दाहाल, दीपक अधिकारी र रुपेश दुलाल सम्मिलित तीन सदस्यीय जुरीले पुरस्कृत हुने व्यक्तिहरुको चयन गरेको थियो ।

पुरष्कृत हुनेहरुमा उत्कृष्ट सम्पादक वर्ष अवार्डतर्फ नयाँ प्रकाश साप्ताहिकका सम्पादक नवराज शर्मा, उत्कृष्ट पत्रकारिता वर्ष अवार्डतर्फ गणेश दर्पण अधिकारी, खोजी तथा चुनौतिपूर्ण पत्रकारिता वर्ष अवार्डतर्फ शिवकुमार रिजाल काशी पुरष्कृत भएका छन् ।

यसैगरी वर्षभरि रेडियो तथा टेलिभिजनमा समाचार तथा सूचनामूलक कार्यक्रम प्रस्तुतकर्तालाई दिइने प्रस्तोता वर्ष अवार्ड तर्फ पोष्टराज अधिकारी कुमार, सामाजिक पत्रकारिता वर्ष अवार्ड तर्फ सुवास बिडारी पुरष्कृत भए ।

यसैगरी संचार उद्यमी वर्ष अवार्डतर्फ हेटौंडा सन्देश राष्ट्रिय दैनिकका प्रकाशक माधव न्यौपाने, चलचित्र पत्रकारिता वर्ष अवार्डतर्फ कृष्ण सारु मगर तथा बजार व्यवस्थापक वर्ष अवार्ड तर्फ गोकुल अधिकारीलाई पुरष्कार प्रदान गरिएको हो ।

सोही अवसरमा तुखबर अनलाइनका प्रधान सम्पादक गिरिजाप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ युएई शाखा, हेटौंडाका व्यवसायी विद्युत बज्राचार्य तथा उत्सव इटेनीलाई सम्मान गरियो ।

अवार्ड कार्यकमकै क्रममा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालबाट आएका संगीतकार तथा गायक टंक बुढाथोकी, बाल गायक अशोक दर्जी, अञ्जन दाहालले आफ्ना प्रस्तुति मार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरे ।

युएईमा नै रहेका नेपाली कलाकारहरु पारस लामा, दीपक गुरुङ, रेविका थापा मगर, ॠषिलाल श्रेष्ठलगायतले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

बाल गायक अशोक दर्जीलाई आर्थिक सहयोग

यसैबीच, स्थानीय आयोजकले २६ जुन मंगलबार दुबईमा एक पत्रकार सम्मेलन गरी कार्यक्रमको सम्पूर्ण आय–व्यय सार्वजनिक गरेको छ । सोही अवसरमा अवार्ड आयोजकको तर्फबाट बाल गायक अशोक दर्जीको घर निर्माणका लागि ७ हजार २४७ दिराम (करिव २ लाख १५ हजार नेपाली रुपैयाँ) आर्थिक सहयोग गर्ने स्थानीय आयोजक मध्येका संयोजक समिम खानले जानकारी दिए ।

पत्रकारिता अवार्ड कार्यक्रमा सहभागी हुन युएई आएका गायक तथा संगीतकार टंक बुढाथोकीले अशोक दर्जीको घर निर्माणका लागि शुभचिन्तकहरुको पहलमा हालसम्म झण्डै १ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग जुटेको बताए ।

यसैगरी झापाली समाज युएईले कलाकारहरुलाई सम्मान गर्दै केही रकम संकलन गरिसकेको र गायक पारस लामाको पहलमा युएईबाट सहयोग संकलन अभियान जारी रहेको जानकारी दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *