Sajhamanch Archive

काँकरभिट्टामा बैंकको शाखा खोल्ने होड

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by .

काँकरभिट्टा । व्यवसायिक रुपमा फड्को मारिरहेको पूर्वी नाका मेचीनगरमा बैंकको शाखा खोल्ने होड नै चलेको छ । कारोबारको आकार बढ्दै जाँदा सहरमा बैंकको संख्या पनि बढ्दै गएको हो । यसले ग्राहकलाई पनि छनोटको विकल्प दिएको छ ।

अहिले नगरको मुख्य केन्द्रविन्दु काँकरभिट्टा, धुलावारी चारआलीलगायत बजारका अधिकांश भवनमा बैकका शाखा छन् । देशमै नाम चलेका र ख्याती कमाइसकेका बैकका शाखा काँकरभिट्टाको झण्डै आधा किलोमिटरको वरिपरी रहेका छन् । सनराइज ,कन्काई विकास, एक्सेल, प्रभु , एनआइसि एशिया, माछापुच्छ्रे, सिद्घार्थ बैंकका शाखा सञ्चालनमा छन । निकट भविष्यमा अन्य बैंकले समेत शाखा विस्तार गर्ने तयारी गरिरहेका छन् । यी बैंकसँगै सरकारी स्वमित्वको नेपाल बैक आधा किलोमिटर दुरीभित्रै रहेका छन् । प्रायः सवै बैकमा वचत गर्ने र चेक साट्नेको उस्तै भीड लाग्छ । एटिएमको व्यवस्था भएर पनि उद्योगी व्यवसायीहरुलाई सहज भएको छ ।

स्थानीयको आयमा बृद्धि भएकै कारण कनकाई विकास बैकले पनि लामो समयदेखि यहीँ बसेर सेवा प्रदान गरिरहेको छ । दैनिक डेढदेखि दुई सयजनाको भीड लाग्ने बैक भारतसँग सीमा जोडिएको काँकरभिट्टामा शाखा विस्तार गर्दा धेरै कुरा सहज हुने भएकाले तत्काल शाखा विस्तार गरेको त्यहाँका अधिकारीहरु बताउँछन् । यहाँका धेरै मानिस आर्थिकरुपमा सम्पन्न छन् त्यसैलाई हेरेर पनि तेस्रो शाखाको रुपमा काँकरभिट्टामा कनकाइको शाखा सञ्चालनमा आएको हो । काँकरभिट्टाको भविष्य राम्रो छ यहाँका अधिकांश मानिस केहि न केहि व्यवसायमा संलग्न छन् । बैंकले गरेको लगानी डुब्ने कुनै सम्भावना छैन् । कृषिक्षेत्रमा लगानी गर्ने बैकको उद्देश्य अनुरुप पनि काँकरभिट्टाका धेरै मानिस कृषि कार्यमा संलग्न छन् । काँकरभिट्टा शाखाले एवीवीएसलाई समेत सपोट गर्ने गरेको छ ।

मेचीनगरमा विभिन्न बैकको शाखा खोल्ने होडवाजी चलिरहेका बखत काठमाण्डौको बबरमहलमा प्रधान कार्यालय रहेको प्रभु बैंकले समेत १६ औं शाखाकोरुपमा काँकरभिट्टामा शाखा विस्तार गरेर बैकिङ कारोवार गरिरहेको शाखा प्रबन्धक प्रसन्न तुलाधरले जानकारी दिए । बैंकमा दैनिक दुईदेखि अढाईसयसम्म सेवाग्राही सेवा लिन आउन थालेका छन् । बैंकमा क्रेडिट कार्डको व्यवस्था छ । काँकरभिट्टामा वित्तिय कारोवारको अवस्था राम्रो भएकै कारण निजी बैंकहरुको ध्यान मेचीनगरमा छ ।

मेचीनगरमा सरकारी स्वमित्व रहेको नेपाल बैंक पनि छ । सहकारीका क्षेत्रबाट सञ्चालित वित्तिय संस्थाहरु पनि नगरमा धेरै छन् । विगतमा मुख्य बजार र विभिन्न नामले चिनीने क्षेत्र अहिले बैक र सहकारीका नामले चिनिन थालेका छन् । पछिल्लो समय नगरका उद्योगी व्यवसायी पलायन हुने अवस्था बन्द भएको र लगानीमैत्री वातावरण भएकै कारण नगरमा बैक र सहकारी संस्थाहरु धमाधम स्थापना भइरहेका छन् । स्थानीय भने धेरै वित्तिय संस्थाले एउटै ठाउँलाई बैकको शाखाका रुपमा केन्द्रविन्दु बनाउनु भन्दा गाउँगाउँमा स्थापना भए त्यस्ता संस्थामा सबैको पहुँज पुग्ने बताउँछन् ।

वित्तिय संस्था स्थापना हुनु राम्रो पक्ष भएको बताउँछन्, मेची उद्योग बाणिज्य संघ मेचीनगरका अध्यक्ष विजय डालमिया । तर एक्कै ठाउँमा आवश्यकताभन्दा बढी वित्तिय संस्था सञ्चालन हुँदा ग्रामीण क्षेत्रका बासिन्दा बैकको पहुँजभन्दा टाढा पुग्न सक्छन् । वित्तिय कारोवारको सुविधा नभएको तथा बैकको आवश्यकता भए ठाउँमा यस्ता वित्तिय संस्था स्थापना गर्नुपर्ने उनको सुझाब छ । विशेष गरी मेचीनगर भारतसँग सीमा जोडिएको नाका भएका कारण पनि यहाँ बंैकको शाखा खोल्ने होडवाजी चलेको स्थानीयको भनाई छ । स्थानीय भन्छन्, शहरमै झुरुप्प बैंकहरु खोल्नुभन्दा गाउँगाउँमा पुगे सबैले बैकिङ सुविधा पाउने थिए । ’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *