Sajhamanch Archive

प्रदेश नं. एकको नाम सभ्यता र पहिचानलाई आधार मानेर राख्नुपर्ने मधेसबादी नेताहरुको जोड

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

बिर्तामोड । झापाका मधेसवादी दलका नेताहरुले प्रदेश नं. १ को नामाकरण प्रदेशबासीको इतिहास, भूगोल, संस्कृति, सभ्यता र पहिचानलाई आधार मानेर सबैको भावनाको सम्मान हुनेगरी सहमतीय प्रणालीबाट गर्नुपर्नेमा जोड दिएका छन् ।

संवाद समूह झापाको संयोजनमा बिर्तामोडमा भएको छलफलमा सहभागी मधेसवादी दलका नेताहरुले प्रदेश सरकारले पहिचान पक्षधर नेताहरुसँग संवाद मार्फत सहमतिका आधारमा साझा धारणा तयार गरी सहमतिबाट प्रदेशको नामांकन गर्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा समाजवादी पार्टी नेपालका झापा अध्यक्ष दिपेनवाला राईले प्रदेश नं. १ को नामाकरण गर्दा पहिचानलाई आधार मानेर गर्नुपर्ने बताए । उनले प्रदेश नं. १ को नाम ‘किरात’ वा ‘किरात–लिम्बुवान–कोचिला’ राख्दा राम्रो हुने बताए ।

त्यस्तै समाजवादी पार्टी नेपालकी झापा उपाध्यक्ष संगीता रौनियारले प्रदेश नं. १ को नाम ‘कोच–किरात’ वा ‘विराट–कोच’ राख्दा सबैको भावना समेट्ने बताइन् । उनले पहिचानलाई आधार मानेर प्रदेश नं. १ को नाम ‘कोसेली’ राख्दा उपयुक्त हुने बताइन् ।

त्यस्तै समाजवादी पार्टी नेपाल लिम्बुवान प्रदेश समिति सदस्य विक्रम लिम्बूले प्रदेश नं. १ को नामाकरण गर्दा हिमाल पहाड तराईलाई समेटिने गरी ‘किरात’ राख्नुपर्ने बताए । कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष विश्वनाथ सिंह राजवंशीले प्रदेश नं. १ को नामाकरण गर्दा आदिवासी जनजाति लगायत सबैलाई समेटिनेगरी ‘मोरङ’ वा ‘विराट’ राख्नुपर्ने बताए ।

त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सदस्य त्रिनारायण राजवंशीले कोच, किरात, लिम्बुवानलाई समेटिने गरी ‘कोचिला–किरात–लिम्बुवान’ राख्नुपर्ने बताए ।

त्यस्तै राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डल झापा संयोजक देवेन्द्रकिशोर ढुङगानाले प्रदेश नं. १ को नामाकरण गर्दा ‘पूर्वाञ्चल–किरात’ राख्नुपर्ने बताए । उनले जाति र समुदायलाई संवैधानिक व्यवस्था बमोजिम विशेष, संरक्षित क्षेत्र निर्धारण गरेर अधिकार दिनुपर्ने बताए ।

त्यस्तै राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डल सदस्य सूर्यनारायण गणेशले प्रदेश नं. १ को नामाकरण गर्दा आदिवासी जनजाति लगायतको भावना समेटिने गरी ‘मोरङ’ वा ‘विराट’ राख्नुपर्ने बताए । त्यस्तै राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डल सदस्य अनुतसिंह राजवंशीले प्रदेश नं. १ को नामाकरण गर्दा ‘पूर्वाञ्चल–किरात’ राख्नुपर्ने बताए ।

राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डल सदस्य राजकुमार महतोले पहिचानलाई आधार मानेर प्रदेश नं. १ को नामाकरण गर्नुपर्ने बताए । राष्ट्रिय जनता पार्टी नेपालका सुन्दरलाल साहले प्रदेश नं. १ को नामाकरण गर्दा ‘विराट’ राख्नुपर्ने बताए भने राष्ट्रिय जनता पार्टी नेपालका शंकर मेचेले प्रदेश नं. १ को नामाकरण गर्दा ‘मोरङ’ वा ‘किरात’ राख्नुपर्ने बताए ।

कार्यक्रममा उनीहरुले संविधानको सबै नेपाली जनताले अपनत्व ग्रहण गर्न सक्ने गरी वर्तमान संविधानको संशोधन गरी १ नं. प्रदेशबासीको इतिहास, भूगोल, संस्कृति, सभ्यता र पहिचानलाई आधार मानेर यस क्षेत्रका आदिवासी जनजाति लगायत सबैको भावनाको सम्मान हुनेगरी राष्ट्रिय एकता मजबुत हुनेगरी सहमतीय प्रणालीबाट प्रदेशको नामकरण गर्नुपर्ने निष्कर्ष समेत निकालेका छन् । छलफलको सहजीकरण संवाद समूह झापाका सचिवालय सदस्य अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *