Sajhamanch Archive

पाथीभरा गोल्डकपको तयारी तिव्र

Published: in खेलकुद, प्रदेश तह, राष्ट्रिय समाचार by .

ताप्लेजुङ । सदरमुकाम फुङलिङमा सञ्चालन हुन लागेको चौथो संस्करणको पाथीभरा गोल्डकपको तीव्र तयारी भइरहेको छ।

साउन ३० देखि भदौ ६ सम्म सञ्चालन हुने प्रतियोगितामा दर्शकका लागि बाँसको प्याराफिट निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। सात हजार दर्शक अटाउन सक्ने क्षमताको प्याराफिट निर्माण भैरहेको आयोजक लाखेजात्रा सञ्चालन समितिका सचिव लक्ष्मी काफ्लेले जानकारी दिए।

मैदानमा पक्की प्याराफिट नभएपछि बाँसको प्यारापिट निर्माण गर्नुपरेको छ। मैदानको एकतर्फ स्थायी प्याराफिट भए पनि अन्य भागमा बर्सेनि बाँसको प्याराफिट निर्माण गर्नुपर्ने बाध्यता छ। श्रमिक र बाँसको मूल्य पनि बढ्दै गएकाले प्रतियोगिता सञ्चालन बोझिलो भएको आयोजकको भनाइ छ। जसका कारण हरेक वर्ष प्याराफिट व्यवस्थापनमा हम्मे पर्ने गरेको छ।

यसवर्ष करिव सात लाख रुपैयाँ खर्चेर प्याराफिट निर्माण गरिने सचिव काफ्लेले जानकारी दिए। प्याराफिट निर्माणका लागि दुई हजार घना बाँस आवश्यक पर्दछ। एक पटक प्रयोग भएको बाँस अर्को पटक काम नलाग्ने हुँदा बर्सेनि ठूलो रकम खर्च हुने गरेको छ। प्रतियोगिता सकिएपछि लाखौं खर्चेर किनेको बाँस कौडीको मूल्यमा बेच्ने गरेको आयोजकको भनाइ छ। यसवर्ष दर्शक धेरै अटाउनका लागि १० लेनको अस्थायी प्याराफिट निर्माण गरिएको छ।

यस संस्करणमा नेपाल र भारतका गरी १० टिमको सहभागिता रहने आयोजकले जनाएको छ। भारतको रोयल फुटबल क्लबसहित बेलबारी फुटबल क्लब, एलाभेन एरोज क्लब सुनसरी, डाँगीहाट फुटबल क्लब मोरङ, गोर्खा स्पोर्टिङ क्लब झापा, रेडस्टार क्लब झापा, रेडहर्ष क्लब इलाम, फिदिम स्पोर्टिङ क्लब पाँचथर र घरेलु दुई टिम प्रतियोगितामा सहभागी हुने भएको आयोजक समितिका अध्यक्ष नारायण थापाले जानकारी दिए।
थाहा खबर बाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *