Sajhamanch Archive

अन्योलमा ‘दासढुंगा २’ !

Published: (Updated: ) in टिप्स/जानकारी by .

फिल्म निर्माण गर्नु अगाडि चलचित्र विकास बोर्डमा दर्ता गर्नुपर्ने प्रावधान छ । बोर्डमा दर्ता नगरि फिल्म निर्माण र रिलिज गर्न पाइँदैन । यसको मारमा फिल्म ‘दासढुंगा २’ परेको छ । निर्माण घोषणा भइसकेको यो फिल्म बोर्डले दर्ता गर्न मानेको छैन । तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय दासढुंगा दुर्घटनामा आधारित भएर बन्न लागेका कारण फिल्म दर्ता हुन नसकेको हो ।
बोर्डले निर्माण अनुमति दिन आनाकानी गर्दा फिल्म निर्माण प्रक्रियामा अवरोध सृजना भएको छ । फिल्म निर्माण हुने वा नहुनेमै अन्योलता छाएको छ । चलचित्र विकास बोर्डले फिल्मको स्क्रिप्ट राय–सुझावका लागि मदन भण्डारी स्मृति प्रतिष्ठानमा पठाएको जानकारी प्राप्त छ । बोर्ड अहिले प्रतिष्ठानको जवाफको प्रतिक्षामा छ । राष्ट्रपति विद्यादेवी भण्डारी संरक्षक रहेको उक्त प्रतिष्ठानले फिल्म बनाउन अनुमति दिने सम्भावना न्यून रहेको स्रोत बताउँछ ।
कुमार भट्टराईले निर्देशन गर्न लागेको ‘दासढुंगा २’ ले दासढुंगा काण्डपछि त्यसको प्रत्यक्ष असर पारेका क्षेत्रको कथालाई उठाउने बताइएको छ । तर, बोर्डले निर्माण इजाजत नदिँदा फिल्म निर्माण अन्योलमा परेको छ । फिल्म निर्माण अगावै सेन्सर हुनु अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यले हस्तक्षेप गरेको निर्देशक भट्टराईको गुनासो छ । उनले बोर्डलाई निर्माण इजाजत दिने वा नदिने विषयमा प्रष्ट जवाफ दिन आग्रह गरेका छन् ।
फिल्मको निर्माण अपिल विष्ट गर्दैछन् । यो फिल्मको पहिलो श्रृृंखला सन् २०१० मा प्रदर्शनमा आएको थियो, जसलाई मनोज पण्डितले निर्देशन गरेका थिए । ‘दासढुंगा २’ ले अघिल्लो संस्करणमा छुटेको कथा बोक्ने निर्माण पक्षले बताएको छ । फिल्मले दासढुंगा हत्या हो कि दुर्घटना हो ? भन्ने प्रश्नलाई धेरै हदसम्म चिरफार गर्ने निर्माता विष्टको भनाई छ । चाप्टर २ मा ‘दासढुंगा’ का केही कलाकारहरु पनि दोहोरिनेछन् । भने, केही नयाँको प्रवेश हुनेछ ।
२०५० जेठ ३ गते दासढुंगामा मदन भण्डारी र जीवराज आश्रतिको जिप दुर्घटनामा मृत्यु भएको थियो । त्यसयता सरकारी र नागरिक स्तरमा अनेक छानबिन आयोग बने पनि सत्य बाहिर आउन सकेको छैन । जिप चालक अमर लामाको २०६० असार ११ गते कीर्तिपुरमा रहस्यमय हत्या भएपछि दासढुंगा घटना झन् रहस्यमय बन्यो । दुर्घटनामा जिप चालक जिवित रहनु र पछि उनको हत्या हुनुले दुर्घटनालाई रहस्यमय बनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *