Sajhamanch Archive

’जाइरा’ ले सोलो रिलिजको फाइदा उठाउला

Published: in टिप्स/जानकारी by .

अहिले कुनै नेपाली फिल्मले सोलो रिलिजको अवसर पाउनु भनेको चिट्ठै पर्नु बराबर हो । वर्षमा ५२ हप्ता हुन्छ । तर, वर्षेनी सयको आसपासमा फिल्म प्रदर्शन हुने गरेका छन् । जसले गर्दा एकाध फिल्मबाहेक अरुले सोलो रिलिज पाउँदैनन् । हरेक हप्ता दुईभन्दा बढी फिल्मबीच भिडन्त हुने गरेको छ । सोलो रिलिजमा हल संख्या र दर्शक बाँडिँदैन, जसको प्रत्यक्ष प्रभाव फिल्मको व्यापारमा पर्छ ।

सोलो रिलिज पाउँदा फिल्म कमजोर नै भए पनि व्यापार केही हदसम्म राम्रो हुन्छ । त्यसैले त फिल्म मेकरबीच फिल्मको सोलो रिलिजका लागि ठूलो राजनीति हुने गरेको छ । अभिनेत्री नम्रता श्रेष्ठ स्टारर फिल्म ‘जाइरा’ ले भने नेपाली फिल्मले विरलै पाउने सोलो रिलिजको अवसर पाएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मसँग भिड्न हलमा अरु नेपाली फिल्म छैनन् । न त बलिउड नै छ ।

जेठपछि नेपाली फिल्मको बजार सुस्ताएको छ । आशा गरिएका फिल्मले समेत अपेक्षाकृत व्यापार गर्न सकेका छैनन् । एकपछि अर्को फिल्म बक्सअफिसमा पत्तासाफ भइरहेको अवस्थामा अब सबैको आशा र भरोसा ‘जाइरा’ माथि छ । यसले सुस्ताएको फिल्मको बजार उठाउने विश्वास गरिएको छ । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘प्रसाद’ पछि अभिनेत्री नम्रता यो फिल्ममार्फत् विग स्क्रिनमा देखिन लागेकी हुन् ।

बदलाको कथामा निर्माण भएको यस फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठ मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा छिन् । उक्त फिल्ममा उनी एक्सन अवतारमा प्रस्तुत छिन् । लभर गर्लको भूमिकामा निकै रुचाइएकी उनले यसअघि एक्सन फिल्म गरेकी थिइनन् । न त एक्सन भूमिका नै गरेकी थिइन् । यो उनको करिअरको सबैभन्दा चुनौतीपूर्ण भूमिका मानिएको छ । चरित्रमा डुब्न उनले ८ महिना तालिम लिइन् । कपाल समेत मुण्डन गरिन् ।

आशुतोष श्रेष्ठ निर्देशित फिल्म ‘जाइरा’ मा नम्रतासँगै प्रमोद अग्रहरी, अनुप बिक्रम शाही, रेमन दास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरले शिर्ष भूमिकामा अभिनय गरेका छन् । निर्देशक श्रेष्ठ र निरोज महर्जनले पटकथा तयार पारेका हुन् । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने लोकेश बज्रचार्यको सम्पादन छ । फिल्ममा सम्राट बस्नेको द्वन्द्व निर्देशन छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *