Sajhamanch Archive

चट्याङ नेपालका लागि ठूलो समस्याः ७ वर्षमा ८४१ मारिए

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, by .

झापा । नेपालमा वर्षेनी हुने प्राकृतिक एवम् दैवी विपत्तीहरुमध्ये सबैभन्दा धेरै मानिसको मृत्यु चट्याङबाट हुने गरेको एक अनुसन्धानकर्ताले औंल्याएका छन् । चट्याङ कसरी पर्छ र यसबाट कसरी जोगिन सकिन्छ भन्ने विषयमा विद्यावारिधि गरेका नेपालकै एकमात्र विज्ञ श्रीराम शर्माले यस्तो तथ्याङ्क बाहिर ल्याएका हुन् ।

स्याण्डविच कार्यक्रम अन्तर्गत श्रीलङ्का र स्विडेनबाट शर्माले चट्याङमा विद्यावारिधि गरेका छन् । अमृत साइन्स क्याम्पस काठमाडौंमा फिजिक्स विभागको प्राध्यापक रहेका शर्माले गरेको तथ्याङ्कीय विश्लेषण अनुसार वि. सं. २०६८ देखि २०७५ सम्म ८४१ जना मानिसले चट्याङबाट ज्यान गुमाएका छन् । सो अवधिमा २,०९५ जना घाइते भएका छन् । २०७५ मामात्रै ६८ जनाको मृत्यु भएको थियो भने ४०० जना मानिस घाइते भए । (हेर्नुस् सँगैको बारचार्ट)

 

गृह मन्त्रालय अन्तरगत राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले राखेको तथ्याङ्क अनुसार ७ वर्षको अवधिमा विपद्बाट भएको मानवीय क्षतिमा २०७२ सालमा गएको भुइँचालोमा सबैभन्दा धेरै ८ हजार ९७७ जना मरेका थिए । त्यसलाई छाडेर अन्य प्राकृतिक विपत्तीमा चट्याङबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै पाइएको हो ।

चट्याङ सचेतना गराउँदै र यसबाट जोगिन प्राविधिक ज्ञान बाँड्दै झापा आएकाबेला एनएमसीको बिर्तामोड कार्यालयमा संक्षिप्त कार्यक्रममार्फत् डा. शर्माले हाम्रो देशलाई भूकम्पसँगै चट्याङको उच्च जोखिममा रहेको अथ्र्याए । उनले स्ट्रोक डेन्सिटी म्याप देखाउँदै नेपालको सबैभन्दा धेरै चट्याङ पर्ने जिल्लाका रुपमा झापालाई चिनाएका छन् भने चट्याङबाट मकवानपुरमा सबैभन्दा धेरै मानिस मर्ने गरेको सुनाए ।

के हो चट्याङ :

डा. शर्माका अनुसार चट्याङ प्राकृतिक प्रक्रिया हो । एक प्रकारको ‘इलेक्ट्रिक चार्ज’का कारण बादलका विपरीत दिशा आपसमा जुधेपछि त्यहाँ करेन्ट उत्पन्न हुन्छ र त्यसबाट ठूलो आगोको मुस्लो निस्किन्छ । यसैलाई ‘बिजुली चम्केको’ भन्ने गरिन्छ । सर वेञ्जामिन फ्रेंकलिनले सन् १७५२ मा चट्याङलाई विद्युतीय करेन्ट हो भनेर पत्ता लगाएका हुन् ।

अहिले मात्र होइन, मानव जाति अथवा जीवजन्तुको पृथ्वीमा अस्तित्व हुनुभन्दा अगावै चट्याङ पर्ने गरेको चट्याङविज्ञ डा. शर्माको भनाई छ । मानिसको उत्पत्तीभन्दा पहिलेदेखि नै चट्याङ पथ्र्यो । चट्याङकै कारण जीवजन्तुको उत्पत्ती भएको वैज्ञानिक मान्यता रहेको पनि डा. शर्माले सुनाएका छन् ।

बच्ने उपायः

चट्याङबाट बच्ने मुख्य उपाय सावधानी हो । चट्याङबाट बच्न घरको बिजुली प्रवाह हुने ‘वायरिङ’मा विशेष ध्यान दिनुपर्छ । यसका लागि ‘अर्थिङ’ उपयुक्त माध्यम हो । जसले घरमा चुहावट भएको करेन्टलाई बाहिर जमिनसम्म पुग्न दिँदैन । अर्थिङमा एक प्रकारको ‘इलेक्ट्रिक यन्त्र’ जडान गरिएको हुन्छ । ‘अर्थिङ’ले बिजुली चम्किँदा निस्केको करेन्ट र घरको करेन्ट जोडिन दिँदैन । जसले घरलाई चट्याङबाट सुरक्षित राख्दछ ।

‘आजको दिनमा हरेक घरमा विद्युतीय सामानको प्रचुर उपयोग छ । ‘डिजिटल होम’मा हामी बसिरहेका छौं’ डा. शर्माले भनेका छन्, ‘स्मार्ट मोवाइल, स्मार्ट टिभी, आइप्याड, ल्यापटप, फ्रिज, वासिङ मेसिन, एसी, कुलर आदि विद्युतीय सामानका कारण हाम्रो घर चट्याङबाट धेरै असुरक्षित भएका छन् । यस्तो बेला सावधानी अपनाउनु नै मुख्य उपाय हो ।’

घर एवम् भवनमा विद्युतीय सुचालकको प्रयोग गरेर आकाशदेखि जमिनसम्म सजिलो बाटो उपलब्ध गराउन सकेमा चट्याङको जोखिमबाट घर बच्ने डा. शर्माको सुझाव छ । पछिल्लो समय नेपालमा निर्माण गरिएका भवनमा त्यहाँका विद्युतीय सामानका अर्थिङ गर्ने गरिए पनि भवनको अर्थिङसमेत जोड्ने क्रम अझै प्रभावकारी ढङ्गले नगरिएको उनको बुझाई छ ।

घरका विद्युतीय सामानको अर्थिङ गर्दा टाढाबाट विद्युतीय तार र टेलिफोनका तारमार्फत आउने करेन्टबाट बचाउन सकिने उनको सुझाव छ । डा. शर्माका अनुसार १० किलोमिटर पर परेको चट्याङलाई समेत विद्युतीय वा टेलिफोनका तारले भोल्टेजलाई एन्टेनाको रुपमा रिसिभ गरेर घरसम्म ल्याउने गर्दछ ।

यसको न्यूनीकरणका लागि घरमा विद्युतीय सामानसहित सम्पूर्ण भवनको चट्याङ प्रतिरक्षा सामग्री जोड्नुपर्ने हुन्छ । घरको माथि रड राखेर त्यसलाई तामा वा ग्याल्बोनाइज आल्मोनियमको पाता अथवा रडमार्फत जमिन मुनिसम्म पुर्र्याउन उनले सुझाव दिए ।

घर बाहिर हुँदा खुला ठाउँमा रहेमा टाउको र खुट्टा जोडेर गोलो परेर बस्नुपर्ने हुन्छ । रुखको नजिक नबस्न, बिजुली र फोनको पोल, अग्ला भवन नजिक बस्नु हुँदैन । विद्युतीय सामग्री प्लगमा जोड्न र ल्याण्डलाइन फोनमा कुरा गर्नु हुँदैन ।

गाडीमा रहेमा सिसा लगाएर बस्नु पर्छ । धातुका गाडी सुरक्षित हुने भए पनि प्लाष्टिकका गाडी असुरक्षित हुन्छन् । चट्याङ पर्ने समयमा खेतमा पानीमा काम गर्न र पौडी खेल्न पनि हुँदैन । घरभित्र बस्दा झ्याल र भित्ता नजिक बस्न हुँदैन । धाराका पानीमा करेन्ट आउनसक्ने भएकाले पानी नखेलाउँदा राम्रो हुनेछ ।

अग्ला टावरहरू चट्याङका सिकार हुन् । चट्याङबाट जोगाउन ती टावरमा विशेष किसिमले ‘अर्थिङ’ जोडिएको हुन्छ । तैपनि चट्याङले बेला–बेला टावरमा क्षति गरिरहेकै हुन्छ । यस्ता टावरको वरपर रहने घर तथा बस्ती बढी जोखिमपूर्ण हुन्छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *