बयान नसकिएपछि रवि लामिछानेलाई हिरासत फर्काइयो
Published: (Updated: )
by .भरतपुर । आत्महत्या दुरुत्साहन मुद्धामा बयानका लागि जिल्ला अदालत चितनव लगिएको टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई फेरि हिरासतमै फर्काइएको छ ।
आज अभियुक्तमध्ये रुकु भनिने नर्स अस्मिता कार्कीको मात्र बयान भएपछि लामिछाने, कार्की र युवराज कँडेललाई अदालतले हिरासतमै फर्काइदिएको हो ।
माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको भन्दै यी तीनै जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय चिवतनले ५ वर्ष कैद र ५० हजार जरिवाना (हैदसम्मको कारवाही) माग गर्दै अदालतमा मुद्धा दायर गरेको थियो ।
जिल्ला अदालत चितवनमा उनीहरुको मुद्दा दर्ता भएसँगै बयान शुरु भएको छ। न्यायाधीश हेमन्त रावलको इजलासमा उनीहरुको बयान आइतवारबाट शुरु भएको हो ।
आज कार्कीको बयान सकिएको र भोलि लामिछाने र कँडेलको बयान हुने चितवन जिल्ला अदालत स्रोतले जनाएको छ । स्रोतका अनुसार कार्कीले बयानमा लामिछानेसँग आफू साथीको रुपमा रहेपनि आत्महत्या गर्ने कार्यमा भने उक्साहट नगरेको दाबी गरेकी छन् । उनले यो अभियोगवाट आफूले सफाइ पाउनुपर्ने माग गरेकी छन् ।
बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि मात्र साधारण तारेखमा रिहा गर्ने, धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि जेल चलान गर्ने भन्ने अदालतले टुंगो लगाउनेछ ।
पत्रकार पुडासैनीले गएको साउन २० गते चितवन नारायणगढको एक होटलमा आत्महत्या गरेका थिए । उनको साथबाट रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफू मर्न बाध्य भएको भिडियो प्राप्त भएको थियो ।
त्यसपछि साउन ३० गते प्रहरीले यी तीनै जनालाई काठमाडौँबाट पक्राउ गरेको थियो भने १३ दिने काजकिरिया सकिएपछि पुडासैनी परिवारको तर्फबाट किटानी जाहेरी परेको थियो ।
Comments