‘प्रदेश १ को सहकारी ऐन अभियानमैत्री बनाउँछौं’ : कानून मन्त्री कार्की
Published: (Updated: )
by .दमक । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सहकारी ऐन अभियानमैत्री आउने विश्वास दिलाएका छन् ।
झापाको दमकस्थित मेची सहकारी संस्था लिमिटेडको २५औं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा प्रमुख अतिथि रहेका मन्त्री कार्कीले प्रदेश सहकारी ऐनको मस्यौदामाथि बहुपक्षीय छलफल भइरहेको जनाए ।
सदनमा ऐनको मस्यौदा पेश गर्ने जिम्मेवारी आफ्नै भएकाले सरोकारवाला पक्षसँगको छलफल र सहमतिमा विधेयक तयार गरेरमात्र प्रस्तुत गर्ने उनको भनाई छ ।
मन्त्री कार्कीले भने, ‘अहिले प्रस्तुत गरिएको सहकारी विधेयकको ड्राफ्ट कर्मचारी, राजनीतिक नेतृत्व र केही विज्ञले छलफल गरेर बनाइएको हो तर त्यसलाई नेपालको संविधानको भावना प्रतिविम्वत हुने गरी सहकारी अभियानमैत्री बनाएरमात्र पारित गराउने विश्वास दिलाउँछु ।’
साधारणसभा उद्घाटन समारोहका अर्का वक्ता राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा राष्ट्रिय सहकारी बैंकका निवर्तमान अध्यक्ष रमेशप्रसाद पोखरेलले नेपालका अधिकांश जनप्रतिनिधिले सहकारी अभियान बुझेकाले ऐन, नियमहरु समयसापेक्ष बनाउन तथा संशोधन गर्न सहज हुने बताए ।
मुलुकको सर्वाङ्गिण विकासमा सहकारीको ३३ प्रतिशत हिस्सा रहेकाले अभियानको काँधमा गुणात्मक काम गर्नुपर्ने दायित्व रहेको प्रष्ट पार्दै पोखरेलले सहकारीको व्यवसाय संकुचन नहुने गरी, सहकारी मूल्य र मान्यतामा आघात नपर्ने गरी ऐन नियमहरु बनेमामात्र दायित्व पूरा हुने इंगित गरे ।
कार्यक्रममा महासंघका अर्का सञ्चालक शिवकुमार डाँगीले प्रदेश १ सरकारले बनाउँदै गरेको सहकारी ऐन जस्ताको तस्तै पारित गरियो भने सहकारी संस्थाहरु जिवित रहने सम्भावना नरहेको अथ्र्याए । उनले संघीय सहकारी ऐन पनि ७० प्रतिशतमात्र सहकारीमैत्री रहेकाले महासंघले संशोधनका लागि लविङ गरिरहेको जानकारी दिए ।
सो अवसरमा झापा जिल्ला सहकारी संघका सहसचिव भवानीप्रसाद दंगालले प्रदेश सहकारी ऐनको मस्यौदा पढ्दा आफूहरु अलमल्ल परेको सुनाउँदै सहकारी अभियानको स्पिरिट नबुझ्ने मान्छेहरुले गरेको ड्राफ्ट भनी टिप्पणी गरे ।
दंगालले भने, ‘सहकारीलाई मुलुकी अर्थतन्त्रको एउटा दरिलो खम्बा बताइए पनि राज्यलाई तिर्नुपर्ने करमा विभेद गर्नु, शेयरको १५ गुणाभन्दा बढी निक्षेप राख्न नपाइने भन्नु, प्रदेशमा सहकारी मन्त्री नहुनु र कर्मचारीको पनि व्यवस्था नगरिनुले सहकारी अभियानप्रतिको दृष्टिकोण अझै सकारात्मक पाइन्न ।’
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख कर अधिकृत रामप्रसाद पाठकले गत वर्ष मेची सहकारीले सबैभन्दा बढी कर तिर्ने सहकारीको नाम बनाएकोमा यो वर्ष दोस्रोमात्र भएको जानकारी दिए ।
संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईको अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन समारोहमा जुरोपानी बहुउद्देश्यीय सहकारी संस्थाका अमरदास शिवाकोटी र फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक उर्लाबारी शाखा प्रमुख हिरामणि सिलवालले आ–आफ्ना धारणा राखेका थिए ।
संस्थाका उपाध्यक्ष गीता कुँवरले शब्दबाट स्वागत गरेको साधारणसभा उद्घाटन समारोहको सञ्चालन संस्थाका सचिव लक्ष्मीप्रसाद दाहालले गरेका थिए ।
सम्मान र पुरस्कार प्रदान
मेची सहकारीले यो वर्ष स्वर्गीय गणेशप्रसाद बस्नेत सहकारी अभियन्ता पुरस्कारबाट बिराटनगरका रमेशप्रसाद पोखरेललाई पुरस्कृत गरेको छ । राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा राष्ट्रिय सहकारी बैंकका निवर्तमान अध्यक्ष पोखरेलले सहकारी अभियानमा पुर्याएको योगदानको कदर गर्दै २३ हजार रुपैयाँसहित सम्मान गरिएको हो । अभियन्ता पोखरेललाई सो पुरस्कार मन्त्री कार्की र सहकारी संस्थाका अध्यक्षसहित पदाधिकारीहरुले संयुक्तरुपमा प्रदान गरेका हुन् ।
यसैगरी संस्थाले स्वर्गीय गणेशप्रसाद बस्नेत पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका दमक संवाददाता डिकेश लामालाई प्रदान गरेको छ । १० हजार रुपैयाँ राशिको सो पुरस्कार मन्त्री कार्की, सहकारी अभियन्ता पोखरेल र संस्थाका अध्यक्ष भट्टराईले संयुक्तरुपमा प्रदान गरे ।
यसैगरी मेची सहकारी पत्रकारिता पुरस्कारबाट निष्पक्ष साप्ताहिकका सम्पादक विष्णु पौडेल पुरस्कृत भएका छन् । यस्तै जिल्लाको उत्कृष्ट सञ्चार गृहको पुरस्कार रेडियो भिजन बिर्तामोडलाई दिइएको छ । उक्त दुवै पुरस्कारको राशि आठ हजार रुपैयाँ रहेको छ । उत्कृष्ट सञ्चार गृहको पुरस्कार रेडियो भिजनका प्रवन्ध निर्देशक गणेश पोखरेलले ग्रहण गरेका थिए ।
संस्थाले साधारणसभाको अवसर पारेर संस्थापक सदस्य डा. केपी सुवेदी र सञ्चालक समितिका पूर्वसदस्य धनपति बराललाई जनही पाँच हजार रुपैयाँसहित सम्मान गरेको छ । यसैगरी सामुदायिक र संस्थागत विद्यालयमा अध्ययन गरी २०७५ सालको एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने संस्थाका शेयर सदस्यका ४ जना छोराछोरीलाई मेची छात्रवृत्ति पुरस्कार स्वरुप जनही १० हजार रुपैयाँ प्रदान गरिएको छ ।
चालू आर्थिक वर्षको लागि पारित कार्यक्रम तथा बजेट
संस्थाको २५औं वार्षिक साधारणसभाले चालू आर्थिक वर्षमा १५ सय सदस्य थप गर्ने सञ्चालक समितिको प्रस्ताव अनुमोदन गरेको छ । संस्थाले निक्षेप संकलन गर्दा लामो अवधिलाई प्राथमिकता दिने तथा कर्जा लगानी गर्दा उत्पादनमुलक क्षेत्रमा जोड दिने नीति पारित पनि गरेको छ ।
संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले अघि सारेको घरबार विहीन शेयर सदस्यलाई किस्तामा बिक्री वितरण गर्ने लक्षसहित सहकारी आवास निर्माण गर्ने महत्वाकांक्षी कार्यक्रमलाई साधारणसभाले पारित गरेको छ । जसअनुसार दमक नगरपालिका वडा नं. ४ मा संस्थाले खरिद गरेको १ विघा १६ कठ्ठा जमिनमा ४८ वटा घर निर्माण गरिने छ । चालू आवमा नै २० वटा घर बनाई हस्तान्तरण गर्ने गरी आजैबाट बुकिङ पनि खुल्ला गरियो ।
मेची सहकारीले अन्य सहकारी संस्थाहरुसँग एकीकरणका लागि सदैव खुल्ला रहेको जनाएको छ भने साझा व्यवसायको सम्भाव्यताका लागि विशिष्टिकृत संघ निर्माण गर्न अग्रसर रहने निर्णय भएको छ ।
संस्थाका व्यवस्थापक खोमप्रसाद बगालेले साधारणसभामा प्रस्तुत गरेको गत आर्थिक वर्षको यथार्थ र चालू आर्थिक वर्षको प्रस्तावित आर्थिक प्रतिवेदनलाई पनि बैठकले अनुमोदन गरेको छ । व्यवस्थापक बगालेले आर्थिक वर्ष २०७५/०७६ मा एक अर्ब ४५ करोड १७ लाख ४२ हजार रुपैयाँको यथार्थ वासलात पुर्याई तीन करोड ५७ लाख ४९ हजार मुनाफा गरेको अवगत गराए ।
उनले चालू वर्ष नाफामा दोब्बर वृद्धि गरी छ करोड ५९ लाख ६० हजार बनाउने महत्वाकांक्षी प्रस्ताव गर्दै सोका लागि दुई अर्ब एक करोड ६१ लाख १६ हजार रुपैयाँको वासलात बनाउनुपर्ने बताए । वित्तीय कारोबार वृद्धि गर्न निक्षेप तथा कर्जाका विभिन्न अभियानहरु सञ्चालन गरिने पनि व्यवस्थापक बगालेले बताए ।
समीक्षा वर्षको लागि सदस्यहरुलाई १० दशमलव ५५ प्रतिशत शेयर बोनस र कारोबारी सदस्यलाई ३ प्रतिशत संरक्षित पूँजीकोष फिर्ता दिने बताउँदै व्यवस्थापक बगालेले चालू आर्थिक वर्षमा १५ प्रतिशत शेयर बोनस र कारोबारी सदस्यलाई ५ प्रतिशत संरक्षित पूँजीकोष फिर्ता दिनेगरी काम गर्ने प्रतिवद्धता सुनाए ।
चालू वर्षका लागि संस्थाका कर्मचारीको तलवमा २० प्रतिशत गरिएको वृद्धिलाई हलले समर्थन जनाएको छ । साधारणसभाको बन्दसत्रमा १३१ जना सदस्यहरुले आफ्ना लिखित सुझाव एवम् जिज्ञासाहरु प्रस्तुत गरेका थिए । उक्त जिज्ञासाहरुलाई प्रतिवेदनका प्रस्तोताहरुले उत्तर दिएपछि साधारणसभा सम्पन्न गरिएको थियो ।
Comments