Sajhamanch Archive

राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको झापामा एकीकरण

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

धुलावारी । डाक्टर प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको राप्रपा राष्ट्रवादी र पशुपति शमशेर जवराले नेतृत्वको राप्रपा प्रजातान्त्रिक एकीकरणपछि बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले झापामा समायोजन शुरु गरेको छ ।

दुवै पार्टी एकीकरणपछि शनिबार झापाको मेचीनगरमा सम्पन्न भेलाले १ नम्बर क्षेत्रीय समिति तथा मेचीनगर समिति गठन गरेको छ । पार्टीको केन्द्रीय सदस्य विश्वनाथ श्रेष्ठ, देवीरमण भट्टराईको उपस्थितीमा भएको भेलाले प्रदिप राजवंशीको अध्यक्षतामा नौ सदस्यीय क्षेत्रीय समिति तथा नरेश महराको अध्यक्षतामा नौ सदस्यीय मेचीनगर समिति गठन गरेको हो । दुवै समितिले आफ्नो पहिलो बैठकबाट समितिका सदस्यहरु थप गर्ने छ ।

क्षेत्रीय अध्यक्ष राजवंशी मेचीनगरका राजवंशी समाजका अध्यक्ष समेत हुन भने महरा तात्कालिन नेकपा माओवादी केन्द्रका ११ नम्बर वडाध्यक्ष हुन् । महिला नेतृ माया गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दैं केन्द्रीय सदस्यद्वय श्रेष्ठ, र भट्टराईले यो पार्टी वैकल्पिक र नयाँ शक्तिको रुपमा स्थापना भएको दावी गरेका थिए । केन्द्रमा दुवै पार्टी एकीकरण भए पश्चात देशभर एकीकरण अभियान शुरु भएको केन्द्रीय नेताहरुको भनाई थियो ।

झापामा झण्डै एकमहिनाअघि राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको झापा जिल्ला कार्य समिति गठन भएको थियो । केन्द्रीय नेताहरुले वर्तमान संविधानसँग सहकार्य गर्ने, नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रतासहितको सर्वधर्म सापेक्ष हिन्दु राष्ट्र बनाउने, सहमती र साझा संस्थाको रुपमा राजसंस्थासहितको प्रजातन्त्र पूर्णवहाली गर्ने, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने, संविधानसम्मत गठित सवै इकाइहरुमा शक्तिको हस्तान्तरण गर्ने र एकीकृत पार्टीको महधिवेशनसम्म पार्टीमा दुईजना अध्यक्ष रहने पार्टीको मुल सिद्घान्त रहेको जानकारी गराए ।

केन्द्रीय नेताहरुले अहिले नेपालका अन्य राजनीतिक दलले जतिसुकै गणतन्त्र र लोकतन्त्र अनि प्रजातन्त्रको कुरा गरेपनि केवल दलतन्त्र बाहेक केही नभएको र राजनीतिक विकृति , भ्रष्टचार मौलाएको टिप्पणी गरे । वर्तमान ओली नेतृत्वको सरकारले नेपाली जनताको आवजलाई सम्बोधन गर्न नसकेको भन्दैं नेपाली जनता ओली सरकारको विकल्प खोजी रहेको दावी गरे । केन्द्रीय नेताहरुले राष्ट्रिय, प्रजातन्त्र र उदारवादको नीतिलाई लिएर पार्टी अघि बढेको हुँदा अब यो पार्टी वैकल्पिक र नयाँ शक्तिको रुपमा स्थापना भएको दावी थियो ।

कार्यक्रमलाई पार्टीका १ नम्बर प्रदेश निर्देशन समिति सदस्य ज्ञानबहादुर मगर, पार्टीका झापा जिल्ला अध्यक्ष ओमप्रकाश मिश्रलगायतले बालेका थिए । निवर्तमान मेचीनगर अध्यक्ष दिपेश राई गोरे भाईको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन झापा जिल्ला सचिव निरबहादुर कार्की नेत्रले तथा स्वागत निवर्तमान नगर सचिव खगेन्द्र लामिछानेले गरेका थिए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष महराले आफ्नो भावी योजनाहरुका बारेमा बोलेका थिए । उनले अब राष्ट्रवादी शक्ति वाहेक अरु दलले देश हाँक्न नसक्ने दावी गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *