Sajhamanch Archive

कस्तो छ मारुनी’ ?

Published: in टिप्स/जानकारी by .

यस वर्षको बैशाख र जेठमा दुई फिल्म ‘दाल भात तरकारी’ र ‘जात्रै जात्रा’ ले लोभलाग्दो व्यापार गरे । त्यसपछि नेपाली फिल्मको बजार पूरै सुस्ताएको छ ।

हरेक हप्ताको शुक्रबार नयाँ फिल्म हलमा टुटेका छैनन् । तर, कुनैले नाफाको व्यापार गर्न सकेका छैनन् । निर्माताको करोडौंको लगानी डुबेको डुब्यै छ । आशा गरिएका फिल्मले समेत निराशाजनक नतिजा हात पार्दा फिल्मकर्मी चिन्तित देखिन थालेका छन् ।

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मारुनी’ माथि सिंगो फिल्म क्षेत्रको एउटा आशाको त्यान्द्रो झुण्डिएको थियो । खडेरी लागेको नेपाली फिल्मको व्यापार चलायमान बनाउने ठूलो अपेक्षा गरिएको थियो । तर, त्यो अपेक्षामा तुसारापात लाग्ने देखिएको छ । फिल्मले बक्सअफिसमा अपेक्षाकृत व्यापार गर्न सकेको छैन । साउथ सुपरस्टार प्रभास अभिनीत फिल्म ‘साहो’ ले फिल्मको व्यापारमा ठूलो असर गरेको छ ।

फिल्मलाई दर्शकको खडेरी लागेको भएता पनि ‘वर्ड अफ माउथ’ बलियो छ । फिल्म हेर्ने कसैले नराम्रो बोलेका छैनन् । फिल्मको कथावस्तु, गीतसंगीत, निर्देशकिय क्षमता, कलाकारहरुको अभिनय, मेकिङ र क्लाइमेक्सको निकै प्रशंसा भइरहेको छ । यो फिल्मले उठान गरेको विषयवस्तु सम्भवतः नेपाली फिल्ममा पहिलो पटक हो । नारी संवेदनामाथि फिल्म बनाउन कहलिएका नवल नेपाल यस फिल्मका निर्देशक हुन् ।

यश (पुष्प खड्का), राज (आयुश प्रधान), सुमन (साम्राज्ञीराज्यलक्ष्मी शाह) र मधु (रेविका गुरुङ) को वरिपरि फिल्मको मुल कथा घुमेको छ । फिल्मकी मेरुदण्ड साम्राज्ञी हुन् । उनले निभाएको चरित्र शक्तिशाली छ । यसअघि अभिनयमा खासै जोड नदिएकी उनले ‘मारुनी’ मा मनछुने अभिनय पस्किएकी छन् । उनले फिल्म पूरै आफ्नो काँधमा लिएकी छन् । यो उनको करिअरको सम्झनलायक फिल्मको रुपमा गनिने पक्का छ ।

निर्देशकका कारण कलाकारको अभिनयमा कति अन्तर हुन्छ भन्ने थाहा पाउन साम्राज्ञी अभिनीत अघिल्ला फिल्म र प्रदर्शनरत फिल्म ‘मारुनी’ हेर्दा नै छर्लङ्ग हुन्छ । फिल्ममा सहायक भूमिकामा रहेकी डेब्यू गर्ल रेविका गुरुङले पनि उम्दा अभिनय गरेकी छन् । उनले यो फिल्मबाट राम्रो सम्भावना देखिएकी छन् । राजको भूमिकामा रहेका आयुश प्रधानको अभिनय पनि प्रशंसनिय छ । तर, पुष्पको अभिनयले निराश बनाउँछ ।

फिल्म ‘मंगलम’ मा उनले मनछुने अभिनय गरेका थिए । यो फिल्मबाट उनले उत्कृष्ट अभिनेताको राष्ट्रिय अवार्ड समेत पाएका थिए । तर, ‘मारुनी’ मा उनको अभिनय निकै खस्किएको आभास हुन्छ । यद्यपि, उनलाई सुम्पिएको भूमिका भने सशक्त छ । तर, त्यसमा उनी जम्न सकेका छैनन् । उनले बुझ्न के आवश्यक छ भने यही स्तरको अभिनयले राष्ट्रिय अवार्ड विजेता अभिनेताको साख जोगिन्न । आत्मरतीमा रमाउने भए फरक कुरा ।

यो फिल्मले पुरूष भएर जन्मिएकी तर लिङ्ग परिवर्तन गरेर युवती बनेकी एक ‘ट्रान्सजेन्डर’ पात्रको प्रेमकथा भन्छ । निर्देशक नेपालले कथा भन्नलाई फिल्मको कुनै परम्परागत सूत्र र संरचना पछ्याउन आवश्यक ठानेका छैनन् । आफूलाई दृश्यभाषामार्फत् भन्न मन लागेको कुरा इमान्दारपूर्वक देखाएका छन् । यद्यपि, उनी पहिलो पार्टमा केही अलमलिएका छन् । दोस्रो पार्टमा भने चुकेका छैनन् ।

‘मारुनी’ हेरेर निस्कँदा पनि दिमागबाट हट्न नसक्ने भनेको क्लाइमेक्स हो । फिल्मको क्लाइमेक्स परम्परागतभन्दा विल्कुलै अलग छ । जब फिल्म क्लाइमेक्सतर्फ बढ्दै जान्छ तब दर्शकको आँखा पर्दाबाट हट्दैन । यसका लागि निर्देशक नेपाल प्रशंसाका हकदार छन् । साथै, मधुको भूमिकामा रहेकी रेविका पनि । फिल्मको आवरण भव्य बनाउन निर्माण पक्षबाट कन्जुस्याइँ देखिन्न । दिल खोलेर खर्च गरिएको छ ।

बाल्यकालदेखि नै मिल्ने साथी रहेका यश र राजको मित्रता र विछोडले दर्शकलाई रत्ति छुँदैन । न त मधुले यशलाई गर्ने एकोहोरो प्रेमले नै दर्शकलाई बेचैनी बनाउँछ । बरु, यशलाई सुमनले गर्ने एकोहोरो पागलप्रेम भने दर्शकका लागि चाखपूर्ण हुनसक्छ । ‘सक्दिनँ म बाँच्न तिमीबिना।।’ गीत फिल्ममा कथावाचनको रुपमा प्रयोग गरिएको छ । दृश्यको भावअनुकूल क्यामरा चलाएर सञ्जय लामा तारिफको हकदार बनेका छन् ।

केही कमजोरीलाई नजरअन्दाज गर्ने हो भने ‘मारुनी’ हेर्न लायकको फिल्म बनेको छ । नेपाली फिल्ममा फरक कथाको भोकमरी रहेको अवस्थामा यो फिल्मले वाचन गरेको कथावस्तु विल्कुलै नयाँ र अलग छ । फिल्मले उठाएको संवेदनशिल विषयलाई निर्देशक नेपालले गम्भीर रुपमै प्रस्तुत गरेका छन् । नेपाली फिल्म मनै नपराउनेलाई पनि यो फिल्मले निराशै भने बनाउँदैन । क्लाइमेक्स मात्रैले पनि पैसा असुल गर्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *