Sajhamanch Archive

पार्किङ अभावले यसरी ठगिन्छन् सेवाग्राही

Published: (Updated: ) in मुख्य समाचार, समाज, by .

भद्रपुर । अव्यवस्थित पार्किङका कारण झापाका सरकारी कार्यालयमा पुग्ने सेवाग्राही ठगिनेक्रम बढेको छ । जिल्लाको सदरमुकाम समेत रहेको भद्रपुरमा सवारी साधन पार्किङ्को उचित व्यवस्थापन नहुँदा आवतजावतमा समस्या खेप्नु पर्ने सेवाग्राही दलालबाट ठगिने क्रम पनि बढेको हो ।

सो क्षेत्रमा भद्रपुर नगरपालिकाले पार्किङ् स्थलको व्यवस्थापन नै नगरी वार्षिक ठेक्का लगाएर राजस्व मात्र उठाउने गरेकोले सदरमुकाममा सवारी साधन अस्तव्यस्त बन्ने गरेको छ ।

जिल्ला स्तरीय सेवा लिन आउने सरकारी कार्यालय क्षेत्रभित्र सेवाग्राहीले सवारी पार्किङ् गर्ने स्थान अभावले गर्दा जथाभावी सवारी साधन राखेपछि आसपासका सडकमा ओहोर दोहोर गर्न समस्या हुने गरेको छ भने सडकमा पार्किङ गरिएका सवारी साधनबाट शुल्क असुल्ने परम्परा पनि देखिने गरेको छ । कार्यालय परिसर तथा सडक अस्तव्यस्त बने पनि सरोकारवाला निकाय बेखबर बस्ने गरेको छ ।

कार्यालयमा आउने सेवाग्राही लगायत अन्यलाई जिल्ला समन्वय समिति, शिक्षा समन्वय, सिञ्ंचाइ डिभिजनको गेट खुल्ला भएकोले प्राय कार्यालय परिसर भित्र सवारी राख्ने गरेका छन् । मालपोत, वन, प्रशासन,आन्तरिक राजस्व, अदालत, भुमि सुधार, निर्वाचन लगायतका कार्यालयले गेट बन्द गरेका कारण सो कार्यालयमा आउने सेवाग्राहीले कार्यालय अगाडी सडकको दुवै किनारामा पार्किङ् गरेपछि सडक समेत अस्तब्यस्त भएको पाइएको छ ।

सानो सडक त्यसमा पनि दुवै किनारामा गरिने पार्किङ्ले झनै समस्या आएको पाइएको छ । मालपोत र राजस्वमा आउने ठुला व्यवसायी र गेटमा बसेका सुरक्षाकर्मीसँग चिनजान भएका सेवाग्राहीलाई मात्र सवारी साधन प्रवेश दिइने गरेको छ । साना सेवाग्राहीलाई रोक लगाउने ठुलालाइ गेट खोल्ने जस्ता गुनासाहरु कार्यालयमा आएका सेवाग्राहीले गरेका छन् ।

सवारी साधन व्यवस्थित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय भद्रपुरले सरकारी कार्यालय क्षेत्रमा रहेर व्यवस्थापन गर्दै आइरहेता पनि पछिल्लो समय उपस्थिती नभएपछि झन समस्या बढेर आएको छ । पार्किङ् व्यवस्थापनलाई सहज वनाउन कार्यालय जाने सडकमा ठाउँ–ठाउँमा पार्किङ् निषेधको प्लेट, भित्ते लेखन गरेको थियो । आएका सवारी साधनलाई जिल्ला हुलाक कार्यालय तथा अतिथि गृह जाने सडकको दुवै किनारा र जिल्ला प्रशासन कार्यालय भन्दा उत्तर पार्किङ्को व्यवस्थापन गरेको थियो ।

निषेधित क्षेत्रमा सवारी राखेमा प्रहरीले हेलमेट लैजाने र जरिवाना लिने गर्दै आएको थियो । यस्तो कढाई केही महिना लागु पनि भयो । जव सो क्षेत्रमा ट्राफिक प्रहरी बस्न छाडेपछि अहिले कार्यालय क्षेत्र अस्तब्यस्त बनेको छ । मनलागी रुपमा जस्ले जहाँ पार्किङ् गरेपनि हुने भएको छ । स्थान अभावले गर्दा सेवाग्राहीले जताततै सवारी राख्ने गरेको उनिहरु बताउँछन् । नगरपालिकाले हुलाक तथा अतिथि गृह जाने सडकको दायाँ वायाँको भागलाई पार्किङ्को ठेक्का लगाउदै आएको छ । तर, ठेकदारलाई पत्र काटेर नगरपालिकाले उल्टै कार्यालय क्षेत्र सवैतिरबाट रकम लिनु भनि आदेश दिएकोले राजस्व उठाउने बहानामा सदरमुकाम अस्तव्यस्त बनाउने प्रमुख नगरपालिकानै रहेको पुष्टि हुन्छ ।

ठेकदारका कर्मचारीले पत्रको आधारमा जताततै राखिएका सवारीवाट रकम असुल्दै आइरहेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय देखि उत्तर हुदै अदालत,राजस्व, सिंचाइ ,शिक्षा, भूमी सुधार, निर्वाचन र सहकारी डिभिजन कार्यालयसम्म पार्किङ् गरेका सवारी साधनबाट रकम लिने गरेका छन् । जिल्ला प्रशासनको वरिपरी भने तैनाथ रहेका शसस्त्र प्रहरीले पार्किङ् गर्न दिदैनन । त्यसैगरि पश्चिमतर्फ शहरी विकास तथा भवन डिभिजनको कार्यालय देखी, जिल्ला वन, कर्मचारी मिलन केन्द्र जाने सडकको दुवै तर्फ राखिएका ठुला तथा साना सवारीबाट पार्किङ् शुल्क लिने गरेका छन् ।

तत्कालिन नगरपालिका कार्यकारी अधिकृत काजीमान राइले ०७४ साउन ५ गते आर्थिक वर्ष ०७४।७५ का लागि वडा नम्बर ८ को अतिथि गृह जाने बाटो र सरकारी कार्यालय परिसरमा पार्किङ् शुल्क असुल उपर गर्नु भनि ठेकदार अम्विका कार्कीलाई लिखित पत्र दिएका छन् । चालु आर्थिक वर्षमा कार्की सप्लायर्सले ३ लाख ५ हजारमा ठेक्का लिएको छ । आगामी वर्ष ०७५।७६ को लागि ठेक्का खुलिसकेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले ठाउँ चै नदेखाउने ठेक्कामात्र लगाउने गरेकोले पार्किङ् शुल्क उठाउन समस्या भएको कर्मचारी सपना श्रेष्ठले बताइन् । ‘हामी तीनजना छौं, दिनको एक हजार देखि १४ सयसम्म रकम उठेपनि धेरै वादविवाद गर्नु पर्ने उनले बताइन् ।’

‘लेखापढिका कर्मचारी कसैले दिनुहुन्न, यहाँ धेरै उहाँहरुकै सवारी साधन हुन्छ ।’ अन्यले पनि तर्क गरेर हैरानी खेप्नु परेको उनले सुनाइन् । पार्किङ्को अभावले गर्दा जताततै सवारी राखेपनि हामीले धेरै व्यवस्थापन गर्दै आइरहेको उनले बताइन् । कर्मचारीले व्यवस्थापन गर्दै आइरहेको बताएपनि सडकमा त्यो अवस्था भने देखिदैन । पार्किङ्को समस्या त छदैछ त्यस्मा पनि सडक किनारमा दर्जन भन्दा बढी फुटपाते व्यापार चलाउनेको उत्तिकै भीडभाँड रहेको छ । सुर्तीजन्य पदार्थ,कागज, फायल, चटपटे, मकै पोल्ने आदि व्यापारले कार्यालय क्षेत्र झनै अस्तव्यस्त बनाएको छ । पार्किङ्को समस्यालाई लिएर प्रहरी प्रशासनको पटक पटक छलफल भएपनि समस्याको समाधान हुनसकेको छैन् ।

कार्यालय क्षेत्रमा पहिले दिनभर ट्राफिकसगै प्रहरी टोली परिचालित भएर तोकिएको क्षेत्रमा मात्र पार्किङ् गराउने व्यवस्था मिलाएकोले धेरै सहज भइरहेको अवस्थामा जनशक्ती कम भएकोले एक वर्षयता निरन्तर बस्न नसकेको ट्राफिक प्रहरी कार्यालय भद्रपुरका असई जनक तिम्सिनाले बताए । तोकिएको क्षेत्रभन्दा अन्यत्रबाट रकम लिन नपाइने भएकोले रकम लिएको पाइएमा कानूनी कार्वाही गरिने उनले आश्वासन दिए ।

पार्किङको विषय नगरपालिकाको व्यवस्थापनमा पर्ने भएकोले नगरपालिका सँग जानकारी लिने झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले बताए । पार्किङको व्यवस्थापनको विषयमा म निर्वाचित भएर आएदेखी यता छलफल नभएको भद्रपुरका मेयर जीवन कुमार श्रेष्ठले बताए । स्थान कम भएकोले त्यसैमा ब्यवस्थापन गर्नु पर्ने हुँदा ठेकदारलाई बोलाएर जानकारी लिइने मेयर श्रेष्ठको भनाइ छ । ठेक्का नगरले लगाउँ्दै आएपनि सवारी पार्किङ् स्थान अभावका कारण सरकारी कार्यालय क्षेत्र अस्तब्यस्त भएको उनले स्वीकारे ।

कार्यालय क्षेत्रमात्र नभई चन्द्रगढी र भद्रपुर वजारमा आउने सेवाग्राहीले पनि सवारी पार्किङ् अभावका कारण वजार अस्तव्यस्त भएको छ । उनिहरुले मन लागी सवारी पार्किङ् गरेका कारण दुर्घटनाको सम्भावना बढेर गएको स्थानीयको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *