Sajhamanch Archive

शिक्षकले नपढाएको भन्दै विद्यार्थीले लगाए ताला

Published: in समाज by .

ओखलढुंगा ।  ओखलढुंगा लिखु गाउँपलिका १ को च्युरीडाँडा माविमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन्।

शिक्षकहरु समयमा विद्यालय आउनुपर्ने , नियमित पठनपाठन हुनुपर्ने, विद्यालयको शैक्षिक गुणस्तर बढाउनुपर्ने र विद्यालय समयमा फेसबुक चलाउन बन्द गर्नु पर्ने लगायत माग राखी विद्यार्थीहरूले तालाबन्दी गरेका हुन्।

विद्यालयमा जनशक्ति कम भएपछि तल्लो तहका शिक्षकहरूले माथिल्लो तहमा पढाउनुपर्ने पारिश्रमिक थप गर्नुपर्ने माग राख्दै कक्षामा जान अटेर गर्दै अाएका थिए।

व्यवस्थापन समितिले नियमित पढाउन निर्देशन दिए पनि शिक्षकहरू कक्षाकोठामा नआएपछि अाइतबार १ बजे विद्यालयमा ताला लगाएको कक्षा १० का विद्यार्थी मीनप्रसाद सुवेदीले बताए।

दुई दिनअघि मात्र अाफूले शिक्षकहरूको समस्या समाधान गरेको व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर खड्काले दाबी गरे। प्राविको शिक्षकले निमावि र निमाविको शिक्षकले माविमा पढाउनु पर्ने बाध्यता भएका कारण पारिश्रमिक हेरफेर नगरी माथिल्लो कक्षामा पढाउन नसक्ने एक शिक्षकले बताए।

विद्यार्थीका माग जायज भए पनि शिक्षकहरुको पनि नाजायज भन्न नमिल्ने विद्यालयका प्रधानाध्यापक बलसुन्दर बोगटीले बताए।

शिक्षक अभिभावक, विद्यालय व्यवस्थापन समिति सबैको प्रतिनिधित्व गराउँदै वार्ताद्वारा सहमति गर्ने प्रयास भइरहेको उनले बताए।  थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *