छन्दसाधना पुरस्कार कवि रमेश खकुरेललाई
Published:
by .छन्द–तरङ्गको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री योगेश भट्टराईले छन्दकविताका दीर्घसाधक कवि रमेश खकुरेललाई रु. पच्चीस हजार नगदसहितको ‘छन्दसाधना पुरस्कार–२०७६’ प्रदान गरे ।
कविद्वय डा. रामप्रसाद ज्ञवाली र डा. देवी नेपालको काव्यजागरण सहयात्राले दुईदशक पूरा गरेको उपलक्ष्यमा एक वर्षअगाडिबाट सुरु भएको छन्द–तरङ्गको मासिक शृङ्खलामा हालसम्ममा ३६ जना कविहरू सहभागी भइसकेका छन् ।
उक्त समारोहमा मन्त्री भट्टराईले ३६ जना कविका १८० वटा कविताहरू समावेश भएको ‘छन्द–तरङ्ग भाग–१’ कृतिको लोकार्पण गर्नुका साथै सबै कविहरूलाई सम्मान पनि गरे ।
प्रस्तुत कृतिमा पुराना पुस्ताका वैरागी काइँलादेखि नयाँ पुस्ताका सुदेश सत्यालसम्मका छन्दोबद्ध कविताहरू समेटिएको र छन्दकवितालाई स्तुति, प्रशस्ति र भजनबाट मुक्त गर्न अनि भाषिक तोडफोडरहित स्तरीय र मानक कविता सिर्जना गर्न अभिप्रेरित गर्ने उद्देश्यले यो अभियान सुरु भएको जानकारी प्राज्ञ डा. देवी नेपालले दिए ।
प्रमुख अतिथि भट्टराईले आफू संस्कृति मन्त्री बनेर आएपछि सांस्कृतिक क्षेत्रमा केही नयाँ कामको थालनी गरिएको, नेपाली भूगोलको बनोटलाई ध्यानमा राखेर सांस्कृतिक समावेशीकरणको चेतनालाई अगाडि सारिएको र मैथिली भाषाका महाकवि विद्यापतिको सालिक पहाडी र हिमाली क्षेत्रमा पनि स्थापना गर्ने अठोट लिएको बताए ।उनले भने, सांस्कृतिक जग बलियो भयो भने मात्र देश समृद्ध बन्छ । संस्कृतिकर्मीहरूले राजनीतिकर्मीहरूलाई सकारात्मक मार्गनिर्देश गरिरहनुपर्छ ।
लेखन कुञ्जको आयोजना र डा. रामप्रसाद ज्ञवालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अक्षयकोषको स्थापनाका लागि सहयोग गर्नुहुने कृष्ण सुवेदी ‘भारद्वाज मित्र’ र सीता भट्टराईलाई सम्मान गरिएको थियो भने मा. नारायण मरासिनी, मा. मिना ज्ञवाली, प्रा. राजेन्द्र सुवेदी, प्रा.डा. हेमचन्द्र नेपाल, प्रभा भट्टराई, कमल ढकाल र ज्ञानु विद्रोहीले मन्तव्य राखेका थिए।
Comments